सूचनाको शक्ति - The Power Of Information

        

भारतीय कब्जामा रहेको सरकारी भवन बाँके प्रशासनले गरायो खाली

सरकारी भवनमा सरकारी ताल्चा लगाउँदै पशु क्वारेन्टाइन कार्यालयका कर्मचारी ।

बाँकेमा बर्षौंदेखि एक भारतीय नागरिकले कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको एक सरकारी कार्यालयको एउटा भवन बाँके प्रशासनले खाली गराएको छ ।

पशु क्वारेन्टाइन कार्यालय बाँकेको स्वामित्वमा रहेको नेपालगन्ज उपमहानगरपालिका –१५ पिप्रहवास्थित होल्डिङ् यार्डभित्र रहेको एकतले पक्की भवन वर्षौंदेखि एक भारतीय नागरिकले कब्जामा लिई अनाधिकृत रुपमा उपयोग गरिरहेको भवन शुक्रबार खाली गराइएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भारतीय नागरिकले २५ बर्ष अघिदेखि अबैधरुपमा कब्जा गरेको सो सरकारी भवन खाली गराउन बाँके प्रशासनले गत आइतबार सात दिने सूचना टाँस गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

परिवारसहित बसोबास गर्दैआएको भारतीय नागरिकलाई सो सरकारी भवन खाली गराइदिनका लागि जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि लागू हुनेगरी सात दिने सूचना टाँस गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रजिअ पोखरेलले जानकारी दिए ।

‘भारतीय नागरिकलाई कब्जा गरेको सो भवन खाली गराइदिन भनेर सात दिने सूचना टाँस गरेका थियौं,’ उनले भने, ‘कारबाही प्रक्रिया अघि बढाइएपछि भारतीय नागरिकले कब्जामा लिएको सो भवन सौहार्दपूर्ण वातावरणमै आज छैंटौं दिनमा खाली गराएका छौं ।’

भारतीय नागरिकको कब्जाबाट मुक्त गराइएको सो सरकारी भवनमा पशु क्वारेन्टाइन कार्यालयले सरकारी ताल्चा लगाएको छ । २५ वर्षदेखि भारतीय नागरिकको कब्जामा रहेको सो भवन खाली गराइदिन सहयोग माग्दै तत्कालीन प्रशासकलाई पशु क्वारेन्टाइन कार्यालयले जिल्ला प्रशासन कार्यालयमा लिखित अनुरोध समेत गरेको थियो ।

तत्कालीन प्रशासकले यो बिषयमा ध्यान नदिँदा हालसम्म सो भवनमा भारतीय नागरिकको परिवारले हालीमुहाली गर्दै आएका थिए । ‘२०७८ फागुन २६ गते पशु क्वारेन्ट कार्यालयले कार्यालयको भवनमा अवैधरुपमा बस्दै आएको भारतीय परिवारलाई हटाउने कार्यमा सहयोग गरिदिन भनेर बाँके प्रशासनमा लिखित अनुरोध गरेको पाइयो,’ प्रजिअ पोखरेलले भने ।

प्रकाशित मिति : १४ पुष २०८०, शनिबार १९:३५

लोकप्रिय