२०८३ असोज ४ , आइतबार 21, September 2026, Monday

सेनाका उपरथी निर्मलकुमार थापालाई रथीमा बढुवा गर्न सिफारिस

नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन्।

रथीमा रिक्त रहेको पदपूर्तिका लागि उनलाई बढुवा सिफारिस गर्न बुधबार सार्वजनिक सूचना जारी गरिएको सेनाका सूचना अधिकारी एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार सात दिनभित्र उपरथीविरूद्ध कुनै उजुरी भएमा सात दिनभित्र पेस गर्नसक्ने गरी सूचना जारी गरिएको हो।

‘हरेक दर्जाको पदोन्नतिको लागि बढुवा बोर्डले सूचना प्रकाशित गर्छ। त्यही बमोजिम हिजो सूचना प्रकाशन भएको हो,’ सूचना अधिकारी भण्डारीले भने।

सात दिनपछि उनीविरूद्ध कुनै उजुरी नपरेमा बढुवा प्रक्रिया अघि बढ्नेछ। यद्यपि छानबिन गर्नुपर्ने आवश्यक भएमा सेनाले छानबिन गर्ने सूचना अधिकारी भण्डारीले बताए।

नेपाली सेनामा रथी दर्जाको दुईवटा दरबन्दी छ। रथी सरोजप्रताप राणाको अवकाशपछि रिक्त रहेको पदमा अशोकराज सिग्देललाई पदोन्नति गरिएको थियो।

त्यसपछि रथी सीताराम खड्काको अवकासपछि पदोन्नतिका लागि उपरथी थापालाई सिफारिस गर्न सूचना प्रकाशन गरेको हो। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल २०८१ भदौमा सकिँदैछ।

उनीपछि सिग्देल वरीयताका आधारमा  प्रधान सेनापति हुने सम्भावना छ। सिग्देल बढुवा हुनुअघि रिक्त पदका लागि ताराध्वज पाण्डेलाई पनि सिफारिस गर्न सूचना प्रकाशन गरेको थियो।

जन्ममिति विवादमा परेपछि पाण्डेले राजीनामा दिएका थिए। उनको राजीनामापछि सिग्देलको पनि जन्ममिति विवाद आएको थियो। रक्षा मन्त्रालयले उनको जन्ममिति सही भएको भन्दै बढुवा अघि बढाएको थियो।

प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार