सूचनाको शक्ति - The Power Of Information

        

नेपालकै एकमात्र जुङ्गे महादेव

बागेश्वरी परिसरभित्र रहेको जुङ्गे महादेवको मन्दिर पुनर्निर्माणमा ढिलाइ

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एकमात्र जुङ्गे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनर्निर्माणका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरेपछि गत चैतमा टेण्डर आव्हान भइ काम सुरु भए पनि निर्माण कार्यमा ढिलाइ भएको छ ।

सुरुवाती चरणमा पानी सुकाएर केही काम भए पनि त्यसलगत्तै निर्माण कार्यअघि बढ्न सकेको छैन ।  तालमा घाट निर्माण भएको छ । जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि रहेको छ । मन्दिर पुनर्निर्माणका लागि तालको पानी सुकाइएको हो । मन्दिर र मूर्ति यथावत राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी काम सुरु गरिएको जानकारी दिनुभयो । मन्दिरसम्म पुग्न बर्षौ पहिले बनाइएको प्रवेशमार्ग एकदमै जिर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । प्रमुख विष्टले भन्नुभयो, ‘नयाँ संरचना निर्माण भए पनि मन्दिरभित्रका घाट समेतका क्षेत्र फराकिलो हुनेछन्, घाटको काम करिब भइसकेको छ ।’

उपमहानगरपालिकाका इञ्जिनियर सुरज शर्माका अनुसार गत बर्ष निर्माणका लागि पानी सुकाउनेक्रममा निर्माण सामग्री फस्नेलगायतका कारणले निर्माणमा ढिलाइ भएको थियो । इञ्जिनियर शर्माले भन्नुभयो, ‘प्राविधिक कारणले विगतमा ढिलाइ भए पनि अहिले निर्माण कम्पनीले काम सुरु गरेको छ ।’ ग्रेटर नेपालले निर्माणको जिम्मा पाएको छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको तालको बीचभागमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्नेगरेको छ । जिर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रीलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनको अधिक भिड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ निर्माण भएपछि भक्तजनलाई सहज हुनेभएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १८:३१

लोकप्रिय