सूचनाको शक्ति - The Power Of Information

        

रुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती

रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सयभन्दा रहेको पाइएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त संख्यामा नेपालीहरु सेनामा रहेको जानकारी आएको बताएका हुन् ।

उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको अध्ययन र खोजी कार्य भइरहेको बताए ।

रुसी सेना बनेका नेपाली कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको प्रचण्डले सुनाए ।

उनले भने, ‘चाहे रुस युक्रेनको युद्ध, हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो ।

अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ ।’ कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ । विगतमा देख्न व्यहोर्न पर्दैन थियो ।

अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढीरहेका छौँ, उनले भने ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १६:५३

लोकप्रिय