२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

हजका लागि आवेदन दिने म्याद मङ्सिर १० सम्म

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २६ गते आइतबार

नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ ।

हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पुर्‍याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिए ।

अध्यक्ष मियाँले आवेदन दिन छुट भएका नेपाली मुस्लिम समुदायबाट यस वर्ष विगतका वर्षभन्दा छिटो हजको आवेदन खुलेकाले आवेदनको समय थप गर्न माग भएको हुँदा नेपाल हज समितिको निर्णयानुसार आवेदन दिने अवधि थप गरेर मङ्सिर १० सम्म तोकिएको उनले जानकारी दिए ।

इच्छुक आवेदकले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट पनि लिन सकिने र थप जानकारी चाहिएमा सिंहदरबारस्थित सचिवालयमा सम्पर्क गर्न सकिने छ ।

यसपालि एक हजार दुई सय इस्लाम धर्मावलम्बीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले नेपालीका लागि कोटा निर्धारण गरेको छ । हजका लागि गत साउनदेखि नै प्रक्रिया सुरु भएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २६ गते आइतबार