सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भूकम्प प्रभावित क्षेत्रमा कसरी हुँदैछ राहत वितरण ?

सोमबारको परकम्पबाट १३ जना घाइते

सोमबार दिउँसोको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ । भुइँचालोले पहिरो खसेपछि जाजरकोट–डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

यस्तै, भूकम्पमा परी रुकुम पश्चिममा ११ जना र जाजरकोटमा दुई जना घाइते भएको विवरण प्राप्त भएको गृह मन्त्रालयले जानकारी दिएको छ । सोमबार अपरान्ह ४ः३१ मा जाजरकोटलाई नै केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्पले धक्का दिएको थियो ।

यो परकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले बताएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । शुक्रबार मध्यरातको भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका छन् ।

यसअघि मृतकको संख्या १५७ उल्लेख भए पनि ४ जनाको दोहोरो विवरण परेकोले सच्याइएको समेत मन्त्रालयले जानकारी दिएको छ । भूकम्पमा परी ३७५ जना घाइते भएका थिए । यीमध्ये ३९९ जना उपचार पछि डिस्चार्ज भएका छन् ।

रुकुम पश्चिममा ५, जाजरकोटमा ४२, सुर्खेतमा १७ र काठमाडौँमा ९ गरी कुल ७६ जना अस्पतालमा उपचाररत छन् । हालसम्म जाजरकोट जिल्लामा ब्ल्याङ्केट ३ हजार ६५५ धान, कपड़ा १ हजार ५०० थान वितरण गरिएको छ ।

डसना ३५ थान, सिरक ५४ थान, तन्ना ४२० थान, बेबी प्याक १०० वटा होम टेन्ट ४७ थान, त्रिपाल ३ हजार ४०९ थान, म्याट्रेस ५३६ थान, स्लिपिङ ब्याग ६२ थान, पि.फम ५० रोल पनि वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बाल्टिन ६६७ थान, सोलार १५३ थान, पानी शुद्धीकरणका लागि पीयुष २७४ वटा, घुम्ती शौचालय ५० वटा, हाइजिन किट २८४ थान र चामल ३०,५५० के.जी., दाल ७९९ के.जी. खाने तेल २६२ कार्टुन, चिउरा १०२ बोरा लगायतका विभिन्न प्रकारका सामाग्रीहरु वितरण भइसकेको मन्त्रालयको भनाइ छ ।

त्यसैगरी रुकुम पश्चिम जिल्लामा टेन्ट १० थान, त्रिपाल १ हजार ७ थान, म्याट ६०० थान, कम्बल १,००० थान, कपडा १५० थान पी फम २२ रोल बान्टिन २६७ थान, तन्ना २०० थान, ब्ल्याङ्केट ३०० थान, चामल ६,४०० केजी, दाल १.१४० केजी तेल ३४० लिटर र पानी शुद्धीकरणका लागि पीयुष २६७ थान लगायतका सामाग्रीहरु वितरण भएका छन् ।

हालसम्म त्रिपाल ८,३२० थान, स्लिपिङ ब्याग १,३४५ थान, टेण्ट ३५० थान, ग्ल्याट ९० चान लगायतका गैरखाद्य सामाग्री जिल्लामा पठाइसकिएको छ । त्रिपाल १२ हजार ६८४ वान, टेन्ट ८४९ थान, ब्ल्याङ्केट ७.६८५ वान, स्लिपिङ ब्याग ३.२१२ थान म्याट्रेस २,४१५ थान, पि. फम ७२ रोल लगायतका सामाग्री पठाइएको मन्त्रालयको भनाइ छ ।

यसैगरी भारतबाट त्रिपाल ६२५ थान, स्लिपिङ ब्याग २ हजार ११२ थान, ब्ल्याङ्केट २ हजार २३० थान र टेण्ट १४९ थान प्राप्त भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार ५–५ करोड रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको छ ।

राहत वितरणका लागि कर्णाली प्रदेश सरकार, काठमाडौं महानगरपालिका, शान्ति नेपाल, द्वारिकाज फाउन्डेशन, मारवाडी सेवा समिति, प्रदेश उद्योग वाणिज्य संघ कर्णाली प्रदेश, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, विश्व खाद्य कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, दाङ र बाँकेको संयोजनमा विभिन्न स्थानीय तह लगायतका विभिन्न दाताहरुबाट प्राप्त खाद्य तथा गैरखाद्य सामाग्री उल्लिखित दुई जिल्लामा पठाइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०७:५२

लोकप्रिय