सूचनाको शक्ति - The Power Of Information

        

सचिनसँग विराटको बराबरी

भारतका विराट कोहलीले आइतबार सचिन तेन्दुलकरको नामको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका छन् ।

उनको उक्त प्रदर्शनको मद्दतमा अपराजित भारतले विश्वकपमा सेमिफाइनल स्थान बनाइसकेको अर्को टिम दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले हरायो ।

आफ्नो ३५ औं जन्मदिन मनाइरहेका विराटले इडेन गार्डेनमा १ सय १९ बल खेलेर शतक पूरा गरे । त्यसमा १० चौका सामेल थियो । उनी १ सय १ रन बनाएर नटआउट रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटमा ३ सय २६ रन बनायो । रोहित शर्माको भारतले ८ खेलमा आठौं जित निकालेको छ । विराटले ७७ रन बनाएका श्रेयस ऐरसँग तेस्रो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरे ।

त्यसपछि भारतले दक्षिण अफ्रिकालाई ८३ रनमै अलआउट गर्‍यो । त्यसअघि भारतले विश्वकप इतिहासकै सबैभन्दा कम स्कोरमा सीमित गर्ने क्रममा सन् १९९६ को च्याम्पियन श्रीलंकालाई ५५ रनमा अलआउट गरेको थियो ।

त्यो खेल भारतले ३ सय २ रनले जितेको थियो । एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको यो दोस्रो कम स्कोर हो । सन् १९९३ मा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ६९ रनमै अलआउट भएको थियो । विश्वकपमा भने दक्षिण अफ्रिकाको यो नै सबैभन्दा कम स्कोर हो ।

बायाँहाते स्पिनर रवीन्द्र जडेजाले ३३ रन खर्चेर ५ विकेट लिए । यो जितपछि भारत लिग चरणको समाप्तिमा शीर्षस्थानमा रहने निश्चित भएको छ । दक्षिण अफ्रिकाका लागि तल्लोक्रमका ब्याटर मार्को जेन्सनले १४ रन बनाए ।

यो नै टिमका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । दक्षिण अफ्रिकाले प्रतियोगितामा दोस्रो हार भोगेको हो । यसअघि गैरटेस्ट राष्ट्र नेदरल्यान्ड्सले हराएको थियो ।

अझै अंकतालिकाको शीर्षमा रहेका दुई टिमबीच यसपल्ट देखिएको अन्तर भने डरलाग्दो रह्यो । खेलपछि विराटले भने, ‘भारतका लागि खेल्नु नै सबैभन्दा ठूलो अवसर हो । अझ आफ्नै जन्मदिनमा शतक बनाउनु सपना पूरा भएजस्तै हो । मैले सानै उमेरदेखि यस्तो सपना देख्ने गरेको थिएँ ।’

सचिनले पनि विराटको प्रशंसा गरेका छन् । एक्स (ट्विटर)मा लेखेका छन्, ‘विराटले राम्रो खेले । यसपल्ट मलाई ४९ वर्षबाट ५० पुग्न ३ सय ६५ दिन लाग्यो, विराटलाई भने ५० औं शतक पुग्न केही दिनमात्र लाग्नेछ, उनलाई मेरो धेरै बधाई ।’

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ०७:५७

लोकप्रिय