भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पतालमा थप उपचारका लागि ल्याएकामध्ये थप दुई जनाको अवस्था गम्भीर छ । अस्पतालमा रुकुम पश्चिम, जाजरकोट, सल्यान जिल्लाबाट ल्याएका २७ जना बिरामीको उपचार भइरहेको र बिरामी आउनेक्रम जारी रहेको श्रेष्ठले बताए ।
यसैबीच जाजरकोट तथा रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएकाले थप खोज तथा उद्धार, उपचार, राहतका लागि सबैलाई अनुरोध गर्ने निर्णय भएको अस्पतालका लागि सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
यसका साथै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णयसमेत भएको उल्लेख गर्दै ज्ञवालीले नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट तत्काल राहतस्वरुप रु.चार लाख बराबरको खाद्यान्न र त्रिपाल, झुल लगायत १०० जना परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टिम परिचालन गरिने बताए ।
कोहलपुर नगरपालिकाको तर्फबाट तत्काल राहतस्वरुप रु.दुई लाख, राप्तीसोनारी गाउँपालिकाको तर्फबाट रु.एक लाख बराबरको औषधि सामग्री र रु.५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहितको टिम, २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने र खजुरा गाउँपालिकाको तर्फवाट रु.तीन लाख बराबरको औषधि सहयोग गनेसमेत निर्णय भएको ज्ञवालीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र रुकुम पश्चिममा ६०० थान कम्मल, त्रिपाल र पिफर्म उपलब्ध गराउने, जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलब्ध गराइने निर्णय गरेको भएको छ ।
त्यस्तै केमिकल एण्ड मेडिकल एशोसियसन सप्लायर्स सर्जिकल प्रालिबाट ३५० केजी चिउरा र ९०० प्याकेट चाउचाउ उपलब्ध गराउने निर्णय गरेको भएको छ । नेपालगन्ज ग्रीनसिटीका तर्फबाट २५ बोरा चामल, चिउरा २०० केजी, ४० पेटी चाउचाउ र बाँके युनेस्को क्लबबाट भेरी अस्पतालका घाइते बिरामीका लागि अञ्जली माता रसोइमार्फत ८० जनालाई निःशुल्क रुपमा खाना सहयोग गर्ने बताइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके