सूचनाको शक्ति - The Power Of Information

        

सडक निर्माणको दुरावस्था

बुटवल-नारायणगढ सडक निर्माण सुस्त, यात्रुलाई सास्ती, दुर्घटनाको त्रास

निर्माणाधीन अवस्थामा रहेको बुटवल-नारायणगढ सडक खण्डमा सवारी गुड्न त्यति सहज छैन । दुर्घटनाको त्रास पनि उस्तै छ ।

सरकारले एसियाली विकास बैङ्कबाट डेढ प्रतिशत ब्याजमा झन्डै १७ अर्बको ऋण लिएर पुनर्निर्माण सुरु गरेको बुटवल नारायणगढ सडक खण्डमा पाँच वर्षको प्रगति पूर्वी खण्डमा ४० र पश्चिमी खण्डमा ३७ प्रतिशत मात्र छ । निर्माण सक्नका लागि एक वर्ष म्याद थप भएको छ । तर समयमै काम सम्पन्न नहुँदा यात्रुलाई सास्ती मात्र भएको छैन जुन फाइदाका लागि यो ऋण लिइएको थियो त्यो फाइदा नै ढिलाइले हराउँला जस्तो भइसकेको छ ।

नेपाल सरकारको काम गर्ने यस्तो लाजलाग्दो प्रवृत्तिका कारण नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको त छँदैछ । काठमाडौँबाट बुटवल ७–८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य भएका छन् । २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेपछि यस्तो समस्या आएको हो । बुटवलदेखि नारायणगढसम्मको ११४ किलोमिटर सडक साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो ।

तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ भने उक्त सडकमा यात्रा गर्ने यात्रुहरूलाई सास्ती भएको छ । बुटवल–काठमाडौँ चल्ने लु १ ख १६८६ नम्बरको बसका चालक भोजराज आचार्यले बुटवल–काठमाडौँ रुटमा गाडी चलाउन थालेको ६ वर्ष भयो । उनलाई बुटवल–नारायणगढ सडकको दुरावस्थाले दिक्क बनाउँछ । बर्खा लगिसकेपछि ठाउँठाउँमा पहिरोको समस्या त छँदैछ, त्यसमाथि निर्माणाधीन सडक समयमै नबन्दा सास्ती खेप्नुपरेको छ ।

उनलाई अहिले दुम्कीबास क्षेत्रको यात्रा सबैभन्दा झन्झटिलो लाग्ने गरेको छ । चालक आचार्यले काठमाडौँबाट बुटवल आउनेभन्दा अझै महेन्द्रनगर, धनगढी चल्ने लामो दुरीका चालकलाई बढी समस्या हुने गरेको बताए । उनले भने, ‘हामीलाई नै १५ घण्टा लाग्ने भयो अझै धनगढी, महेन्द्रनगर, सुर्खेत जानेहरू झन् समस्यामा छन् ।’ निर्माणाधीन अवस्थामा रहेको बुटवल–नारायणगढ सडक खण्डमा सवारी गुड्न त्यति सहज छैन ।

चालक आचार्यजस्तै भैरहवादेखि काठमाडौँ गाडी चलाउँदै आएका नारायण खनालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको बताए । ‘ठाउँठाउँमा खाल्डाखुल्डी छ । प्यासेन्जरहरू उफ्रियो, ढिला भयो भनेर रिसाउनुहुन्छ,’ उनले भने, ‘सडक साँघुरो छ । त्यहीमाथि धुलो र हिलो, हैरानी छ नयाँ गाडी बिग्रिसक्यो ।’ नारायणबाट–बुटवल सडकबाट दिनमा हजारौँ निजी तथा भाडाका सवारी साधन गुड्ने गर्दछन् । यही राजमार्ग हुँदै राजधानी तथा पूर्व पश्चिम क्षेत्रमा यात्रुहरू हिँड्नुपर्ने बाध्यता छ ।

दुर्घटनाको त्रास पनि उस्तै

यही असोज ४ गते बुटवल–नारायणगढ खण्डमा पर्ने बर्दघाटमा हाइस, ट्रक र माइक्रो बस एकै पटक दुर्घटना भए । एकतर्फी बाटो भएका कारणले हाइस र ट्रक ठोक्किँदा त्यसको असर माइक्रो बसलाई पनि परेको थियो । उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि सवारी साधनमा क्षति पुगेको छ । असोज ७ गते नवलपरासीको ज्यामिरेमा सडकका कारणले नै लु १ ख ७६४३ नम्बरको बस पल्टियो । साँघुरो सडकमा निर्माण सामग्री राखिएको थियो ।

अर्को सवारीलाई साइड दिँदा बस दुर्घटना भएको पश्चिम नेपाल बस प्रालिका सञ्चालक समिति सदस्य एवं दुर्घटना एकाइ संयोजक नारायण घिमिरेले बताए । घिमिरेले निर्माणाधीन सडकका कारणले असोज १ गते सुनौलामा लु १ ख ५४२१ नम्बरको बस र भदौ २१ गते खैरेनीमा लु १ ख ९९६५ नम्बरको बस दुर्घटना भएको बताए । घिमिरेले भने, ‘पछिल्ला दिन यहाँ सडकका कारणले धेरै दुर्घटना भएको हामीले महसुस गरेका छौँ ।’

यहाँ निर्माण सामग्री, ठाउँठाउँमा पर्खाल लगाउँदा साइड दिन अप्ठ्यारो, खाल्डाखुल्डी आदि कारण दुर्घटना हुने गरेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी कृष्ण पछाईले दाउन्ने तथा दुम्कीबास लगायत ठाउँमा सडक त्यसै पनि अप्ठ्यारो र अहिले निर्माणाधीन हुँदा दुर्घटना हुने गरेको बताए ।

सडककै कारण गाडी बिग्रिन थाले

बुटवल–नारायणगढ सडक विस्तार गर्न थालेपछि यहाँ यात्रु, चालक सबैले दुःख पाएका छन् भने गाडी धनीहरूले सडकका कारण आफ्ना गाडी धेरै बिग्रिएको गुनासो गर्दछन् । यो रुटमा गाडीको टायरदेखि अन्य पार्टपुर्जा छिटो छिटो बिग्रने गरेको पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । उनले भने, ‘सडकको कारण गाडी खर्च ५० प्रतिशत वृद्धि भएको छ, महँगो तेल, पार्टपुर्जा उस्तै बिग्रने गरेका छन्, जसले गर्दा हामी मारमा छौँ ।’

खरेलले २ घण्टामा सरर जाने ठाउँमा ५–६ घण्टा समय लाग्दा त्यसै तेल धेरै खाने र पार्टपुर्जा टिकाउन पनि गाह्रो हुने गरेको बताए । २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको हो । ११४ किलोमिटर सडक साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो । तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ ।

सुस्त काम

२०७५ चैत ८ गते नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो । २०८० भदौ ११ र पश्चिम खण्डको साउन ११ मा निर्माण सम्पन्न गर्ने गरी म्याद सम्झौता भएको थियो । पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता समेत भएको थियो । तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ । जसमा पश्चिमी खण्डमा ३५० दिन म्याद थप भएको हो ।

आगामी भदौ ११ गते म्याद सकिने पूर्वी खण्डको ३३० दिन म्याद थपिएको छ । अहिलेसम्म पूर्वी खण्डमा ४० र पश्चिमी खण्डमा ३७ प्रतिशत काम सम्पन्न भएको छ । ११५ किलोमिटर लामो सडकलाई २ खण्डमा विभाजन गरी काम सुरु गरिएको थियो । एसियाली विकास बैङ्कको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण भइरहेको पूर्व पश्चिम राजमार्गको काम भइरहेको हो । हाल पुनः एक वर्षका लागि थपिएको म्याद अनुसार २०८१ साउनमा सडक बनिसक्नुपर्नेछ ।

यसका लागि हाल सडकमा धमाधम काम भइरहेको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख आशिष थापा मगरले बताए । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ किलोमिटर ४२५ मिटर सडक खण्ड हेर्ने अभिभारा उनको छ । यता, पश्चिमतर्फको दाउन्ने बजारदेखि बुटवलसम्मको ६५ किलोमिटरको जिम्मेवारी नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डमा शशाङ्क मिश्रको नेतृत्वले हेरिरहेको छ । आयोजनाले आफ्नो कामलाई हरेक समयमा तत्परताका साथ गर्ने गरी अघि बढेको मिश्रले बताए ।

स्रोत : आइएनएस
प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ०८:०३

लोकप्रिय