सूचनाको शक्ति - The Power Of Information

        

दसैँअघि राष्ट्रिय राजमार्गमा पुरिँदैछन् खाल्डाखुल्डी

सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्ने लगायतका मर्मत सुरु गरेको छ । वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत सुरु गरिएको विभागले जनाएको छ ।

मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर नातिबाबु खड्काले बताए । साउनबाट नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन दिइएको उनले बताए ।

विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्काे वर्षा सुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ । उनले भने, ‘वर्षा सकिनासाथ दसैँ पनि पर्छ । तर मौसमका हिसाबले पनि वर्षा सकिएपछि मर्मत गर्नु उपयुक्त हुन्छ ।’

यो वर्ष दसैँ केही ढिला गरी रहेको छ । मर्मतको काम बर्सेनि गर्ने समयमा गर्दा पनि दसैँमा सडक राम्रो अवस्थामा पुग्ने उनले बताए । मर्मतको काम सुरु भइसकेको उनले जानकारी दिए । उनले भने, ‘सबैतिर भइरहेको रिपोर्ट आइरहेको छ दसैँ अघि सबैतिर भइसक्छ होला ।’

राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन् । सोहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो । यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको सिनियर डिभिजनल इञ्जिनियर खड्काले बताए ।

कतिपय काममा खर्च तुरुन्त हुने र भुक्तानी तुरुन्त दिनुपर्ने हुन्छ । उनले भने, ‘पुरानो दायित्व नै सबै भुक्तानी भइसकेको छैन ।’ सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो ।

काम सुरु भए पनि भने जस्तो प्रगति भइनसकेको उनले बताए । उनले भने, ‘तुरुन्त भुक्तानी दिनसक्ने अवस्था नभएसम्म समस्या रहेको छ ।’ वर्षाको समयमा देशभरका धेरै सडकमा क्षति भए पनि अहिले ती सबै चालु भइसकेको विभागले जनाएइको छ । कतिपय सडकमा ठूलो क्षति रहेकामा तीनमा सडक खुलाइसकिएको र सडक मर्मतको काम गर्दै जाने विभागको योजना रहेको पाइन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार २१:०३

लोकप्रिय