सूचनाको शक्ति - The Power Of Information

        

डेढ वर्षपछि परस्पुर-गौघाट सडक निर्माण सुरु

नेपालगन्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका–२ सीतापुर जोड्ने सडकको सम्झौता भएको करिब डेढ वर्षपछि काम सुरु भएको छ ।

वि.सं २०७९ वैशाख २५ गते सम्झौता भएको सडक निर्माण कार्य २०८१ भदौ २४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख छ । तर सम्झौता भएको डेढ वर्षको अवधिमा निर्माण कम्पनीले सामान्य बाहेकको निर्माण कार्य नगरेकोमा हाल निर्माण कार्य अघि बढाएको हो ।

खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनीराम वलीले विगतमा जेजस्तो भए पनि अब समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । वडाध्यक्ष वलीले भने, ‘१५ महिना सडक अलपत्र परेपनि अहिले सुरु भएको छ । अब समयभित्रै राम्रो काम होस् भन्ने छ । स्थानीयले पनि कामको निगरानी गर्नुहुनेछ ।’

निर्माण सुरु भएको करिब डेढ वर्षको अवधिमा कामले गति लिन नसकेपछि यसअघि खजुरा गाउँपालिकाले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको थियो । डेढ वर्षको अवधिमा जानकी र खजुरा गाउँपालिकाको सीमामा एउटा कल्भर्ट र केही सामान्य काम बाहेक कामले गति लिन सकेको छैन ।

निर्माण कम्पनीले हाल खाल्डाखुल्डी पुरेर तत्काल सहज ढङ्गले आवतजावत गर्न सकिने गरी प्रारम्भिक चरणको कार्य अगाडि बढाएको छ । लगत्तै यस सडकखण्डको निर्माण कार्य र समयमै सम्पन्न गर्ने दाबी निर्माण कम्पनीको छ ।

करिब १० किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–गणपति जेभीले भ्याट र पिएससहित १३ करोड ४३ लाख रुपैयाँमा निर्माणको जिम्मेवारी पाएको छ । बस्तीमा दुवैतर्फ नालीसहित १० मिटर चोडाईको सडक बन्नेछ । निर्माण कम्पनीका अनुसार ७ मिटर कालोपत्रे हुनेछ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । यो सडकलाई बर्दियाको कण्ठपुर हुँदै गुलरीया सडक खण्डमा जोड्ने योजना रहेको छ । यो सडक बनेपछि बाँके र बर्दियाका एकलाख बढी नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०७:१२

लोकप्रिय