सूचनाको शक्ति - The Power Of Information

        

युवा अवस्थामै मुटुको समस्या, हृदयघातको जोखिम उच्च

अहिले युवा अवस्थामै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । युवा अवस्थामै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए ।

उनका अनुसार हृदयघात हुनेमध्ये १२ प्रतिशत बिरामी ४५ वर्षमुनिका युवा रहेका छन् । ‘युवाहरूमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनले हृदयघातको समस्या बढ्दै गएको छ,’ केन्द्रका निर्देशक डा.अधिकारीले भने, ‘खासगरी ४५ वर्षमुनिका १२ प्रतिशत युवामा हृदयघात हुनुका मुख्य कारण चुरोट र सुर्ती सेवन देखिएको छ ।’

डा.अधिकारीका अनुसार चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, निष्क्रिय जीवनशैली, तनाब लगायत पनि कम उमेरमै हृदयघात हुने गरेको छ । हृदयघात वङ्शाणुगतका कारण पनि हुने गरेको उनको भनाइ थियो । ४५ वर्ष कटेपछि वर्षमा एकपटक मुटुको नियमित जाँच गराउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, हर्मोन, चिल्लो खानापन, तनाव लगायत कारणले हृदयघात हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा.अधिकारीले बताए । नियमित व्यायाम गर्नेमा भन्दा व्यायाम नगर्नेमा हृदयघातको जोखिम बढी हुने उनले उल्लेख गरे ।

‘बिरामीको छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्ने, अलिकति हिँड्यो भने दुःखाइ बढ्दै जाने हुन्छ । आराम गर्यो भने कम हुन्छ । यस्तो हुदाँ नशा साँघुरो भएर मुटुलाई रगत पुगेको हुँदैन,’ डा.अधिकारीले भने, ‘हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दुःखाइ निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन र हृदयघात हुन्छ ।’

उनका अनुसार विगत १० वर्षको तथ्याङ्क अनुसार मुटुरोगका बिरामीमध्ये ५० प्रतिशत हृदयघात भएका बिरामी छन् । मुटु सम्बन्धी रोग विश्वव्यापीरूपमा मृत्युको प्रमुख कारण बन्दै गइरहेको डा. अधिकारीले बताए । हृदयघातका कारण करिब १६ प्रतिशत बिरामीको मृत्यु हुने गरेको भन्दै उनले मुटु सम्बन्धी रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए ।

मुटु रोगबाट बच्ने उपाय

स्वस्थ खानेकुरा खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने, शारीरिक व्यायाम गर्ने, धुमपान र मद्यपान नगर्ने, मानसिक तनाव व्यवस्थापन गर्ने रहेका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. अधिकारीले बताए ।

दैनिक ३० मिनेट हिँड्ने, हरियो तरकारी र फलफूल खाने, नुन, चिनी तथा चिल्लो कम खाने, बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने, पिरचिन्ता नलिने, कसैसँग नरिसाउने, दैनिक ६ देखि ८ घण्टा सुत्ने लगायत क्रियाकलाप गरे मुटु रोगबाट बच्न सकिने उनको भनाइ थियो ।

कार्यकारी निर्देशक डा.अधिकारीका अनुसार अस्पतालमा आएकामध्ये एक हजार ६०० बिरामीको मुटुको शल्यक्रिया गरिन्छ । त्यस्तै एक वर्षमा हृदयघात भएर एक हजार ८०० मानिस उपचारका लागि आउने गरेका उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १०:२६

लोकप्रिय