टीकापुर घटनाका सबै कैदी बन्दी रिहा भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै रिहा भएका हुन । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो ।
रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् ।
यसै गरी, तत्कालीन अवस्थामा नाबालक रही पोखरा सुधार गृह पुर्याइएका लट्कनियाकै श्रवणकुमार चौधरी पनि रिहा भएको प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले जानकारी दिए । तीन जना कैलाली जिल्ला कारागारबाट र एक जना पोखराबाट रिहा भएका हुन् ।
कैलाली जिल्ला कारागारबाट रिहा भएका कैदीहरूको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् मन्त्री रन्जिता श्रेष्ठ, सो पार्टीका संरक्षक रेसम चौधरी, सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, अरुणकुमार चौधरी, प्रदेश सभा सदस्यहरू लगायतले अबिर, खादा लगाएर स्वागत गरेका थिए ।
टीकापुर घटनाको मुख्य योजनाकार भनी दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको थियो । संविधान निर्माणको क्रममा भएको थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर घट्ना घटेको थियो । घट्नामा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गएको थियो ।
सो घटना मुद्दामा प्रहरीले २७ जनालाई पक्राउ गरेर कर्तव्य ज्यान, डाँका चोरी र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । मुद्दा चलाइएकामध्ये कैयौँ वर्ष जेल बसिसकेपछि राम नरेश चौधरी, नुरुल जागा, विश्राम कुश्मीले कैलाली जिल्ला अदालत र विश्राम चौधरी, सीताराम चौधरी, गङ्गाराम चौधरीले उच्च अदालत दिपायलबाट सफाइ पाएका थिए । सफाइ पाएकामध्ये गङ्गाराम चौधरीको अन्य मुद्दाको सजाय भुक्तानी गर्न बाँकी रहेका कारण उनलाई पुनः कारागारमा राखिएको छ ।
यसै गरी, कैलाली कारागारबाट बुधवार रिहा हुनेमा भीमदत्त नगरपालिका कञ्चनपुरका कपिल कुँवर, कैलालीको घोडाघोडी नगरपालिका–१ का रेवती शाही बम, सुन्दरी चौधरी रहेका छन् ।
कुँवर सवारी ज्यान मुद्दा र दुई जना बहुविवाह मुद्दामा जेल जीवन बिताइ रहेका थिए । यस्तै, चोरी मुद्दामा जेल जीवन बिताइरहेका धनगढी उपमहानगरपालिका–१ का लोकेन्द्रसिंह सामन्त, दीपक साउँद र अवैध हातहतियार मुद्दामा जेल जीवन बिताइरहेका डोटीका नरबहादुर साउँद पनि रिहा भएका छन् ।
आवश्यक प्रक्रिया पुर्याएर उनीहरूलाई रिहा गरिएको कैलाली जिल्ला कारागारका जेलर पदमराज तिमिल्सिनाले जानकारी दिए । १५० क्षमताको कैलाली कारागारमा हाल ५२ जना महिलासहित ६७२ जना कैदी बन्दी रहेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ