अमेरिकी पपगायिका ब्रिट्नी स्पियर्सले आफ्नै परिवारका सदस्य तथा पूर्वपतिविरुद्ध तितो पोखेकी छन् । उनिहरुले आफूलाई ‘कमारा’ (दास) सरह व्यवहार गरेको भन्दै ब्रिट्नीले गम्भीर आरोप लगाएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै उनले आफ्नै बहिनी जेमी लिन स्पियर्स र पूर्वपति केभिन फेडरलाइनविरुद्ध उक्त आक्रोश पोखेकी हुन् ।
आफ्ना सन्तान भेट्न जाँदा वा पारिवारिक आउजाउका क्रममा आफूमाथि मानसिक र व्यावहारिक शोषण भएको भन्दै ब्रिट्नीले अब ‘नयाँ परिवार खोज्ने’ घोषणासमेत गरेकी छन् । सन् २००३ को फिल्म ‘अपटाउन गल्र्स’को दृश्यमा बालकलाकार डकोटा फानिङले माझी औंला (अश्लीलता) देखाएको एक तस्बिर शेयर गर्दै ब्रिट्नीले इन्स्टा पोष्टमा आफ्नै मान्छेहरूले पर्दा पछाडी अनेकौं षड्यन्त्र बुनेको दाबी गरेकी छन् ।
‘शौचालय प्रयोग गर्न पाइनँ’
इन्स्टाग्राम पोस्टमा ब्रिट्नीले कोभिड महामारीका बेला आफ्नै घरमा भोगेका तीता अनुभवहरूको खुलासा गरेकी छन् । ‘कोभिड महामारीको समयमा लुइजियाना जाँदा बहिनी जेमी लिनले मलाई उनकी छोरी आइभीलाई एकपटक पनि समात्न दिइनन् । यता पूर्वपति केभिनले छोराहरूलाई लिन जाँदा उनीहरूको शौचालयसम्म प्रयोग गर्न नदिएको उनले बताएकी छन् ।
ब्रिटनिले लेखेकी छन्, ‘उनीहरूले मलाई दास जस्तो अनुभव गराए । मेरो पछाडि उनीहरूका थुप्रै रहस्यमय गतिविधि हुन्थे, जबकि मैले जीवनभर केवल बुबाका लागि काम मात्र गरिरहें ।’ पारिवारिक सम्बन्ध पूर्णरूपमा चिसिएपछि तनावमा रहेकी पपस्टार ब्रिट्नीले आफ्ना समर्थकहरूमाझ ढिलो–चाँडो आफूले नयाँ परिवार रोज्ने दृढता व्यक्त गरेकी छन् ।
१३ वर्षे संरक्षकत्वको कालो छाया
ब्रिट्नी स्पियर्सको जीवनमा पारिवारिक हस्तक्षेप र नियन्त्रणको इतिहास लामो छ । सन् २००८ देखि सुरु भएको उनको बहुचर्चित र विवादित १३ वर्षे ‘कन्जर्भेटरसिप’ (कानुनी संरक्षकत्व) सन् २०२१ को नोभेम्बरमा मात्रै अन्त्य भएको थियो । उक्त अवधिमा उनका बुबा जेमी स्पियर्सले ब्रिट्नीको व्यक्तिगत जीवन, वित्तीय मामिला र सांगीतिक करियरमाथि पूर्ण नियन्त्रण कायम राखेका थिए । संरक्षकत्वबाट मुक्त भए पनि परिवारसँगको उनको आन्तरिक कलह भने अझै साम्य हुन सकेको छैन ।
