२०८३ कात्तिक १७ , सोमबार 2, November 2026, Monday

नेपालगन्ज भन्सारमा राजस्व सङ्कलनमा वृद्धि

पश्चिम नेपालकै ठुलो भन्सार कार्यालयमध्ये एक नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउन, भदौ र असोज गरी तीन महिनामा पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ ।

उनले गत आवको सोही अवधिमा चार अर्ब ४७ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको जनाउँदै चालु आवको तीन महिनामा गत आवको तीन महिना भन्दा ७७ करोड रुपैयाँ राजस्व सङ्कलन वृद्धि भएको बताए । गएका तीन महिनामै लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेपनि गत आवको भन्दा चालु आवको सुरुको तीन महिनामा राजस्व सङ्कलन वृद्धि भएको सूचना अधिकारी खड्काले बताए ।

भन्सार कार्यालयका अनुसार साउनका लागि एक अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य रहेकामा एक अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा दुई अर्ब नौ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोज महिनामा दुई अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा एक अर्ब ८९ करोड चार लाख सात हजार रुपैयाँ सङ्कलन भएको छ ।

साउन महिनामा मासिक लक्ष्यको ८७.८७ प्रतिशत, भदौमा ८३.०६ र असोजमा लक्ष्यको ८०.३१ प्रतिशत राजस्व संकलन भएको सूचना अधिकारी खड्काले जनाउनुभयो । गत आव २०८२/०८३ मा आफ्नो लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयले चालु आवको शुरुका तीन महिनामा पनि लक्ष्य अनुसार सङ्कलन गर्न सकेन ।

भन्सार कार्यालयले गत आव २०८२/०८३ मा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व सङ्कलनका लागि लक्ष्य रहेकामा करिब ८१.८७ प्रतिशत अर्थात् २० अर्ब ११ करोड ५५ लाख एक हजारमात्रै असुली गर्न सकेको थियो । गत आवमा २० अर्ब ११ करोड राजस्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आव २०८३/०८४ मा २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ ।

सूचना अधिकारी खड्काका अनुसार नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्याक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयात बढी हुने गरेको छ भने जडीबुटी लगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार