२०८३ कात्तिक १७ , सोमबार 2, November 2026, Monday

मधेशमा बाक्लो हुस्सु र शीतलहर, जनजीवन प्रभावित

oplus_0

मधेश प्रदेशमा सोमबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित भएको छ । बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण सडक, खेतबारी तथा आसपासका दृश्य धमिलिएका छन् भने सवारी आवागमनसमेत प्रभावित भएको छ ।

मौसमले पुस–माघ महिनाको झल्को दिएको स्थानीयवासीले बताएका छन् । सप्तरीसहित मधेशका अधिकांश जिल्लामा बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण सडकमा गुडिरहेका सवारीसाधनसमेत स्पष्ट देख्न कठिन भएको थियो ।

हुस्सुसँगै चलेको चिसो सिरेटोले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत असहज बनाएको थियो । वृद्धवृद्धा, बालबालिका तथा बिहानै काममा निस्कने सर्वसाधारण बढी प्रभावित भएका छन् ।

राजविराजबाट बिहानै विङ्गर गाडी लिएर धरानतर्फ गएका सवारी चालक वीरेन्द्र यादवले बाक्लो हुस्सुका कारण सडक नै राम्रोसँग देख्न नसकिएको बताए ।

उनले भने, ‘बिहानैदेखि बाटो नदेखिने गरी हुस्सु लागेको छ । सवारी चलाउँदा अगाडिको दृश्य स्पष्ट नदेखिने भएकाले निकै सावधानी अपनाएर गाडी चलाउनुपरेको छ ।’

हुस्सुका कारण सडकको दृश्यता कम हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाइ छ । सवारी चालकले गति कम गरी सुरक्षित दूरी कायम राखेर सवारी चलाउनुपर्ने अवस्था रहेको उनले बताए ।

स्थानीय बिन्दुकुमार यादवका अनुसार बाक्लो कुहिरोका कारण बाटो स्पष्ट देखिएको छैन । असिना पानी परेझैँ सडक भिजेको र बिहानको हुस्सुका कारण पैदल हिँड्दा शरीरसमेत ओसिलो भएको उनले बताए ।

स्थानीय वृद्ध सितावीप्रसाद साहले सोमबार बिहानको मौसमले पुस–माघ महिनाको झल्को दिएको बताए । उनका अनुसार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि वातावरण निकै चिसो र ओसिलो बनेको छ ।

यद्यपि, हुस्सु र शीतलहर बाक्लो देखिए पनि पुस, माघ महिनामा हुने शीतलहरको तुलनामा चिसो भने कम महसुस भएको उनको अनुभव छ । बिहानको समयमा बाक्लो हुस्सु लाग्दा विशेषगरी लामो दूरीका सवारीसाधन, मोटरसाइकल तथा पैदलयात्रुलाई बढी समस्या हुने गरेको छ ।

मौसममा आएको परिवर्तनले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, किसान, विद्यार्थी तथा बिहानै आवतजावत गर्नुपर्ने सर्वसाधारणको दिनचर्यामा समेत असर पार्न थालेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार