२०८३ कात्तिक १७ , सोमबार 2, November 2026, Monday

एनपीएल : पहिलो जितको खोजीमा काठमाडौँ, दबाबमा सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज सोमबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई ओटा रोमाञ्चक खेलहरू हुँदैछन् । प्रतियोगिताको रौनक बढाउँदै आज दिउँसो र साँझ गरी दुई फरक खेल सञ्चालन हुन लागेका हुन् ।

दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाज पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएकाले आजको खेलमा पुनरागमन गर्दै पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।

काठमाडौँका लागि कप्तान करण केसी, भीम सार्की तथा विदेशी खेलाडीको प्रदर्शन निर्णायक रहने देखिन्छ । अर्कातर्फ सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स भने लगातार दुई खेल जितेर उत्कृष्ट लयमा छ । कर्णालीले जनकपुरलाई १९ रन र विराटनगरलाई ४ विकेटले पराजित गरिसकेको छ ।

सोमपाल कामी, गुल्शन झा र अरिफुल इस्लामको राम्रो प्रदर्शनका साथै टोलीमा बङ्गलादेशी युवा ब्याटर जिशन अलामको आगमनले कर्णाली थप मजबुत बनेको छ । त्यस्तै साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले तीन खेल खेल्दा एक जित र दुई हार व्यहोरेको छ । टोली आज दोस्रो जित दर्ता गर्दै अङ्क तालिकामा सुधार गर्ने दाउमा छ । उता कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले दुई खेलबाट ३ अङ्क जोडेको छ ।

विराटनगर किङ्सलाई पराजित गरेको चितवनले लुम्बिनी लायन्सविरुद्धको खेल वर्षाले रद्द भएपछि अङ्क बाँडेको थियो । डेविड मलान, रवि बोपारा र सिकन्दर राजाजस्ता शक्तिशाली विदेशी खेलाडीको साथ पाएको चितवन आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा ओर्लिनेछ ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार