नेकपा (एमाले)की वरिष्ठ नेता विद्या भण्डारीको काम कर्तव्य तोकिएको छ । गत असोज ५–८ मा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय समावेश गरिएको अन्तरपार्टी निर्देशन (अपानि)मा वरिष्ठ नेताको भूमिका खुलाइएको हो ।
केन्द्रीय कमिटी बैठकले भण्डारीलाई दोस्रो बरीयतामा रहने गरी वरिष्ठ नेता बनाएको थियो । विधानको धारा १०५ को विधानको बाधा अड्चन फुकाउने अधिकार र धारा १३ को अधिकार प्रयोग गरी विधानमा संशोधन गरी वरिष्ठ नेता बनाइएको अपानिमा उल्लेख छ ।
काम कर्तव्य र अधिकारमा दोस्रो बरीयतामा रहेर अध्यक्षलाई सहयोग गर्ने भनिएको छ । ‘अध्यक्ष पछिको दोस्रो बरीयतामा रहेर केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिने । अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवम् समयोचित निर्णय गर्न योगदान गर्ने,’ अपानिमा भनिएको छ ।
वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने उल्लेख छ । ‘केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने,’ वरिष्ठ नेताको कामबारे भनिएको छ । यस निर्णयलाई पार्टीको आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गर्ने अपानिमा उल्लेख छ ।
त्यस्तै,अपानिमा पार्टीको नीति, निर्णय र नेतृत्वका विरुद्ध सार्वजनिक रूपमा बोल्न रोक लगाइएको छ । अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पार्टीमा हुर्किँदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकताबद्ध र सुदृढ पार्टी निर्माण गर्न उक्त निर्णय गरिएको उल्लेख छ ।
‘पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने, स्वेच्छाचारी, अराजक वा अनुशासनहीन क्रियाकलाप गर्ने वा गुटबन्दी गर्ने प्रवृत्तिमा पूर्णरूपमा रोक लगाउने र पार्टीमा अनुशासन पुनःस्थापित गर्ने । आजसम्म जो जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने । केन्द्रीय कमिटीको चालू बैठकलाई कटअफ बैठक मान्ने,’ भनिएको छ ।
अब कसैले आलोचना गरे स्पष्टीकरण सोधेर कारबाही गर्ने उल्लेख गरिएको छ । कारबाहीको अधिकार संगठन विभागलाई दिएको छ । ‘अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्धमा सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा, अपमान गरेमा वा गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने,’ अपानिमा भनिएको छ ।
त्यस्तो क्रियाकलाप गरेको पाइएमा कारबाहीको विषय बनाउने र कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने भनिएको छ । ‘पार्टीमा अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोग सक्रिय रहने । केन्द्रीय अनुशासन आयोगलाई यसअनुरूप अघि बढ्न कुनै व्यवधान वा अप्ठ्यारो भएमा केन्द्रीय कमिटीले बाध अड्काउ फुकाएर भए पनि सहयोग गर्ने,’ अपानिमा भनिएको छ ।
यसले अध्यक्ष ओली विरुद्ध बोल्न रोक लगाएको देखिन्छ । अध्यक्ष ओलीविरुद्ध नेताहरू सार्वजनिक रूपमा नै बोल्न थालेका थिए । एमालेले निर्वाचनमा भएको हार अध्यक्ष ओलीको मात्रै कमजोरी नभएको निचोड निकालेको छ । बैठकको निष्कर्षमा उल्लेख गरिएको छ, ‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो । तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन ।’
यो सिङ्गो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा संगठनात्मक कमजोरीहरूको संयुक्त परिणाम भएको अपानिमा जनाइएको छ । ‘यदि हामीले सही निदान गर्यो भने उपचार सम्भव छ । यदि गलत निदान गर्यो भने औषधि पनि गलत हुनेछ ।’
ओलीले अध्यक्षको रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्ने उल्लेख छ । ‘म अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छु । तर म यो पनि भन्छु, यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन । यो समय एकताबद्ध भएर नेकपा ( एमाले)को प्रतिरक्षा प्रणाली पुनर्निर्माण गर्ने समय हो,’ अपानिमा भनिएको छ ।
‘हामीले जनताको पीडा सुन्नुपर्छ, युवासँग उनीहरूले बुझ्ने भाषामा संवाद गर्नुपर्छ, पार्टी सङ्गठनलाई जगाउनुपर्छ । सत्यलाई छिटो र सरल बनाउनुपर्छ, आरोपको तथ्यगत जवाफ दिनुपर्छ र पार्टीभित्रको असन्तोषलाई सुधारको ऊर्जा बनाउनुपर्छ । यही बाटोबाट हार शिक्षा बन्छ, शिक्षा रूपान्तरण बन्छ, रूपान्तरण पुनर्जागरणको विषय बन्छ,’ अपानिमा उल्लेख छ ।
