२०८३ असोज १९ , सोमबार 5, October 2026, Monday

पैसा तिर्दा पनि मुस्ताङ जाने जहाजमा उड्न पाउँदैनन् नेपाली

आकस्मिक काम परेपछि पोखरा आउन खोजेका मुस्ताङ पत्रकार महासंघका सचिव आदित्य रसाइली एयरलायन्स कम्पनीमा पुगे । धेरै पटक आग्रह गर्दा पनि त्यहाँ भएको समिट र तारा एयरलायन्सले उनलाई टिकट दिएन । इसेवामार्फत टिकट काट्न खोजे, १२ हजार ९८ रुपैयाँ भाडादर देखायो । वालेटमा नेपाली र विदेशी सबैलाई १२ हजार नै टिकट दर देखाउँछ ।

तर, नेपाली भनेर फ्लाइट टिकट खोज्दा कम्पनीले दिँदैन । विदेशीलाई भने सहजै स्वीकार गर्छ । ‘वास्तविक भाडादर चार हजार ८०० हो । इसेवामा चर्को मूल्यमा टिकट राखिएको हुन्छ,’ उनले भने, ‘महँगो टिकट पनि नेपालीले काट्न खोजे पाइँदैन । एयरलाइन्सले विदेशीलाई मात्रै जहाजमा चढाउँछ । इमरजेन्सी परेपनि एयरपोर्टको ढाकामा कुरेर बस्नुपर्छ ।’

बिरामी र अशक्तहरूले समेत जहाजमा टिकट नपाएपछि जिल्ला प्रशासन कार्यालयमा दिनहुँजसो गुनासो जान्छ । प्रहरीलाई गुनासो गर्छन्, पालिकाले पनि त्यस्तै गुनासो सुन्नुपर्छ । नेपाली भने एयरपोर्टको ढोकामा पुगेर लामो समय कुर्दा पनि चढ्न नपाएपछि त्यसै फर्किन बाध्य छन् । रसाइलीले पनि जिल्ला प्रशासनको सिफारिस लिएर जहाजको टिकट पाएका हुन् ।

असोज ९ देखि आएको अविरल वर्षापछि मुस्ताङ आउजाउ गर्ने सडक क्षतविक्षत् छ । म्याग्दी र पर्वतका विभिन्न ठाउँमा सडक भत्किएपछि सडक सञ्जाल टुटेको छ । विशेषगरी मुस्ताङका नागरिकहरू प्रदेश सदरमुकाम पोखरा आउन पाएका छैनन् । मुस्ताङमा हवाई उडान पनि हुन्छ । यहाँ दुई वटा कम्पनीका जहाजले नियमित उडान भर्छन् ।

तर, जहाजहरूले पाएसम्म विदेशी पर्यटकलाई मात्रै टिकट दिन्छन् । कारण हो, भाडादर । मुस्ताङ–पोखरा रुटमा विदेशी पर्यटकसँग १२ हजारसम्म भाडा लिन्छन् भने नेपालीसँग करिब पाँच हजार मात्रै भाडा लिन पाइन्छ । नेपालीलाई चढाउन नमानेको गुनासो धेरै बढेपछि जिल्ला प्रशासन कार्यालयले कम्पनीहरूलाई कम्तीमा दुई सिट नेपाली यात्रुलाई दिनुपर्ने बाध्यकारी नियम बनाएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार एयरलाइन्सहरूको गैरजिम्मेवार र नाफामुखी प्रवृत्तिका कारण बिरामी र समस्यामा परेका नागरिकहरू सेवाबाट वञ्चित हुनुपरेको छ । ‘एयरलाइन्सहरूको मनपरी छ । विदेशी नागरिक पाए उनीहरूले टिकट दिन्छन्, नेपाली नागरिक गए भने बेवास्ता गर्छन्,’ उनले भने ।

उनका अनुसार बिरामी भएका, असहाय, अशक्त र आफ्ना मान्छे गुमाएर तुरुन्तै पोखरा पुग्नुपर्ने नेपालीलाई उडाउनुपर्ने बेला एयरलाइन्सहरू विदेशीको पैसाको पछि मात्र दौडिएका छन् । कम्पनीको मोनोपोलीमाथि प्रशासनले हस्तक्षेप गरेको उनले बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर जोमसोमबाट हुने प्रत्येक उडानमा कम्तीमा दुई जना नेपाली नागरिकलाई अनिवार्य लैजानुपर्ने नियम बनाइएको उनले सुनाए ।

‘जनताले दुख पाएपछि हामीले नियम मात्रै भनेर बसेनौँ । हस्तक्षेप गरेरै नेपालीलाई पनि अनिवार्य लैजानैपर्ने नियम बनाएका छौँ,’ भण्डारी भन्छन्, ‘प्रशासनले स्क्रिनिङ गरेर वास्तविक बिरामी र असहायलाई मात्र सिफारिस गरेर पठाउने गरेको छ ।’ हाल जोमसोम विमानस्थलबाट तारा एयर र समिट एयरले दैनिक औसतमा १० वटा उडान भर्दै आएका छन् ।

एयरलायन्स कम्पनीले प्रशासनलाई समेत नटेरेपछि प्रशासनले नै पर्यटन मन्त्रालयमा गुनासो गरेको थियो । ‘अस्ति एउटा एयरलाइन्सले बिरामी पठाउँदिनँ भन्यो । त्यसपछि हामीले पर्यटन मन्त्रालयका सहसचिवलाई यहाँको वस्तुस्थिति जानकारी गरायौँ,’ एक कर्मचारीले भने, ‘विपद्को कारण अवस्था नाजुक छ । सडक सम्पर्क छैन । मन्त्रालयमा उजुरी गरेपछि बल्ल उनीहरूले यात्रु उडाउन तयार भए ।’

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन कम्पनीको मनपरी नतोडिए नागरिक उतारेर विमानस्थल बन्द गर्ने चेतावनी दिन्छन् । विमानस्थल यही पालिकामा छ । एयरलाइन्सहरूले संकटको घडीमा डलर र महँगो भाडा तिर्ने विदेशी तथा भारतीय पर्यटकलाई मात्रै प्राथमिकता दिएको गुनासो दिनहुँ आफूहरूले सुन्नुपरेको उनले बताए ।

‘निजी एयरलायन्स भन्दैमा विपद्को बेला जनतामाथि जे मन लाग्यो त्यही गर्न पाइन्छ ? फाइदा भए आउने, नभए नआउने अवस्था छ,’ उनले भने, ‘जनतालाई आपत पर्दा भाउ बढाउने र डलरको पछि लागेर नेपालीलाई जहाज नै चढ्न नदिने ? हामी त अब जोमसोम एयरपोर्टमै गएर झण्डा गाडिदिऊँ र त्यहाँबाट जहाज नै उड्न नदिने बनाइदिऊँजस्तो भइसक्यो ।’ यसबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा राख्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार