नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरियतामा राख्न प्रस्ताव गरेको हो ।
सचिवालय बैठकको प्रस्तावलाई अब ललितपुरको भनिमण्डलमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । केन्द्रीय कमिटीले सचिवालयको सो प्रस्तावलाई अनुमोदन गर्नेछ । एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो ।
त्यो अघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो । सात वर्षभन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनः पार्टी राजनीतिमै आउन चाहेकी थिइन् ।
तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनको पुनः राजनीतिक सक्रियतालाई रोकेका थिए । पार्टीभित्रको सन्तुलनमा पुनः बिग्रिएपछि अध्यक्ष ओली भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार भएका हुन् ।
भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् । तर सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाइनन् । अब अहिले एमालेले गर्ने निर्णयले उनलाई पार्टीमा सक्रिय हुन सहज बनाएको छ । भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसकेकी व्यक्ति हुन् ।
घट्यो बादलको वरीयता
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को वरीयताक्रम घटेको छ । पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहेका बादल तेस्रोमा पुगेका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले विद्यालाई पार्टीको वरिष्ठ सम्मानित नेता बनाउने प्रस्ताव गरेको थियो ।
लगत्तै बिहीबार नै बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो । बादल पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका हुन् । तत्कालीन अवस्थामा एमाले र माओवादी मिलेर नेकपा बने पनि पछि एमाले र माओवादी अलग भएपछि बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतका नेता एमालेतिर बसेका थिए । एमालेमा सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहेका छन् ।
