२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday
गाइनेका कथा

सारङ्गीको धूनमा विकास र चेतना

सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै जाँदा यसले गन्धर्वहरुको पेशालाई किनारा लगाउँदैछ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन २२ गते शुक्रबार

‘अहिले साल पाइन बिदा,
पोल्छ छाती सानीलाई सम्झिँदा ।
राम्री पुल तरने बित्तिकै
बाँचे घर मरे त यत्तिकै ।’

सारङ्गीको धूनमा गन्धर्वले गाउने यस्ता गीत नसुन्ने को नै होला र १ माया प्रेम, मिलन–बिछोड, घर छाडेर परदेश गएकाको दुःख, छोराछोरीलाई सम्झिएर घरमा रोई बस्ने आमाबाबुका बिलौना र लाहुरेको शहादतका वास्तविक घटनालाई गीतमा समेट्ने गन्धर्व समुदायको पुरानै चलन हो ।

त्यसैले त धेरैले सारङ्गी भन्ने बित्तिकै दुःख र बिलौनाको धून सम्झिन्छन् । तर अब भने सारङ्गीमा दुःख र बिलौना मात्र सुनिदैनन् । विकास र समृद्धिका कुराले पनि ठाउँ पाउन थालेका छन् । कोहलपुर–११ का ६२ वर्षीय वीरबहादुर गन्धर्व समाजमा आएको परिवर्तन देखेर सारङ्गीको धून फेर्नुपरेको बताउँछन् ।

उनी भन्छन्, ‘हामी समाजको ऐना हौं । समाजमा जे हुन्छ त्यसलाई गीत बनाउँछौं । त्यसबेलाको समाजमा त्यस्तै दुःख थियो, दुःखकै गीत बने । अहिले धेरैथोक फेरिएको छ, विकास आएको छ । दुःख पनि होला तर, उहिलेजस्तो अहिले छैन, सुख छ । अब यसैलाई गीत बनाउँछौ ।’ विसं २०६६ देखि वीरबहादुर विकास र समृद्धिको चेतना फैलाउने गीत गाउने निचोडमा पुगे । छोराछोरी पढाउनुपर्छ भन्ने सन्देश फैलाउँदै उनले यसरी गीत गाए,

पढ्न पढाउ, ऐ मेरा आमा बाउ
सन्तानलाई निरक्षर नबनाउँ ।
पढाई नै जीवनको सम्पत्ति
यसले रोक्छ जीवनको विपत्ति ।

‘पढाइ जस्तो ठूलो कुरा केही रहेनछ, आफू पढ्न नपाए पनि मैले अरुलाई पढाउनुपर्छ भन्दै गाउँ शहर गाएर हिँडे,’ वीरबहादुर भन्छन् । शिक्षापछि उनले वातावरण जोगाउन आग्रह गर्दै यस्तो गीत गाए ।

रुख रोपौं, वन जोगाउँ हजुर,
हाम्रा वनमा नाँच्ने छन् मजुर ।

उनले भने, ‘सामुदायिक वन जोगाउने विषयमा तालीम दिइएको थियो । तालीम लिएपछि वन जोगाउन आग्रह गर्दै गीत गाउने निष्कर्षमा पुगें । अरुले अरु गरेर वन जोगाउलान् । मैले जे जानेको थिएँ, त्यही गरें ।’ शिक्षा र वन जोगाउने मात्र होइन, खाद्य अधिकारदेखि विकासका बारेमा समेत गीत रचेर गाउन थाले उनले ।

उनको समूहमा दिलबहादुर गन्धर्व, गौरीशंकर गन्धर्व, शेरबहादुर गन्धर्व र प्रेमबहादुर गन्धर्व छन् । सारङ्गीमा नयाँ धून फेरिए पनि गन्धर्वका दुःख भने उस्तै छन् । विकास र समृद्धिका कुरा गर्दै जनचेतना फैलाउँदै हिँड्ने उहाँहरुलाई साँझ बिहानको घर खर्च टार्न मुश्किल छ ।

वन संरक्षणसम्बन्धी जनचेतना फैलाउन सहयोग गरेवापत जिल्ला वन कार्यालय बाँकेले आर्थिक सहयोग गरेको थियो । स्थानीय तहले पनि साथ दिएका छन् तर, नगण्य मात्रामा । आयस्रोतको अन्य विकल्प नहुँदा गीत गाएर जीविकोपार्जन गर्न गन्धर्वहरुलाई मुश्किल छ ।

जनप्रतिनिधिहरुले सहयोगका हात नबढाएका भने होइन । बाँकेका तत्कालिन सांसद महेश्वर गहतराज अथककै पहलमा कोहलपुरमा गन्धर्वहरुका घर बनेका थिए । ‘उहाँले ठूलै सहयोग गर्नुभएको छ,’ दिलबहादुर गन्धर्व भन्छन्, ‘उहाँले अहिले पनि असाध्यै माया गर्नुहुन्छ ।’ दिलबहादुरले गाउने गीतका शब्दहरु राष्ट्रप्रेमले भरिएका हुन्छन्,

राष्ट्रका कथा व्यथा गन्धर्वले गाउने
नेपाली भई नेपालमा बस्ने ठाउँ नपाउने
गन्धर्वको जीवन कथा सारङ्गीमै रुन्छ
भोको पेट नाङ्गो छाती कहिले पूरा हुन्छ ।

सारङ्गी रेटेर ५२ जिल्ला पुगिसकेका दिलबहादुरले भने, ‘न वर्षातको चिन्ता, न उकाली ओरालीको सुर्ता, सबैखाले अफ्ठ्याराहरु पार गर्दै देशका कथा र व्यथा सुनाउन कहिले वल्लो गाउँ त कहिले पल्लो गाउँ चाहारिरहन्छौं ।’ लोप हुन थालेको लोक बाजा सारङ्गीबाट राष्ट्रप्रेमका सन्देश दिँदै गाउँ शहर डुल्दै गरेको बताउँदै प्रेमबहादुर गन्धर्वले यसरी सुनाए,

सम्पत्तिको नाममा हाम्रो यही सारङ्गी बाजा
बज्नै छाड्यो भन्छन् सबले गाउँघरमा आज ।
अशिक्षा र बेरोजगारले पार्नु असर पार्‍यो
यो देशको कानूनले सधैं हामलाई मार्‍यो ।

साँच्चिकै गन्धर्वको सम्पत्ति नै सारङ्गी हो । सारङ्गीले नै गन्धर्वको दैनिकी चल्छ तर, नयाँ पुस्ताले यो पेशाप्रति चासो दिन छाडेपछि अहिले गाउँघरमा सारङ्गी बाजा बज्न छाडेको छ । प्रेमबहादुर भन्छन्, ‘नयाँ पुस्ताले पेशा छोडिसक्यो । सामाजिक रुपमै गन्धर्वलाई तिरस्कार गरिन्छ । त्यसैले पनि नयाँ पुस्ता यो पेशाभन्दा टाढा रहन खोज्यो ।’

पुरानो लोक बाजा सारङ्गी कुनै बेला एउटा गाउँको खबर अर्को गाउँमा पुर्‍याउने माध्यम थियो जतिबेला रेडियो नेपालको समेत स्थापना भएको थिएन । प्रेमबहादुर भने, ‘गाउँमा विद्यालय थिएनन् । रेडियो नेपाल थिएन । पत्रकारजस्तै गाउँगाउँमा खबर पुर्‍याउन गन्धर्वहरु चाहिन्थे ।’

विद्यालय तहमै यसको अध्ययन गराउन सकियो भने पनि यसप्रति गन्धर्व मात्रै होइन अन्य समुदायका विद्यार्थीले पनि यो बाजा सिक्ने अवसर पाउने र यसको संरक्षणमा थप टेवा पुग्ने शेरबहादुर गन्धर्वको भनाइ छ । उनले भने, ‘यसो भइदिए विद्यालय तहबाटै यस्ता मौलिक लोकबाजाहरुको संरक्षणमा सघाउ पुर्‍याउँछ ।’

सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै जाँदा यसले गन्धर्वहरुको पेशालाई किनारा लगाउँदैछ । कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउँछन् ।

आफ्नो पेशासँगै मौलिक लोक बाजा सारङ्गीको संरक्षण अभियानमा जुटिरहेका गौरीशंकर गन्धर्वले भने, ‘बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुल्न थालेपछि हो वा पुर्ख्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व निरन्तर घटिरहेका छन् ।’

गौरीशंकरका अनुसार देशभर करीब ४० जना जति गन्धर्वहरु छन् जो संरक्षणको अभियानमा निरन्तर लागिरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै गीत पनि परिवर्तन गरेको उनी बताउछन् ।

गन्धर्वको जीवन सारङ्गीमै रुन्छ, गन्धर्वहरु सारङ्गीमा रुन्छन् र अरुलाई रुवाउँछन् । सधैं सारङ्गीमै रुने गन्धर्वहरुले आफ्नो स्थायी बास, गाँस र कपासको कहिल्यै वास्ता गरेनन् । ‘सारङ्गीमै रुन्छौं, सारङ्गीमै अरुलाई रुवाउँछौं, हामीलाई आफ्नो गाँस, बास र कपासको वास्ता भएन तर, हामीलाई राज्यले केही दिएन,’ गौरीशंकरले भने ।

नेपाली लोकगीत तथा लोक सङ्गीतमा नभई आधुनिकताका नाममा उच्छृङ्खलता भित्रिएको उनको भनाइ छ । स्थानीय तह र गैरसरकारी संस्थासँग गन्धर्वहरुको एउटा अपेक्षा छ । त्यो हो, जनचेतनामूलक कार्यक्रममा सहभागिता ।

‘जनचेतना फैलाउन हाम्रा गीत र सारङ्गीको धून अरु कुनै कुराभन्दा कम प्रभावकारी छैन,’ गौरीशंकर भन्छन्, ‘आउनुहोस्, हातेमालो गरौं । हामीलाई पनि राम्रो, तपाईहरुलाई पनि राम्रो ।’ सरकारले लोकबाजाको संरक्षणका लागि विशेष पहल गरिदेओस् भन्ने माग उनीहरुको छ ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार