२०८३ साउन २४ , आइतबार 9, August 2026, Sunday

घरजग्गा कारोबार : काठमाडौंमा बढ्यो, मधेस र नेपालगन्जमा सुस्तायो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २३ गते मंगलबार

लामो समयदेखि सुस्त बनेको घरजग्गा बजारमा पुनः चलायमान हुने सङ्केत देखिएको छ । ब्याजदरमा आएको कमी, बैङ्किङ प्रणालीमा बढ्दो तरलता र लगानीकर्ताको विश्वास फर्किन थालेसँगै चालु आवको तेस्रो त्रैमाससम्म घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको राष्ट्र बैङ्कको प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आव २०८२–०८३ को तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबार सम्बन्धी प्रतिवेदनले देशभर घरजग्गा बजारमा सुधारको सङ्केत देखाएको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदन अनुसार घरजग्गा क्षेत्रमा तुलनात्मक रूपमा उत्साहजनक देखिएको हो ।

राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा लिखत पारित अन्तर्गतको कारोबार सङ्ख्या ०.६२ प्रतिशतले बढेको छ भने राजीनामा मार्फत भएका कारोबार १२.१७ प्रतिशतले वृद्धि भएका छन् । कारोबार भएको कुल क्षेत्रफल (एरिया अफ ट्रान्ज्याक्सन) समेत १.६० प्रतिशतले बढेको छ; जुन अघिल्लो वर्ष सोही अवधिमा यस्तो क्षेत्रफल १०.८६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा देशभर एक खर्ब २६ अर्ब बराबरको घरजग्गा कारोबार भएको छ । गत वर्षको यसै अवधिमा एक खर्ब सात करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । घरजग्गा क्षेत्रमा प्रवाह भएको बैङ्क तथा वित्तीय संस्थाको कर्जा (आवासीय घरजग्गा कर्जासहित) पनि ५.५५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा वृद्धिदर ५.५२ प्रतिशत रहेको थियो ।

घरजग्गा कारोबारबाट सङ्कलित राजस्व २३.३२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर सङ्कलन ३१.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्रियस्तरको तथ्यांकले समीक्षा अवधिमा घरजग्गाको कुल कारोबार रकम एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कारोबार बढेसँगै सरकारलाई प्राप्त हुने राजस्वमा पनि उल्लेख्य सुधार आएको छ । प्रतिवेदनले मुलुकको घरजग्गा बजारमा क्षेत्रीय खाडल देखाएको छ ।

समग्र राष्ट्रिय सूचकहरू सकारात्मक देखिए पनि प्रादेशिक र शहरगत आधारमा घरजग्गाको कारोबारमो उतारचढाव देखिएको छ । तथ्यांक अनुसार वाग्मती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या ३३.०१ प्रतिशतले बढेको छ, जुन सातै प्रदेशमध्ये सबैभन्दा उच्च हो । तर, यस विपरीत मधेस प्रदेशमा कारोबार संख्या ४.९७ प्रतिशतले घटेको छ । कारोबार भएको कुल क्षेत्रफलको आधारमा पनि मधेस प्रदेशमा ९.३३ प्रतिशतको कमी देखिएको छ, जबकि गण्डकी प्रदेशमा यस्तो क्षेत्रफल २४.५४ प्रतिशतले बढेको छ ।

काठमाडौंमा किन बढ्यो घरजग्गा कारोबार ?

शहरगत रूपमा हेर्दा काठमाडौं महानगरपालिकामा घरजग्गाको आकर्षण बढेको देखिएको छ । यस अवधिमा काठमाडौंमा कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले बढेको छ । यस्तै, काठमाडौंमा कारोबार भएको कुल क्षेत्रफल पनि ११९.९६ प्रतिशतले बढेको छ । ‘ललितपुर र पोखरा महानगरमा पनि कारोबार संख्या क्रमशः ७३.४१ र ८२.१५ प्रतिशतले बढेर बजारलाई चलायमान बनाएका छन्,’ उक्त प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, उपमहानगरपालिकाहरूको तथ्यांकले लगानीको नयाँ गन्तव्य बुटवल र तुलसीपुरतर्फ मोडिएको देखिन्छ । तुलसीपुर उपमहानगरपालिकामा कारोबार मूल्य १३४.४६ प्रतिशतले र बुटवलमा कारोबार संख्या ५६.७९ प्रतिशतले बढेको छ । अर्कोतर्फ, केही शहरहरूमा भने मन्दी देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल ६८.२९ प्रतिशतले घटेको छ भने कलैयामा कारोबार संख्या ६.९५ प्रतिशतले ओरालो लागेको छ ।

साना प्लटमा आकर्षण

घरजग्गा कारोबारमा अहिले ठूला कित्ताभन्दा साना कित्तामा लगानीकर्ताको आकर्षण देखिएको छ । सातै प्रदेशमा २.५ आनादेखि १० आनासम्मका प्लटहरूको कारोबार सबैभन्दा धेरै भएको प्रतिवेदनले देखाएको छ । घरजग्गाको यो बढ्दो चहलपहलले सरकारलाई भने राहत मिलेको छ ।

कारोबारमा आएको सुधारका कारण पुँजीगत लाभकर ३१.४२ प्रतिशतले वृद्धि भई सरकारी राजस्व संकलनमा २३.७२ प्रतिशतको सुधार आएको छ । बैंकिङ क्षेत्रबाट प्रवाह हुने घरजग्गा कर्जामा पनि ५.५५ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । यसर्थ पछिल्लो तथ्यांकले घरजग्गा कारोबारमा बिस्तारै लयमा फर्कन थालेको राष्ट्र बैंकको प्रतिवेदनबाट अनुमान गर्न सकिन्छ ।

बागमतीमा उच्च, मधेशमा गिरावट

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गा कारोबार सङ्ख्या सबैभन्दा धेरै ३८.०९ प्रतिशतले बढेको छ । यता मधेश प्रदेशमा भने कारोबार सङ्ख्या ८.५१ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा कारोबार सङ्ख्या वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.६८ प्रतिशत वृद्धि भएको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको छ । घरजग्गा कारोबारको कुल मूल्य भने सात वटै प्रदेशमा बढेको छ । यसमध्ये बागमती प्रदेशमा १३१.१२ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

काठमाडौँमा दोब्बरभन्दा बढी कारोबार

महानगरपालिकास्तरमा काठमाडौँ महानगरपालिकामा घरजग्गा कारोबार सङ्ख्या १०८.६२ प्रतिशतले बढेको छ । त्यसपछि पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुर महानगरपालिकामा ७३.६१ प्रतिशत, वीरगन्ज महानगरपालिकामा ३१.०७ प्रतिशत, भरतपुर महानगरपालिकामा २९.२१ प्रतिशत र विराटनगर महानगरपालिकामा २०.१२ प्रतिशतले वृद्धि भएको छ ।

महानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल र कुल मूल्य दुवैमा वृद्धि भएको देखिएको छ । काठमाडौँ महानगरपालिकामा कारोबारको कुल मूल्य २२३.२१ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै समीक्षा अवधिमा ११ वटा उपमहानगरपालिकामध्ये अधिकांशमा घरजग्गा कारोबार सङ्ख्या बढेको छ । बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै ५६.७९ प्रतिशत वृद्धि भएको छ । तुलसीपुर उपमहानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल ४२.७६ प्रतिशतले बढेको छ भने कुल कारोबार मूल्य १३४.४६ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार