फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा दिनहुँ देखिने ‘चमत्कारी औषधि’का विज्ञापन अब सरकारी निगरानीको घेरामा परेका छन् । ‘एक सातामै कपाल उम्रिन्छ’, ‘३० दिनमै तौल घट्छ’, ‘किड्नी सफा हुन्छ’, ‘नसा र हड्डीको पुरानो रोग निको हुन्छ’ जस्ता आकर्षक दाबी गर्दै सर्वसाधारणलाई भ्रममा पार्ने विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ ।
विज्ञापन बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गर्दै वैज्ञानिक आधार, आधिकारिक स्वीकृति तथा आवश्यक प्रमाणीकरणबिनै सामाजिक सञ्जालमा औषधिजन्य पदार्थ र स्वास्थ्यसम्बन्धी सामग्रीको प्रचार–प्रसार बढ्दै गएको भन्दै यस्तो गतिविधि कानुनविपरीत भएको स्पष्ट पारेको हो ।
बोर्डले यस्ता भ्रामक विज्ञापन तत्काल बन्द गर्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिँदै अटेर गरे कानुनी कारबाही गरिने जनाएको छ । यसअघि सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले पनि सामाजिक सञ्जालमार्फत भइरहेको झुटा तथा भ्रामक विज्ञापनमाथि कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। त्यसपछि विज्ञापन बोर्ड सक्रिय बनेको देखिएको छ ।
‘ठगीको बजार’ बन्दै सामाजिक सञ्जाल
पछिल्ला केही वर्षयता सामाजिक सञ्जाल स्वास्थ्यसम्बन्धी भ्रामक सामग्रीको ठूलो माध्यम बनेको छ। चिकित्सकको परामर्शबिना रोग निको हुने दाबी गर्ने उत्पादनदेखि कपाल उमार्ने तेल, मोटोपन घटाउने पाउडर, शरीरको विषाक्त पदार्थ हटाउने औषधि, किड्नी र कलेजो सफा गर्ने भनिएका सामग्री तथा यौनशक्ति बढाउने दाबी गरिएका उत्पादनहरू व्यापक रूपमा प्रचार हुँदै आएका छन् ।
धेरै विज्ञापनमा ‘१०० प्रतिशत ग्यारेन्टी’, ‘डाक्टरले प्रमाणित गरेको’, ‘विदेशबाट आयात गरिएको’, ‘एक लाखभन्दा बढी ग्राहक सन्तुष्ट’जस्ता दाबी गरिन्छ । तर ती दाबी पुष्टि गर्ने कुनै वैज्ञानिक अध्ययन, आधिकारिक अनुमति वा प्रमाणपत्र भने प्रस्तुत गरिएको हुँदैन । उपभोक्ता अधिकारकर्मीहरूका अनुसार यस्ता विज्ञापनको मुख्य उद्देश्य बिरामी, वृद्धवृद्धा तथा स्वास्थ्य समस्याले पीडित व्यक्तिको मनोवैज्ञानिक कमजोरीको फाइदा उठाएर आर्थिक लाभ लिनु हो ।
जनस्वास्थ्यमा गम्भीर खतरा
विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जालमार्फत भइरहेका यस्ता गतिविधिले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्याइरहेको छ । बोर्डमा प्राप्त उजुरीहरूमा विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार गरेर सर्वसाधारणलाई ठगी गरिएको, गलत उपचारतर्फ आकर्षित गरिएको तथा स्वास्थ्यमा नकारात्मक असर परेको उल्लेख छ ।
विशेषज्ञहरूका अनुसार कुनै पनि रोगको उपचारसम्बन्धी दाबी वैज्ञानिक परीक्षण र नियामक निकायको स्वीकृतिबिना गर्न पाइँदैन। तर सामाजिक सञ्जालमा अधिकांश विज्ञापनले यस्ता आधारभूत मापदण्ड नै उल्लंघन गरिरहेका छन् । स्वास्थ्य क्षेत्रका जानकारहरू भन्छन्, ‘भ्रामक विज्ञापनले बिरामीलाई सही उपचारबाट टाढा लैजान्छ। कतिपयले चिकित्सकको सल्लाह छाडेर सामाजिक सञ्जालमा देखिएका उत्पादन प्रयोग गर्दा अवस्था झन् जटिल बन्न सक्छ ।’
कानुनले के भन्छ ?
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले झुटा, भ्रामक, अतिरञ्जित तथा उपभोक्तालाई भ्रममा पार्ने विज्ञापन गर्न निषेध गरेको छ। कुनै पनि उत्पादनको गुण, प्रभावकारिता वा परिणामबारे गलत जानकारी दिनु कानुनविपरीत मानिन्छ ।
बोर्डले जारी गरेको सूचनामा विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्तासमेतलाई कानुनको पालना गर्न सचेत गराइएको छ । बोर्डका अनुसार उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा आर्थिक हितमा असर पुर्याउने विज्ञापन प्रकाशन वा प्रसारण गर्ने व्यक्ति तथा संस्थामाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइनेछ ।
चिकित्सकको सिफारिसबिना बिक्री नहुने औषधिसमेत प्रचारमा
विज्ञापन बोर्डले चिकित्सकको सिफारिसमा मात्र बिक्री–वितरण गर्न मिल्ने औषधिको समेत सामाजिक सञ्जालमा खुलेआम विज्ञापन भइरहेको विषयमा गम्भीर चासो व्यक्त गरेको छ । औषधि व्यवस्था ऐन तथा अन्य सम्बन्धित कानुनअनुसार केही औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न पाइँदैन ।
तर सामाजिक सञ्जालमा यस्ता औषधिलाई चमत्कारी उपचारका रूपमा प्रस्तुत गर्दै अनलाइन अर्डर लिनेसम्मका गतिविधि भइरहेका छन् । यसले औषधिको दुरुपयोग बढ्नुका साथै गलत प्रयोगबाट गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने जोखिम रहेको विज्ञापन बोर्डको निष्कर्ष छ ।
‘भाइरल मार्केटिङ’को जालो
डिजिटल बजार विस्तारसँगै भ्रामक विज्ञापनको स्वरूप पनि फेरिएको छ । अहिले धेरै व्यवसायीले ‘इन्फ्लुएन्सर मार्केटिङ’, नक्कली ग्राहक प्रतिक्रिया, कृत्रिम ‘बिफोर–आफ्टर’ तस्बिर तथा सम्पादित भिडियो प्रयोग गरेर उत्पादनको प्रचार गरिरहेका छन् ।
कतिपय विज्ञापनमा चिकित्सक जस्तो देखिने व्यक्तिलाई प्रयोग गरिन्छ भने कतिपयमा विदेशी अनुसन्धानको नाम लिएर सर्वसाधारणलाई प्रभावित पार्ने प्रयास गरिन्छ । तर तीमध्ये धेरै सामग्रीको सत्यता पुष्टि हुँदैन । विज्ञापन र उपभोक्ता अधिकार सम्बन्धी जानकारहरूका अनुसार डिजिटल प्लेटफर्ममा निगरानी कमजोर हुँदा यस्ता सामग्री तीव्र रूपमा फैलिने गरेका छन् ।
उजुरी गर्न बोर्डको आग्रह
विज्ञापन बोर्डले कानुनविपरीत कुनै पनि विज्ञापन देखिएमा तत्काल बोर्डमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । प्राप्त उजुरीका आधारमा अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।
बोर्डका अनुसार आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधि वा स्वास्थ्य सम्बन्धी सामग्रीको प्रचार–प्रसारले भ्रम र अफवाह फैलाउने मात्र होइन, गलत उपचारतर्फ आकर्षित गरेर जनस्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ ।
अब कति प्रभावकारी हुन्छ कारबाही ?
सरकारले यसअघि पनि पटक–पटक भ्रामक विज्ञापन नियन्त्रणको प्रतिबद्धता जनाएको थियो । तर सामाजिक सञ्जालमा झुटा दाबी गर्ने विज्ञापनको संख्या घटेको देखिएको छैन । यसपटक भने सञ्चार मन्त्रालयको प्रत्यक्ष चासो र विज्ञापन बोर्डको चेतावनीपछि नियमन प्रभावकारी हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ ।
यद्यपि विज्ञापन बोर्डले स्पष्ट सन्देश दिएको छ, ‘सामाजिक सञ्जाललाई झुटा आश्वासन, चमत्कारी उपचार र आर्थिक ठगीको माध्यम बनाउन खोज्नेहरू अब कानुनी कारबाहीबाट बच्न सक्ने छैनन् । जनस्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने संकेत सरकारको पछिल्लो कदमले दिएको छ ।’
सत्यपाटी