२०८३ असार ५ , शुक्रबार 19, June 2026, Friday

बाल्यकालको सक्रियता नै स्वस्थ भविष्यको आधार

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ४ गते बिहीबार

विश्वव्यापी रूपमै बालबालिकाहरू पहिलेको तुलनामा कम सक्रिय रहने गरेका छन् । त्यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ । हरेक १० बालबालिका र किशोरकिशोरीमध्ये एक जनामा मोटोपनको समस्या भएको भनिएका बेला निष्क्रियतासम्बन्धी रिपोर्ट आएको हो ।

एकै ठाउँमा बसेर काम गर्ने समय बढ्नु, तनाव, खानाको गुणस्तर र खेलकुदमा कम सहभागिताले यस्तो अवस्था आउन भूमिका खेलेको बताइएको छ । खुसीको कुरा के हो भने केले गर्दा बालबालिका निष्क्रिय भइरहेका छन् भन्ने पत्ता लगाएपछि उनीहरूलाई सक्रिय बनाउन प्रोत्साहन गर्ने उपाय पनि फेला पर्छन्, जसले उनीहरूलाई अहिले र भविष्यमा पनि सहयोग गर्ने छ ।

वास्तवमा उनीहरूका शारीरिक र सङ्ज्ञानात्मक स्वास्थ्यमा सुधार गर्न व्यावहारिक र प्रभावकारी उपायहरू विद्यमान छन् भन्ने प्रमाणहरू छन् । सुझाव दिइए अनुसार बालबालिकाले हरेक दिन कम्तीमा पनि ६० मिनेट शारीरिक गतिविधि गर्नुपर्ने हुन्छ । कैयौँले त्यति समय पनि शारीरिक गतिविधि गर्दैनन् । यसले दीर्घकालीन असर पर्न सक्छ ।

किनभने बाल्यकालमा कम शारीरिक गतिविधि गर्नेहरू वयस्क हुँदा पनि कम गतिविधि गर्ने हुन सक्छन् ।बाल्यकालमा सक्रिय रहने बालबालिकाहरू वयस्क हुँदा पनि सक्रिय रहने सम्भावना रहन्छ । एउटा अध्ययन ७१२ जना दोस्रो विश्वयुद्ध लडेका भूतपूर्व सैनिकहरूको ५० वर्षको गतिविधिमा केन्द्रित गरिएको थियो ।

उनीहरूमध्ये माध्यमिक तहमा खेलकुदमा भाग लिनेहरू वृद्ध उमेरमा पनि सक्रिय रहने गरेका पाइयो । खेलकुदमा सक्रिय रहने मानिसहरू डाक्टरकहाँ पनि कमै जानुपर्ने अवस्था आउने गरेको पाइयो । अनेकौँ अध्ययनले त्यस्तै परिणाम देखाएका छन् । बाल्यकालमा गरिने व्यायामले दीर्घकालीन रूपमा स्वास्थ्य राम्रो हुने गरेको पाइयो ।

जो खेलकुदमा सक्रिय हुन्छन्, उनीहरूका बडी मास इन्डेक्स (बीएमआई) पनि कम हुने गरेको पाइयो । उनीहरूको कम्मर पातलो हुने गर्छ, उनीहरूको मानसिक स्वास्थ्य राम्रो रहन्छ । उनीहरूले पढाइमा र सङ्ज्ञानात्मक कुराहरूमा पनि राम्रो प्रगति गर्न सक्छन् ।

सङ्ज्ञानात्मक फाइदा – शारीरिक व्यायाम गरेकै क्षणमा पनि फाइदाकारी हुने पाइएको छ । निकोल लोगन युनिभर्सिटी अफ रोड आइल्यान्ड अमेरिकामा किनेसियोलोजीकी प्राध्यापक भन्छिन्, ‘त्यसले उनीहरूको शरीरको बनावटमा सुधार ल्याउँछ तथा किशोरावस्थामा उनीहरूको सङ्ज्ञानात्मक क्रियाकलाप सकारात्मक बनाउन मद्दत गर्छ ।’

उनी भन्छिन्, ‘हामी जति बढी शारीरिक गतिविधि गर्छौँ, त्यसले त्यति नै हृदय र श्वासप्रश्वास सम्बन्धी तन्दुरुस्ती कायम हुन्छ र त्यो हाम्रो मस्तिष्कका लागि पनि उपयोगी हुन्छ ।’ यी फाइदाहरूका कारण बालबालिका र किशोरकिशोरीहरूलाई शारीरिक गतिविधि बढाउन र एकै ठाउँमा बसिरहने स्थिति कम गर्ने बारेमा अनुसन्धानकर्ताले ध्यान केन्द्रित गरेको विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाले जनाएका छन् ।

उदाहरणका लागि एउटा नौ महिना लामो ‘आफ्टर स्कूल’ गतिविधिमा सहभागी नभएका बालबालिकाका तुलनामा सहभागी हुने बालबालिकामा सङ्ज्ञानात्मक ज्ञान राम्रो भएको पाइयो । त्यो शारीरिक गतिविधिका कारण शरीरको बोसो घटाउन सहयोग पुगेको पाइयो, जसका कारण पनि सङ्ज्ञानात्मक क्षमता बढेको लोगनको विश्लेषण छ ।

लोगनको प्रस्ताव छ, विद्यालयहरूले ६० मिनेटको गतिविधि हरेक दिन गराउने व्यवस्था कार्यान्वयन गर्नुपर्छ ताकि बुवाआमामाथि खेलमाथिको पहुँच बढाउनका लागि हुने कार्यभार हटोस्, जुन महँगो र समय लाग्ने पनि छ ।

एक ठाउँमा बसिरहन रोक्ने – शारीरिक गतिविधि बढाउने भनेको कुनै संरचनामा निश्चित गरिएको खेलकुद हुनुपर्छ भन्ने पनि छैन । म्यासाचुसेट्स अमेरिकामा गरिएको एक अध्ययनमा प्रारम्भिक स्कूलका बच्चाहरूलाई स्कूल जानुअघि, स्कूलमा भएका बखत र स्कूलबाट बाहिरिएपछिको समयमा शारीरिक गतिविधिका अवसरमा भएमा र बालबालिकालाई स्वास्थ्यकर खानेकुरा खुवाएमा उनीहरूको बीएमआई कम हुने पाइएको छ ।

यो अध्ययनमा सहभागी बालबालिका अध्ययन अघिको एक वर्षमा कुनै पनि किसिमको खेलकुदमा सहभागी भएका थिएनन् । ‘बच्चाहरूमा मोटोपन हुन नदिन सहयोग गर्न सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरूलाई स्वस्थकर खानाको वातावरण उपलब्ध गराउनु हो, उनीहरूको स्क्रीन टाइम सीमित गरेर शारीरिक गतिविधि बढाउनु हो,’ युनिभर्सिटी अफ कोपेनहागेनमा डिपार्टमेन्ट अफ हेल्थकी क्लिनिकल प्रोफेसर उला टफ्ट भन्छिन् ।

उनले खानेकुरा शारीरिक गतिविधि, स्क्रीन प्रयोग र सुताइमा केन्द्रित भएर डेनमार्कमा मोटोपन भएका व्यक्तिहरूका लागि कस्तो किसिमको कार्यक्रम गर्न सकिन्छ भन्नेबारे ठूलो आकारको अनुसन्धान गर्दैछिन् । स्कूलमा गरिएका विभिन्न हस्तक्षेप कार्यक्रमले राम्रो परिणाम देखाएका पनि छन् । एउटा पछिल्लो अध्ययनमा शिक्षकहरूलाई बसिरहने समय घटाउन प्रोत्साहन गरिएको थियो ।

त्यसमा कम्मर र हिपको अनुपात आठ प्रतिशतले घटाउन सहयोगी भएको पाइयो ।सहभागी भएका बालबालिकामा १० प्रतिशतले खेलकुदमा सहभागी हुने सङ्ख्या बढेको पाइयो । अध्ययनमा शिक्षकहरूलाई प्रश्नको जबाफ उठेर दिन र कक्षा कोठामा सामान्यभन्दा बढी हलचल गर्न अर्थात् उठेर यताउता गर्न भनिएको थियो ।

युनिभर्सिटी कलेज लन्डनको इन्स्टिट्यूट अफ स्पोर्ट एक्सरसाइज एन्ड हेल्थ सम्बद्ध तथा यो अध्ययनकी प्रमुख लेखक फ्लेमिनिआ रोन्काले भनिन्, ‘त्यो हस्तक्षेप व्यायामबारे थिएन, बरु एकै ठाउँमा निरन्तरको बसाइ कम गर्नुबारे थियो ।’ उनका अनुसार बच्चाहरू दिनको अधिकांश समय एक ठाउँमा बसिरहन्छन् । तर उनीहरूलाई सिर्जनात्मक उपाय लगाएर हिँड्न लगाइयो भने उनीहरूको स्वास्थ्य राम्रो हुन सक्छ ।

अभिभावकको सहयोग – त्यस्ता गतिविधिले दीर्घकालीन प्रभाव पर्छ कि पर्दैन भन्ने स्पष्ट छैन । रोन्का भन्छिन्, बाल्यकालमै स्वस्थकर बानीबेहोरा हुनुले दीर्घकालीन फाइदा हुन सक्छ । अन्य अध्ययनले देखाएअनुसार नै बालबालिकाहरू जति सक्रिय हुन्छन्, त्यति नै उनीहरू सङ्ज्ञात्मक काममा छिटो प्रतिक्रिया दिन सक्ने हुन्छन् । फलोअप अनुसन्धानमा एकपटक गरिने ३० मिनेट लामो शारीरिक गतिविधिले पनि बालबालिकाको सङ्ज्ञात्मक शक्तिलाई सहयोग गरेको पाइयो ।

बालबालिका किशोरावस्थामा प्रवेश गर्दा खास गरी किशोरीहरूले गर्ने शारीरिक गतिविधि धेरैजसो कम हुँदै जान्छ । त्यस्तोमा बाबुआमाको सहयोगले काम गर्न सक्छ । अमेरिकामा गरिएको एउटा सर्भेले बालबालिका र तिनका बुवाआमामा गरिएको सर्भेले बुवाआमाले सहयोग गरेका किशोरीहरूमा विभिन्न शारीरिक गतिविधिमा सहभागी भइरहेको पाइयो ।

त्यसै गरी बालबालिकाले आफ्ना वरिपरि रहेका वयस्कहरूबाट पनि सिक्छन् । अनुसन्धानहरूले देखाएका छन् कि जसका बुवाआमा सक्रिय रहन्छन्, तिनका बालबच्चा पनि सक्रिय रहने सम्भावना धेरै हुन्छ र कतिपय सन्दर्भमा यदि बुवाआमाले छोराछोरीसँगै कसरत गरेको पनि पाइन्छ । त्यो भनेको स्थानीय पार्कमा साइकल चलाउने वा छोटो जगिङमा जाने पनि हुन सक्छ ।

बढ्दो आत्मविश्वास – बच्चाहरूको हिँडडुल गरिरहेका बेला उनीहरूले कस्तो महसुस गर्छन् भन्ने थाहा पाउनुले पनि शारीरिक गतिविधि बढाउन सहयोग गर्छ । स्वानसी विश्वविद्यालय यूकेको मेडिकल स्कूल यूकेकी मिसेला जेम्सले भनिन्, ‘जब बालबालिकाहरू आफ्नो शारीरिक गतिविधिबारे आत्मविश्वासी र दक्ष हुन्छन्, त्यसले उनीहरूको स्वास्थ्य पनि राम्रो बनाउँछ ।’

उनको भनाइ छ, ‘कैयौँ स्कूलले निश्चित संरचनाका शारीरिक गतिविधिमा अत्यधिक ध्यान दिएका हुन्छन् । तर त्यस्ता गतिविधिमा कैयौँ बालबालिका आफूलाई संलग्न नगराइएको महसुस गर्छन् र त्यसले उनीहरूको आत्मविश्वासलाई प्रभावित गर्न सक्छ । बच्चाहरूलाई सहभागी हुन धेरै थरिका उपायहरू उपलब्ध गराउने हो भने त्यो जीवन परिवर्तन गर्ने किसिमको मौका बन्न सक्छ ।’

‘ल जे मन लाग्छ गर भनेर छोड्दा अस्तव्यस्त स्थिति बन्न सक्छ । तर त्यसले बच्चाको हुर्काइमा तथा दयालु मानव बनाउनमा ठूलो भूमिका खेल्न सक्छ,’ उनी भन्छिन् । अनौपचारिक शारीरिक गतिविधि सहज किसिमका हुनुपर्छ, सक्रिय गतिविधि गर्नका लागि समय छुट्ट्याइदिनुपर्छ र सजायस्वरूप ब्रेक समय नहटाउने कुरा निश्चित गर्नुपर्छ, जुन केही स्कूलहरूले बानीमा सुधारका लागि सजाय दिने उपायका रूपमा अवलम्बन गर्ने गर्छन् ।

स्वतन्त्र रूपमा जे मन लाग्छ त्यो खेल्न पाउने गरी सिर्जनात्मक रूपमा खेल मैदानहरू बनाउने हो भने बालबालिकामा शारीरिक गतिविधि बढ्न सक्छ । रूख चढ्ने वा यताउता दौडने वा अन्य खेल खेल्ने सबै गतिविधि महत्त्वपूर्ण हुन्छन् भन्ने बुझ्नुपर्ने जेम्स बताउँछिन् । उनी भन्छिन्, ‘त्यो भनेको बालबालिकाले जे गर्न मन पराउँछन्, त्यसलाई महत्त्व दिने भन्ने हो ।’

प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार