२०८३ जेठ २७ , बुधबार 10, June 2026, Wednesday

आधुनिकतातर्फ बाँकेका किसान, ‘बोनस’ बन्दै चैते धान

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ २७ गते बुधबार

बाँकेको जानकी गाउँपालिका–२ का कृपाराम बर्मा केही वर्ष अघिसम्म वर्षमा दुई बाली मात्र उत्पादन गरेर जीविका चलाउँदै आएका थिए । तर अहिले उनी परम्परागत खेतीबाट बाहिर निस्केर आधुनिक प्रविधि र उन्नत बीउ प्रयोग गर्दै वर्षमा तीन बाली उत्पादन गर्न थालेका छन् ।

गहुँ वा तोरीपछि खाली रहने समयमा लगाइने चैते धानले किसानलाई अतिरिक्त आम्दानी दिलाउन थालेको छ । ‘चैते धान हाम्रो लागि बोनस जस्तै हो,’ बर्मा भन्छन् । उनले यस वर्ष १० कठ्ठा जमिनमा पहिलो पटक चैते धान लगाएका छन् ।

यस्तै, बनकटवाका किसान साबित राम खटिकले पनि चैते धानबाट उत्पादन र आम्दानी दुवै बढेको बताएका छन् । पहिले खाद्यान्न किन्नुपर्ने बाध्यता रहेकोमा अहिले बर्खे धानभन्दा पनि बढी उत्पादन लिन थालेको उनको भनाइ छ ।

गाउँपालिकाका अनुसार सिँचित क्षेत्र विस्तार कार्यक्रममार्फत चैते धान खेतीलाई प्रोत्साहन गरिएको छ । कृषि शाखा प्रमुख मनोज मण्डलका अनुसार यस वर्ष पालिकामा करिब ५५ कठ्ठा क्षेत्रमा चैते धान खेती विस्तार गरिएको छ । किसानहरूले चैते–४, चैते–५, हरदिनाथ–१ र हरदिनाथ–४ जातका बीउ प्रयोग गरिरहेका छन् ।

पालिकाले अनुदान, बिउ, उपकरण र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँले चैते धान सामान्य धानभन्दा करिब डेढ गुणा बढी उत्पादन दिने दाबी गर्दै सिँचाइ विस्तार र बोरिङ व्यवस्थापनका लागि पहल भइरहेको बताए । तर, सिँचाइ र विद्युत आपूर्तिको समस्या अझै प्रमुख चुनौतीका रूपमा देखिएको छ ।

किसानका अनुसार न्यून भोल्टेजका कारण समयमै सिँचाइ गर्न कठिनाइ भइरहेको छ । स्थलगत अनुगमनपछि स्थानीय तहले बोरिङ विस्तार र सिक्टा सिँचाइ प्रणालीलाई गाउँपालिकासम्म विस्तार गर्ने योजना अघि सारेको छ । समस्या समाधान भए जानकी गाउँपालिका चैते धान उत्पादनको प्रमुख क्षेत्र बन्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार