२०८३ जेठ १८ , सोमबार 1, June 2026, Monday

बाल गीत ‘ज्ञानी ज्ञानी’ गीत सार्वजनिक (भिडियोसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ १८ गते सोमबार

आजका नानीबाबुहरू नै भोलिका देशका कर्णधार हुन् । तिनै कर्णधारहरूलाई कला र संगीतको माध्यमबाट असल संस्कार, अनुशासन र सकारात्मक सोच सिकाउने उद्देश्यका साथ नयाँ नेपाली बाल गीत ‘ज्ञानी ज्ञानी’ बजारमा सार्वजनिक भएको छ । मनोरञ्जनका साथै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्याउने हेतुले निर्माण गरिएको यो गीतले सार्वजनिक भएसँगै संगीतप्रेमीहरूको ध्यान खिचिरहेको छ ।

यस बाल गीतमा कृतिमा पाण्डेको सुमधुर आवाज सुन्न सकिन्छ । सानै उमेरमा लोभलाग्दो गायकी प्रस्तुत गरेकी कृतिमाको स्वरले गीतलाई अझ जीवन्त बनाएको छ । गीतका शब्दहरू गीतकार ङावा फिन्जु पाख्रिनले कोरेका हुन् । बालबालिकाले सजिलै बुझ्न सक्ने, गुन्गुनाउन सक्ने र व्यवहारमा उतार्न सक्ने सरल तर अर्थपूर्ण शब्द संयोजन पाख्रिनको रहेको छ । त्यस्तै, गीतमा रामचन्द्र रिमालले सङ्गीत भरेका छन् ।

रिमालको आकर्षक र कर्णप्रिय संगीतले गीतलाई बालबालिका मात्र नभई हरेक उमेरसमूहका दर्शक–श्रोताका लागि सुन्नलायक बनाएको छ । निर्माण टिमका अनुसार ‘ज्ञानी ज्ञानी’ केवल एउटा गीत र मनोरञ्जनको साधन मात्र होइन । यो बालबालिकाहरूमा सकारात्मक सोच, मान्यजनप्रतिको सम्मान, अध्ययनप्रतिको लगाव र असल व्यवहारको विकास गर्ने एउटा सानो प्रयास हो ।

संगीतकार रामचन्द्र रिमाल भन्छन्, ‘आजको डिजिटल युगमा बालबालिकाहरूमाझ विदेशी र उमेर अनुकूल नभएका कन्टेन्टहरूको प्रभाव बढिरहेका बेला, आफ्नै नेपाली भाषा र संस्कृति झल्कने यस्ता बाल गीतहरूले उनीहरूलाई सही मार्गदर्शन गर्न मद्दत पुग्नेछ ।’ यस गीतले विद्यालय जाने उमेरका नानीबाबुहरूलाई मात्र नभएर अभिभावक, शिक्षक तथा सम्पूर्ण समाजलाई नै बालबालिकाको सही पालनपोषण र मार्गदर्शनका लागि थप प्रेरणा दिने विश्वास गरिएको छ । बालबालिकालाई संगीतको माध्यमबाट सिकाउँदा उनीहरूले चाँडो ग्रहण गर्ने हुनाले यो गीत शिक्षामूलक सामग्रीको रूपमा समेत उपयोगी हुन सक्छ ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार