म्याग्दीको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुगेका पूर्णबहादुर २०० युवामध्ये छिटो दौडिएर छनोट पनि भएका थिए ।
‘हामी किशोर हुँदा भारतीय गोर्खा सैनिकमा भर्ती गराउन गाउँगाउँमा युवा खोज्दै आउँथे, म पनि गलेश्वरमा देखिँदा छनोट भएर पनि पल्टन नगएपछि सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमै आएका थिए,’ ७४ वर्षीय उनले भने, ‘हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जङ्गल पसेँ ।’
पण्डित र ज्योतिष पेसा गर्ने हजुरबुबा वसन्तले पूर्णबहादुरलाई भैँसीको जिम्मा लगाउँदा व्यवसाय फस्टाउने सुझाएपछि परिवारले सोही निर्णय गरेको उनले स्मरण गरे । भारतीय गोर्खा सैनिकमा भर्ती हुन नपाएकामा पूर्णबहादुरलाई पछुतो भने छैन । ‘हजुरबुबाले अनुमान गरेको जस्तै एउटा पाडोबाट सुुरु गरेको घुम्तीगोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो,’ पूर्णबहादुरले भने, ‘भैँसी, राँगा, पाडापाडी र घिउ बेचेरै घर व्यवहार चलाएँ, खेतबारी जोडेँ, चार छोराछोरीलाई पढाएँ, ठाउँमा पुर्याएँ ।’
विसं २०२५ देखि घुम्तीगोठमा भैँसीपालन सुरु गरेका पूर्णप्रसाद गत पुसदेखि स्वास्थ्य र बुढ्यौलीका कारण भैँसी बेचेर मालिका गाउँपालिका–७ बिम खारामा रहेको जेठी छोरी माया शर्माको घरमा बस्न थालेका छन् । सुुरुमा १३ वटा भैँसीलाई एक हजार ५०० रुपैयाँमा बिक्री गरेका पूर्णप्रसादसँग घुम्तीगोठ लिएर भैँसीसँगै बर्खामा हिमाल फेदीका बुकी र हिउँदमा बेँसी गर्दाका रमाइला र दुःखका अनुभूति छन् । पछिल्लो पटक एउटा भैँसीलाई ८५ हजार रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए ।
जङ्गलमा जान नसक्ने र वन्यजन्तुले आक्रमण गर्ने साना पाडापाडीको स्याहारसुसार गर्नेदेखि दूध दुहुने, मोही पारेर घ्यू बनाउने काममा बिहानदेखि साँझसम्म व्यस्त हुनुपर्दा तीन वर्षमा घर परिवारसँग भेट भएको उनले सम्झे । हिउँ परेका बेला भैँसी र पाडापाडीको स्याहारसुधार तथा आहारा व्यवस्थापनका लागि दुःख भएको उनको भनाइ छ । वार्षिक २०० लिटरसम्म घिउ बिक्री गरेका उनी असोज–कात्तिकमा पोसिलो घाँस प्रशस्त पाइने र बुकीमा मौसम सफा हुँदा मनमोहक दृश्यले फुरुङ्ग पर्थे ।
एकपटक जिरवाङ, सिमकोश, धुरीखर्क, हिले, बगर हुँदै धवलागिरि हिमालको फेदीमा रहेको बुकीसम्म गोठ लगेका पुगेका पूर्णबहादुरले गोठमा एकैपटक ब्वाँसोले आक्रमण गरेर ११ वटा भैँसी मारिदिएको अझै बिर्सेका छैनन् । गोठको सुरक्षाका लागि कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गरेका थिए । गाउँअनुसार चरन क्षेत्र बाँड्ने भएकाले लेकमा अन्य गोठालाहरूसँग कमै भेटघाट हुन्थ्यो । घुम्तीगोठका लागि आवश्यक खाद्यान्न समयसमयमा परिवारका सदस्यहरूले जङ्गलमै पुर्याइदिन्थे ।
रेडियो र मोबाइल साथी
पूर्णबहादुरले पछिल्लो समय बुकी र चरन क्षेत्रमा अनावश्यक काँडाधारी वन तथा झारपात फैलिन थालेको अनुभव सुनाए । पछिल्लो समय बसाइँसराइका कारण खेतबारी बाँझिएकाले गाउँ वरपर पनि व्यवस्थित रूपमा भैँसीपालन गर्न सकिने सम्भावना रहेको पूर्णबहादुर बताउँछन् । विदेशमा गर्ने दुःख आफ्नै गाउँठाउँमा गर्न सके स्वरोजगार भइने उनको सुझाव छ ।
सत्यपाटी