२०८३ वैशाख ९ , बुधबार 22, April 2026, Wednesday

माओवादीको अन्त्य भए पनि अझै खतरा

सत्यपाटीसत्यपाटी । लङ्कापल्ली । २०८३ वैशाख ९ गते बुधबार

भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो रूपमा जिउँदै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङहरूले अहिले पनि सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर जोखिममा राखेका छन् ।

मध्य भारतका विशाल वन क्षेत्रमा माओवादी लडाकूहरूले वर्षौंसम्म दबाबद्वारा सक्रिय हुने इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) गाड्दै आएका थिए । यी विस्फोटकहरू प्रायः माटोका सडकमुनि वा जङ्गली बाटोमा लुकाइन्थे, जसले गर्दा तिनीहरू देख्न र पहिचान गर्न अत्यन्त कठिन हुन्थ्यो । साधारण सामग्री (जिलेटिन, बल बियरिङ र धातुका टुक्राहरू)बाट बनाइए पनि ती अत्यन्त घातक सावित भएका छन् ।

विद्रोहको उत्कर्षमा माओवादीहरूले सन् २००० को दशकको मध्यतिर देशको झण्डै एक तिहाइ भूभागमा प्रभाव जमाएका थिए । उनीहरूले आफूलाई वन क्षेत्रका आदिवासी समुदायका अधिकारका लागि लडिरहेको दाबी गर्थे । तर हालैका वर्षहरूमा भारतीय सुरक्षाबलले सञ्चालन गरेको अभियानपछि सरकार देश माओवादी प्रभावबाट मुक्त भएको घोषणा गर्न पुगेको छ ।

तर जमिनमुनि लुकेका विस्फोटकहरूका कारण खतरा समाप्त भएको छैन । जिल्ला रिजर्भ गार्डमा कार्यरत २३ वर्षीय किशन हाप्काले भने, ‘सैनिकलाई सबैभन्दा ठूलो डर गोली होइन, यी दबाबमा विस्फोट हुने आईईडी हुन्, किनकि कहिले पाइला पर्छ भन्ने थाहा हुँदैन ।’ उनी आफैँले सन् २०२४ मा यस्तै एक विस्फोटमा परेर बायाँ खुट्टा गुमाएका थिए ।

सो घटनामा अन्य तीन सैनिकको ज्यान गएको उनले स्मरण गरे । अहिले उनी कृत्रिम खुट्टाको सहारामा प्रशासनिक काममा सीमित छन् । पहिले माओवादीहरूको बलियो आधारस्थल मानिने छत्तीसगढ राज्यको बस्तर क्षेत्रमा पछिल्लो २५ वर्षमा करिब ५०० सुरक्षाकर्मी यस्ता विस्फोटमा मारिएका छन् भने हजारभन्दा बढी घाइते भएका छन् ।

यी विस्फोटकहरू मूलतः सुरक्षाबललाई लक्षित गरेर राखिए पनि त्यसको मार स्थानीय आदिवासी समुदायले पनि उत्तिकै भोगेका छन् । तथ्याङ्क अनुसार १५० भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन् । ६५ वर्षीया तामा जोगी पनि यस्तै पीडितमध्ये एक हुन् । गत गर्मीमा उनी पशुहरू चराउन जङ्गल गएको बेला, थाहा नपाई विस्फोटकमा पाइला राखिन् ।

विस्फोटपछि उनको दाहिने खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भयो । ‘मेरो कानले केही पनि सुन्न छोड्यो र म बेहोस भएँ,’ उनले सम्झिन् । पछि अस्पतालमा होश आउँदा उपचार भइरहेको अवस्था देखेको उनले बताइन् । चिकित्सकहरूले उनको ज्यान जोगाउन अर्को खुट्टासमेत काट्नुपरेको थियो, जसले गर्दा उनी पूर्ण रूपमा अशक्त बनेकी छिन् ।

सरकारी नीतिअनुसार कर्तव्यका क्रममा घाइते भएका सुरक्षाकर्मीको मात्र उपचार खर्च व्यहोर्ने व्यवस्था छ । जोगीका परिवारले थप पीडा भोग्नुपरेको छ, किनकि उनका छोरालाई माओवादी सम्बन्धको आरोपमा पक्राउ गरिएको छ, जुन आरोप उनी अस्वीकार गर्छिन् । उनी अहिले पनि कारागारमै छन् । ‘अब कसलाई दोष दिने भन्ने नै थाहा छैन,’ जोगीले गहिरो निराशा व्यक्त गरिन् ।

राज्यका अधिकारीहरूका अनुसार यस्ता विस्फोटकहरू अझै व्यापक रूपमा फैलिएका छन् । उपमुख्यमन्त्री विजय शर्माले भने, ‘यी आइइडीहरू पोखरीको छेउँ, सडकको किनार, नदीको आसपास—जहाँ पनि गाडिएका हुन सक्छन् ।’ उनका अनुसार दैनिक रूपमा दर्जनौँ विस्फोटक निष्क्रिय पारिँदै छन्, तर समस्या अझै ठूलो नै छ ।

लङ्कापल्ली गाउँका ३५ वर्षीय राजु मोडियमले पनि यसको पीडा भोगेका छन् । जनवरीमा माछा मार्न जाँदा परिचित बाटो रोज्दा आफू सुरक्षित हुने विश्वास उनमा थियो । तर त्यही बाटोमा लुकेको विस्फोटकमा पाइला परेपछि उनको खुट्टा गम्भीर रूपमा नष्ट भयो । ‘मैले खुट्टा हेर्दा सबै चिराचिरा भएको थियो, जताततै रगत थियो,’ उनले भने । उपचारपछि उनले खुट्टा गुमाए ।

आर्थिक रूपमा कमजोर उनको परिवार कृत्रिम खुट्टा किन्ने अवस्थामा छैन । उनकी २१ वर्षीया श्रीमती जयम्माले भनिन्, ‘कृत्रिम खुट्टाका लागि चाहिने पैसा हामीसँग छैन ।’ परिवारको जीविकोपार्जन जङ्गलमै निर्भर भएकाले अहिले उनीहरू थप कठिनाइमा परेका छन् । प्रहरीका अनुसार गत वर्ष बस्तर क्षेत्रमा करिब ९०० विस्फोटक फेला पारिएको थियो भने सन् २०२६ को पहिलो तीन महिनामै ३०० बरामद भइसकेका छन् ।

स्थानीय प्रहरी प्रमुख सुन्दरराज पीका अनुसार अझै क्षेत्रलाई पूर्ण रूपमा आइइडीमुक्त घोषणा गर्ने अवस्था आएको छैन । उनले बस्तरको जटिल भौगोलिक अवस्थाका कारण यस्तो समस्या समाधान गर्न चुनौतीपूर्ण भएको बताए । यद्यपि सरकारी दाबीअनुसार अधिकांश काम सम्पन्न भइसके पनि स्थानीय बासिन्दाका लागि डर अझै कायम छ । ‘हामी अब जङ्गल जानै डराउँछौँ,’ मोडियमले भने, ‘यदि फेरि विस्फोटकमा पाइला पर्यो भने के हुन्छ भन्ने चिन्ता सधैँ रहन्छ ।’

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार