पश्चिम नेपालकै सबैभन्दा ठुलो बजारका रूपमा परिचित नेपालगन्ज बजार केही वर्षअघिसम्म यस क्षेत्रका विभिन्न पहाडी जिल्लाबाट आवश्यक सामान खरिदका लागि आउने प्रमुख हाटबजार थियो । सोही कारण नेपालगन्जमा विभिन्न सामान खरिदका लागि यस क्षेत्रका विभिन्न पहाडी जिल्लाबाट ठुलो सङ्ख्यामा सर्वसाधारण आउने गर्दथे ।
नेपालगन्जको इतिहासका जानकार स्थानीय अगुवा सनतकुमार रेग्मीले नेपालगन्ज बजारलाई त्यतिबेला ‘खसियारी बजार’ भनिने र यहाँ हाटबजार गर्न आउनेलाई ‘हटारु’ भन्ने गरिएको बताए । उनका अनुसार नेपालगन्जमा हाट गर्न आउनेलाई बसोवासको सुविधाका लागि सरकारी निकायकै तर्फबाट सल्यानी र दैलेखी बङ्गला निर्माण गरिएको थियो ।
हप्तौँ हिँडेर आएकाहरू त्यहीँ थकाइ मेट्दै किनमेल गर्थे । आफूले ल्याएको घ्यू र जडीबुटी बेच्थे भने यताबाट नुन र लत्ताकपडा लैजान्थे । सोही सम्झना र इतिहास जोगाउन रुकुमेली सेवा समाज बाँकेले नेपालगन्ज–४ स्थित सल्यानी बङ्गलामा हाट आउनेको सम्झना स्वरूप एक प्रतिमा निर्माण गरिदिएको छ ।
रुकुमेली सेवा समाज नेपालगन्जका अध्यक्ष दीपेन्द्र खड्काले तत्कालीन आर्थिक र सामाजिक परिवेशलाई जीवन्त बनाउन यो प्रतिमा बनाइएको बताए । उनले यो प्रतिमाले विगतको इतिहासलाई सधैँ जीवन्त राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे । समाजका अनुसार पिठ्युँमा डोको, हातमा लौरो, निधारमा नाम्लो, कम्मरमा पटुकी र खाली खुट्टासहित निर्माण गरिएको हाट आउनेको प्रतिमाले त्यतिबेलाको सम्झना ताजा गराउँछ ।
नेपालगन्ज–४ का वडाध्यक्ष गोपाल पुनले वडा कार्यालयले विगतको सम्झनालाई समेट्ने सामग्री राखेर संग्रहालय बनाउने योजना पनि तयार गरिरहेको बताए । उनले भने, ‘हाटका सबै सम्झनालाई ताजा बनाउँछौँ, सिकाइको माध्यम बनाउँछौँ । तत्कालीन परिवेशको हाट वा खसियारी बजारलाई त्यसैको सुरुआतसँग जोडेर सङ्ग्रहालयसमेत बनाउने सोचमा छौँ ।’
सत्यपाटी