२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

धूम्रपानमा किन धेरै लत लाग्छ ?

जोएल स्नेपजोएल स्नेप । काठमाडौं । २०८२ फागुन ३० गते शनिबार

त्यो पहिलो चुरोटले जीवनभरको परनिर्भरताका साथै क्यान्सर, मस्तिष्कघात (स्ट्रोक) र हृदयाघाततर्फ धकेल्न सक्छ…। धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ र तपाईंले यो गर्नुहुँदैन । पक्कै पनि, तपाईंलाई यी दुवै कुरा थाहा छः स्कुलमा, टिभी र रेडियोमा, डाक्टरहरूले र चुरोटको बट्टामा राखिएका डरलाग्दा तस्बिरहरूमार्फत तपाईंलाई यो कुरा भनिएको छ ।

यद्यपि, दुईवटा कारणले गर्दा यो कुरा दोहोर्याउनु उपयुक्त हुन्छः पहिलो, चियापसल वा भट्टीबाहिर निस्केर छिटो–छिटो तानिने चुरोटको सर्कोले तपाईंको स्वास्थ्यमाथि दीर्घकालीन जोखिम मात्र मोल्दैन, बरु यसले तत्कालै तपाईंको जीवनलाई खराब बनाउँछ; र दोस्रो, चुरोट अझै पनि पत्याउनै नसकिने गरी लत बसाल्ने चिज हो ।

केही अनुसन्धानहरूले देखाएअनुसार एकपटक चुरोट चाख्नेमध्ये करिब दुई–तिहाइ मानिसहरू (कम्तीमा केही समयका लागि भए पनि) दैनिक धूम्रपान गर्ने अम्मली बन्छन् । त्यस्तै, बेलायतमा हालै गरिएको एक सर्वेक्षणले चुरोट छाड्ने प्रयास गरिरहेकामध्ये पाँच भागको एक भागभन्दा कमले मात्र यसमा सफलता पाएको देखाएको छ ।

मानिसहरूले साँच्चिकै चुरोट छाड्न सफल हुनुअघि औसतमा आधा दर्जनदेखि सय पटकभन्दा बढीसम्म प्रयास गर्ने गरेको अनुमान छ । त्यसोभए, कुन–कुन तत्त्वहरूको सम्मिश्रणले चुरोट छाड्न यति गाह्रो बनाउँछ त – र चुरोट छाड्न चाहनेहरूका लागि यसको अर्थ के हो ?

युनिभर्सिटी कलेज लन्डनका स्वास्थ्य मनोविज्ञानका प्राध्यापक लायन शाहब भन्छन्, ‘जब तपाईं चुरोट तान्नुहुन्छ, सबैभन्दा पहिले निकोटिन, विभिन्न उत्तेजक तत्त्वहरू र क्यान्सर गराउने तत्त्वहरू कार्सिनोजेन्सको विषाक्त मिश्रण फोक्सोमा तान्नुहुन्छ । यसले तपाईंको श्वासनलीमा रहेका रौँ जस्ता साना संरचना सिलियालाई स्तब्ध पार्छ र तिनको काम गर्ने क्षमतालाई कमजोर बनाउँछ ।

अर्को कुरा जुन धेरै नै छिटो हुन्छ । उनी भन्छन्, ‘त्यो हो निकोटिन फोक्सोबाट एल्भियोली हुँदै रक्तसञ्चारमा अवशोषित हुन्छ, र त्यसपछि मस्तिष्कमा पुग्छ । यही बिन्दुबाट तपाईंलाई राम्रो महसुस हुन थाल्छ, र यही मुख्य कुरा हो जसले तपाईंलाई यसको लतमा फसाइराख्छ ।’

मूलतः, निकोटिनले तपाईंको मस्तिष्कको रिवार्ड पाथवे (पुरस्कार प्रणाली) मा प्रवेश गर्छ र पहिलो सर्को तानेको १० देखि २० सेकेन्डभित्रै डोपामाइन र सेरोटोनिन रिलिज गर्न थाल्छ, जसले तपाईंलाई धेरै छिटो धूम्रपानसँग जोडिएको आनन्द को प्रतिक्रिया दिन्छ । ‘यदि त्यो डोपामाइन रिलिज हुन केही घण्टा लाग्थ्यो भने, मानिसहरूलाई सायद यसको लत लाग्ने थिएन,’ प्राध्यापक शाहब भन्छन् ।

सोही समयमा, निकोटिनले तपाईंको एड्रेनल ग्रन्थीहरूलाई खोल्छ र रक्तसञ्चारमा एड्रिनालिन र नोरएपिनेफ्रिन (तनाव प्रतिक्रियाका लागि अत्यावश्यक अर्को हर्मोन) प्रवाह गर्छ, जसले तपाईंलाई क्षणिक ऊर्जा वा स्फूर्ति दिन्छ । रगतमा निकोटिनको स्तर करिब २० मिनेटपछि उच्चतम बिन्दुमा पुग्छ, र त्यसपछि यो घट्न थाल्छ ।

प्राध्यापक शाहब भन्छन्, ‘धूम्रपानको सन्दर्भमा, विथड्रल सिन्ड्रोम अर्थात् चुरोट नपाउँदा हुने छटपटीका लक्षणहरू धेरै छिटो सुरु हुन्छ, किनभने निकोटिनको शरीरले यसको ५०% लाई पचाउन र बाहिर निकाल्न लाग्ने समय करिब दुई घण्टा मात्र हुन्छ । अर्कोतर्फ, अधिकांश धूम्रपान गर्नेहरूको डोपामाइन रिसेप्टरहरू बिस्तारै असंवेदनशील भइसकेका हुन्छन् ।

त्यसैले तपाईंसँग डोपामाइन रिलिज हुने अपेक्षा त हुन्छ, तर पर्याप्त मात्रामा प्राप्त हुँदैन, र सन्तुष्टिको भावना धेरै छिटो हराएर जान्छ । चाखलाग्दो कुरा त के छ भने, मानिसहरू प्रायः चुरोट खाएपछि आफूलाई राम्रो महसुस भएको दाबी गर्छन्, तर त्यो प्रक्रियालाई नबुझेर गरिएको गलत दाबी हो । वास्तवमा चुरोटले तपाईंलाई त्यही सामान्य अवस्थामा फर्काउने काम मात्र गर्छ, जुन अवस्थामा तपाईं चुरोट नखाएको भए पनि स्वतः हुनुहुन्थ्यो ।’

यसको एउटा मुख्य नतिजा के हो भने धूम्रपानले अक्सर मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ, किनभने तपाईंको हातमा चुरोट नहुँदा तपाईं निरन्तर छटपटीको अवस्थामा हुनुहुन्छ । धूम्रपान र एन्जाइटी तथा डिप्रेसन बिचको सम्बन्ध जटिल छ, किनकि यो दोहोरो हुन्छ । जसको अर्थ हो, यी समस्या भएका मानिसहरूले धूम्रपान सुरु गर्ने सम्भावना बढी हुन्छ ।

तर कम्तीमा एउटा ठुलो अध्ययनले देखाएअनुसार यदि तपाईंले धूम्रपान गर्न छाड्नुभयो भने, निकै छोटो समयमै तपाईंको मानसिक स्वास्थ्यमा देख्न सकिने सुधार आउन सक्छ । पक्कै पनि, धूम्रपानका अन्य दर्जनौँ बेफाइदाहरू छन् । छोटकरीमा भन्नुपर्दाः कमजोर प्रजनन् स्वास्थ्य; खराब मुखको स्वास्थ्य; स्ट्रोक, हृदयघात, टाइप–२ मधुमेह वा निमोनिया जस्ता रोगहरूको उच्च जोखिम; कमजोर हड्डी र रोग प्रतिरोधात्मक क्षमता; छिटो बुढ्यौली लाग्ने र स्मरणशक्ति घट्ने समस्या ।

तपाईंको रातो रक्तकोषिकाले अक्सिजनभन्दा चुरोटको धुवाँमा हुने कार्बन मोनोअक्साइडलाई बढी रुचाउँछ, जसको अर्थ तपाईंको तन्तुहरूमा अक्सिजनको प्रवाह कम हुन्छः छोटो समयमा यसले सास फेर्न गाह्रो बनाउन सक्छ, तर लामो समयमा यसले तपाईंको मुटुमा भार पार्छ । तपाईंका रक्तनलीहरू कडा हुन्छन् र धमनीहरूको भित्री तहमा क्षति पुग्छ, जसले गर्दा बोसो जमेर प्लाक बन्न सजिलो हुन्छ । तपाईंको श्वासनलीका रौंजस्ता सिलिया मर्छन् ।

यद्यपि चुरोट छोडेपछि केही हदसम्म ती पुनः पलाउन सक्छन् । र, निस्सन्देह, सबैभन्दा ठुलो खतरा त छँदैछ । ‘कति मात्रामा चुरोट पिउँदा यसले मर्मत गर्नै नसकिने गरी डीएनएलाई क्षति पुर्याउँछ र क्यान्सर गराउँछ भन्ने कुरा तपाईंलाई कहिल्यै थाहा हुँदैन,’ शाहब भन्छन्, ‘तपाईं यसलाई रसियन रुलेट (एक प्रकारको ज्यानमारा खेल)को एउटा ठुलो खेलको रूपमा सोच्न सक्नुहुन्छ, केही मानिसहरू ५० वर्षसम्म चुरोट पिउन सक्छन्, र दुई लाखौँ चुरोटले उनीहरूको ज्यान लिन सक्छ ।’

अरू कसैका लागि भने, यो क्षति धेरै अघि नै सुरु हुन सक्छ । हामीसँग यस्ता अध्ययनहरू छन् जसले स्पष्ट रूपमा देखाउँछन् कि औसतमा, धूम्रपान नगर्नेको तुलनामा धूम्रपान गर्ने व्यक्ति १० वर्ष चाँडै मर्छ, र धूम्रपान गर्नेहरूलाई बुढ्यौलीमा लाग्ने रोगहरू चाँडै लाग्छन् । राम्रो कुरा के हो भने यीमध्ये धेरै कुराहरूलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छः सौन्दर्यसँग जोडिएका सुधारहरू धेरै छिटो देखिन्छन्, जबकि तपाईंको बाँकी स्वास्थ्य समयसँगै उल्लेखनीय रूपमा तङ्ग्रिन सक्छ ।

तर त्यो सबै हुनका लागि, तपाईंले चुरोट छाड्नै पर्छ । र, माथि छलफल गरिएका सबै कारणहरूले गर्दा यो सजिलो छैन । त्यसोभए लतसम्बन्धी विज्ञानले चुरोट छाड्ने विषयमा के भन्छ त ? सन् २०२३ को कोक्रेन रिभ्युका अनुसार, यदि तपाईंले एकैपटक ह्वात्तै चुरोट छाड्ने प्रयास गर्नुभयो भने सफलता पाउने सम्भावना सबैभन्दा कम हुन्छः औसतमा, चुरोट छाड्न खोज्ने हरेक १०० जनामध्ये केवल छ जनाले मात्र कुनै पनि सहायताविना सफल हुने सम्भावना हुन्छ ।

निकोटिन प्याच, जसले शरीरमा औषधिको प्रवाहलाई सुस्त बनाउँछ र यसरी लत लाग्ने उच्च विन्दुलाई रोक्छ, अलिकति राम्रो मानिन्छः यसको प्रयोगबाट १०० जनामध्ये करिब नौ जनाले सफलतापूर्वक चुरोट छाड्छन्, र यदि यसलाई अन्य सहायताहरूसँग मिलाएर प्रयोग गरियो भने यो सङ्ख्या १२ सम्म पुग्छ । यसले ई–चुरोट अर्थात् भेप र डाक्टरको प्रेस्क्रिप्शनमा पाइने औषधिहरू भारेनिक्लाइन र साइटिसिनलाई सबैभन्दा प्रमाण–आधारित सहायताका रूपमा बाँकी राख्छ ।

भेपहरू प्रभावकारी हुन्छन् किनभने तिनले तपाईंलाई सुर्तीमा हुने कार्बन मोनोअक्साइड र टारविना नै चुरोट तान्ने ब्रेक लिने बानीलाई कायम राख्न अनुमति दिन्छन्, तर पछि भेप आफैं छाड्न भने गाह्रो हुन सक्छ । भारेनिक्लाइन र साइटिसिन पार्सियल एगोनिस्ट हुन् । यिनीहरू मस्तिष्कका ती रिसेप्टरहरूसँग जोडिन्छन् जहाँ सामान्यतया निकोटिन गएर टाँसिन्छ, र यिनीहरूले डोपामाइन र सेरोटोनिन पनि रिलिज गराउँछन् जसले गर्दा तपाईंलाई चुरोट छाड्दा हुने छटपटी कम हुन्छ ।

तर यिनीहरूको प्रभावको अर्को पाटो पनि छः जब तपाईं यी औषधि खाइरहेको बेला चुरोट तान्नुहुन्छ, तपाईंलाई कुनै पनि आनन्दको महसुस हुँदैन, किनकि तपाईंका निकोटिन रिसेप्टरहरू पहिले नै ओगटिएका हुन्छन् । वास्तवमा तपाईंले बानी र आनन्द बिचको मनोवैज्ञानिक सम्बन्धलाई तोडिरहनुभएको हुन्छ । तर, अध्ययनहरूका अनुसार, यो तरिका अपनाउँदा पनि तपाईंसँग सफलताको सम्भावना १४ प्रतिशत मात्र हुन्छ ।

‘धूम्रपान धेरै नै लत लाग्ने कुरा हो । केही मापदण्डहरूमा हेर्दा हेरोइन वा कोकिनभन्दा पनि बढी,’ शाहब भन्छन् । छाड्नका लागि प्रयास गर्न नछाड्नुहोस् । आफूलाई असफल हुन दिनुहोस् र फेरि प्रयास गर्नुहोस् । र याद राख्नुहोस्ः यस्तो नराम्रो बानी छाड्ने व्यक्तिलाई सबैले मन पराउँछन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार