प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ ।
मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्रा.डा.देवमणि भट्टराईले जानकारी दिएका छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
पशुपतिका चार ढोका खुला
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी दिएका छन् । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यसवर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ ।
यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले बताए । महाशिवरात्रिका अवसरमा बिहान २ः०० बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।
पशुपति दर्शनका तीन बाहिरी लाइन
यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिनेगरी व्यवस्थापन गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन–तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । त्यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।
दुई घण्टाभित्रै पशुपति दर्शन
पशुपतिमा शिवरात्रिको अघिल्लो दिन शनिबारदेखि नै दर्शनार्थीको भिड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी देशभर मनाउने गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराण लगायतका ग्रन्थमा उल्लिखित छ ।
संस्कृतिविद् डा.गोविन्द टण्डनका अनुसार महाशिवरात्रि नेपालको राष्ट्रिय पर्व हो । यसले संसारभरिका हिन्दु धर्मावलम्बीमा अत्यन्तै ठुलो श्रद्धा सम्मान रहिआएको छ । भगवान् पशुपतिनाथको मन्दिर नेपालमा भएका कारण नेपालमा हुने महाशिवरात्रि पर्व कस्तो हुन्छ भनेर विश्वले हेरिरहेको उनले बताए । महाशविरात्रिमा नेपाली मात्र होइन छिमेकी मुलुक र त्योभन्दा टाढा मलेसिया, सिङ्गापुर र सात समुद्रपारिका मान्छे पनि भगवान्को दर्शन गर्न आउने गरेको उनको भनाइ छ ।
उनले भने, ‘मन्दिर दर्शन गर्न आएका दर्शनार्थीलाई पूजाआजा लगायतका कुरामा सजिलो पार्न सक्यो भने यो भक्तजनको सङ्ख्या बढ्दै जान्छ । यी कुरामा सम्बन्धित निकायको यथोचित ध्यान जान सकेको छैन ।’ पशुपतिनाथ क्षेत्रको सरसफाइ, सजावट, भक्तजनलाई सहज रूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताए ।
अघिल्लो वर्ष भारतको प्रयागमा मेला लागेको हुनाले केही साधुसन्त घटेका थिए भने यस वर्ष चार हजार साधुसन्त आउने अनुमान उनको छ । करिब दुई हजारभन्दा बढी स्वंयसेवकलाई परिचालन गरिने पर्वमा यस वर्ष पशुपतिमा २० लाख श्रद्धालुले प्रत्यक्ष दर्शन गर्ने अनुमान उनको छ । महाशिवरात्रिका दिन बिहान २ः०० बजे नै पशुपतिनाथ मन्दिरको चार वटै ढोका खुला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लामको व्यवस्था गरिएको उनले बताए ।
दुईदेखि सवा दुई घण्टाभित्र दशनार्थीले दर्शन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजनको सवारी आवागमनलाई व्यवस्थित बनाउन योजनाबद्ध ट्राफिक व्यवस्थापन मिलाइएको महाशाखाका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार शिवरात्रि अवधिभर भक्तजनलाई सरल र सहज आवागमनको व्यवस्था मिलाइएको छ ।
सिफल चौर, गुह्वेश्वरी, पशुपति क्षेत्र विकास कोषको कार्यलय, तिलगङ्गा आँखा अस्पतालको कोरिडर, वनकाली क्षेत्र लगायतका स्थानमा पार्किङ व्यवस्था मिलाइएको छ । पाशुपत क्षेत्रमा मांस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण, बिक्री वितरण तथा ओसारपसार नगर्न र नगराउनसमेत कोषले सचेत गराएको छ । दुई वर्षअघिदेखि भाङ धतुरो निषेध गरिएको थियो । अहिले पनि त्यसैलाई प्राथमिकता दिएर गाँजा खानेलाई प्रहरीद्वारा कारबाही गरिने सापकोटाले जानकारी दिए ।
सत्यपाटी