मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन,
मेरो भोट
मागेर कहाँ पाइन्छ र
माग्दैमा कहाँ दिइन्छ र
भोट भिक्षा होइन
मलाई घाँडो पनि भा छैन
पैँचो दिने वस्तु होइन
एक फाँको खैनी,
एक खिल्ली बिँडी
एक ढुङ्ग्रो मोही हो र मेरो भोट ?
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।
मेरो भोट,
देश बनाउने औजार हो,
समाज उजिल्याउने ऊर्जा हो,
मेरो देश घेर्ने काँडे तार हो,
जङ्गे पिलर हो,
देश हराभरा बनाउने मल हो
धरती सिञ्चित गर्ने जल हो
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।
गाली र तालीमा होइन
कसैले देखाको हरियो
डालीमा होइन,
यो देशको लागि,
यो समाजका लागि
हिजो के गर्यौं ?
आज के गरिरहेका छौं ?
भोलि के गर्छौ ?
त्यसैमा निर्भर गर्छ मेरो भोट,
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार
