२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

हिउँको पर्खाइमा हुम्ला, हिमपात नहुँदा कृषक चिन्तित

सत्यपाटीसत्यपाटी । हुम्ला । २०८२ माघ ७ गते बुधबार

हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन् । विगतका वर्षहरुमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो । यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो । लामो समयसम्म हिमपात नहुँदा खडेरी हुने होकी भन्ने चिन्तामा यहाँका किसान छन् ।

यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहित अग्ला स्थानहरु सेताम्ये देखिन्थे भने किसान खुसी हुन्थे । तर यो वर्ष जिल्लामा गएको असोज महिनाको अन्तिममा एक पटक मात्रै हिमपात भएको छ । त्यसले खासै किसानका लागि खुसी भने गराएको छैन् । हिउँद याममा हिमपात नहुँदा चिसो बढेको छ ।

हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन । चार, पाँच दिनसम्म आकाशमा बादल मडारिने गरे पनि हिमपात हुन नसकेको हो । मङ्सिर पुस र माघ महिनामा अत्याधिक हिमपात हुने भए पनि यो वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात हुन सकिरहेको छैन ।

यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ । सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामा भन्छन्, ‘यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवतीहरु रमाउने गर्थे तर यो वर्ष त्यसो हुन् सकेन् । पुस महिना सकिएर माघको आज ७ गते भइसक्यो ।’

बढी हिमपात हुने महिना पुस र माघ हो तर हिउँ परेन अब फाल्गुनमा के हुने हो थाहा नभएको लामाको भनाई थियो । यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् ।

जेठासीबालीमा खडेरी हुने चिन्तामा रहेको सिमकोट गाउँपालिका–२ ठेहेका गौगोरा बोहराले गुनासो गरे । किसान बोहराले भने, ‘जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ ।’ हिमपात नभएर यहाँको जमिन, सुक्खा देखिँदै गएका छन् भने हिउँदको समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन् ।

हिउँले सेताम्य देखिने यो समय हुम्लाका विभिन्न हिमाल सुक्खा देखिएका छन् । पुस महिनामा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमालहरु सुक्खा देखिएका छन् । हिमपात नहुँदा यी हिमालहरु हिउँको पर्खाइमा छन् । जलवायु परिवर्तनमा आएको असर हुम्लामा समेत परेको छ ।

जिल्लाको मौसममा कहिले आकाशमा बादल देखिए पनि हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताए । उनले भने, ‘हुम्लामा दुई–तीन वर्ष यतादेखि दश वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छोडेको छ ।’

यो पुस महिनाको समय सिमकोट, खार्पुना, नाम्खा, सर्केगाड र चङ्खेली गाउँपालिकाका उच्च स्थान हिउँले ढाकेर सेताम्ये देखिन्थे तर केही वर्षयता देखिन सकेका छैनन् । यो समयको हिउँदयाममा भारी हिमपात भएर किसान उत्हासीत हुनुका साथै पुसको हिउँ सिला, माघ हिउँ विला, फागुनको हिउँ टिलाफिा भनेर किसान उख्खान समेत भन्ने गर्थे ।

पुस हिउँ सिला, माघ हिउँ बिला भन्ने स्थानीयको उखानजस्तै माघमा परेको हिउँ बिलाउँदै जाने गर्छ । पुसमा परेको हिउँ जमेर बस्छ भने फागुनमा परेको हिउँ टिलाफिला भएर जान्छ । यो पटक मङ्सिर र पुस दुई महिना हिमपात नभएर बित्दा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् ।

खेतबारीमा लगाइएको गहुँ, जौ, उवा लगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तीत बनेका छन् । गर्त वर्ष ढिलो गरी हिमपात र वर्षा भएकाले यो वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् । हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका साविकका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात नहुँदा कृषक चिन्तित छन् ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार