२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनको व्यग्र प्रतिक्षा

सत्यपाटीसत्यपाटी । दैलेख । २०८२ पुस २० गते आइतबार

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेका स्थानीय ६५ वर्षीय शेरबहादुर थापा केही महिनाअघिसम्म २४ घण्टा चल्ने ड्रिलिङको आवाजले हैरान थिए । रातदिन गुञ्जिने मेसिनको ध्वनिले सुरुमा असहज बनाए पनि समयसँगै त्यही आवाजसँगै सुत्ने बानी परेको थियो ।

लामो समयदेखि ड्रिलिङका बेला गुञ्जिने गरेको मेसिनको आवाज हराएको निकै भयो । सुरक्षा घेराभित्रको ‘रिङ हाउस’ मौन छ । शेरबहादुर भन्छन्, ‘अहिले त त्यो आवाज नै सम्झनामा आइरहेको छ र फेरि कहिले सुरु होला भन्ने प्रतीक्षामा छौँ ।’

सोही स्थानका अर्का स्थानीय जगत महतारा पनि अहिलेको मौनताले चिन्तित छन् । दैलेखमा पेट्रोलियम अन्वेषणका लागि आउने जाने प्राविधिक र उपकरणले केही समयअघि आमनागरिकमा जिज्ञासा मात्रै होइन, उत्साह पनि थपेको उनी सम्झन्छन् ।

महतारा भन्छन्, ‘मिथेन ग्यास भेटिएर खुसी दियो तर अहिले सबै सुनसान छ । अब त उत्पादन कहिले हुन्छ भन्ने प्रतीक्षामै छौँ ।’ यी दुई स्थानीयको मात्रै होइन, जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यापारीको पनि यहाँको ज्ञास उत्खननबारे जिज्ञासा बढेको छ ।

उत्पादनको काम सरकारले कहिले अगाडि बढाउला भन्ने हुटहुटी छ । नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर थापाले प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत खुलापत्र लेख्दै दैलेखमा सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम तत्काल सुरु गर्न माग गरेका छन् ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चीनको जियोलोजिकल सर्भेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको पुष्टि भएपछि उत्पादन परीक्षणका लागि चीन सरकारलाई प्रस्ताव पठाइएको थियो ।

अहिलेसम्म त्यसको कुनै औपचारिक जवाफ नआएको खानी तथा भूगर्भ विभागले जनाएको छ । खानी तथा भूगर्भ विभागका जियोलोजिस्ट प्रकाश लुइटेलले भने, ‘अन्वेषणबाट ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको तथ्य प्रारम्भिक प्रतिवेदनमा आएको छ ।’

हाल त्यसको प्राविधिक अध्ययन भइरहेको छ । ‘आधिकारिक रूपमा प्रतिवेदन हस्तान्तरण हुन बाँकी छ,’ उनले भने, ‘तर प्रतिवेदन त्यही हो र त्यसैका आधारमा हामी अध्ययन गरिरहेका छौँ । उत्पादनका लागि दोस्रो चरणको काम अघि बढाउन प्रस्ताव पठाइसकेका छौँ, जवाफ आएको छैन ।’

जियोलोजिस्ट लुइटेलका अनुसार नेपाल र चीनको आर्थिक वर्ष फरक फरक समयमा सुरु हुने भएकाले प्रस्ताव प्रक्रिया अघि बढ्न ढिलाइ भएको हो । ‘चीनको आर्थिक वर्ष जनवरीबाट सुरु हुने भएकाले अब जनवरी लागेसँगै हामीले पठाएको प्रस्ताव अगाडि बढ्नेमा विश्वस्त छौँ,’ उनले भने ।

यस विषयमा नेपाल सरकार, सम्बन्धित उद्योग तथा वाणिज्य मन्त्रालयले आवश्यक चासो लिएर प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ । ‘पहिलो चरणको अन्वेषण कार्य नेपाल र चीन सरकारबीच जिटुजी सहकार्यबाट सम्पन्न भएकाले उत्पादनका लागि दोस्रो चरणको काम पनि त्यही ढाँचामा अघि बढ्नुपर्छ,’ लुइँटेलले स्पष्ट पारे ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र थापाले दैलेखमा भेटिएको मिथेन ग्यास उत्खननका लागि यहाँका राजनीतिक दल, उद्योगी, व्यापारी सबैले अहिलेको सरकारसमक्ष ज्ञापनपत्र बुझाउने विषयमा छलफल भइरहेको बताए । उनले बर्सौंदेखिको आमनेपालीको सपना पूरा हुन लागेको बेला जुन सरकार आए पनि यसलाई अगाडि बढाएर जानुपर्ने बताए ।

सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्षसम्म पुग्ने प्राकृतिक ग्यास देखाएको बताउँदै उनले त्यसका लागि नेपाल सरकारले कार्ययोजना निर्माण गरी उत्पादनतर्फ लाग्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार