२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

मिटरब्याजीको जालमा सर्वसाधारण, ‘गुम्दै घरजग्गा, विखण्डन हुँदै परिवार’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १३ गते आइतबार

छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ । मासिक चर्को ब्याजदरमा गरिने यो कारोबारले सयौं परिवारलाई सर्वस्व गुमाउन बाध्य तुल्याइरहेको छ । घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडा भोगिरहेका पीडितहरूको संख्या दिनहुँ बढ्दै गएको छ ।

काठमाडौं प्रहरीका अनुसार दैनिक सयौं जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर प्रहरी कार्यालय धाउने गरेका छन् । जानकारहरूका अनुसार मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ र परिवारमा विलाप मात्र निम्त्याएको छैन, सम्पूर्ण सामाजिक संरचनामा नै आघात पुर्याइरहेको छ ।

कतिपयले एक करोडदेखि चार करोडसम्मको रकम डुबाएर भागेको पीडितहरूले बताएका छन् भने लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन बनेका छन् । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको नागर्जुन नगरपालिका वडा नम्बर ६ टौखेलस्थित एक कोलोनीमा बसोबास गर्दै आएका गजेन्द्र मास्के उर्फ मिटरव्याजीको नाम अहिले काठमाडौंभरि चर्चामा छ ।

विभिन्न समाचार माध्यममा मास्केको धन्दाबारे खुलासा भएपछि पीडितहरू भटाभट सम्पर्कमा आउन थालेका छन् । काठमाडौं उपत्यकामा विरेन्द्र लाल श्रेष्ठपछिको मिटर ब्याजका किङ भनेर चिनिने मास्केको धन्दा गर्ने तरिका नौलो र खतरनाक रहेको खुलेको छ । नागर्जुन नगरपालिका–६ मा गाईफार्म सञ्चालन गर्दै आएका कुमार लामिछानेबाट ७५ लाखको पाँच करोड असुलेको खुलासापछि मास्केको अनुचित लेनदेनको नाङ्गो नाच बाहिरिन थालेको छ ।

मास्केले लगानी गर्दा धितो बापत हस्ताक्षर गरेको चेक लिनुका साथै तमसुक गराउँदै लाखको दशहजारको दरले व्याज पहिल्यै कटाउने गरेको पाइएको छ । त्यसपछि रकम असुली हुँदा प्रहरीकै सेटिङमा चेक बाउन्स गरी मुद्दा चलाउने गरेको पीडितहरूले बताएका छन् । त्यस्तै मास्केले नागर्जुनका चामल व्यापारी ताहिर हुसेनलाई २५ लाख लगानी गरी दुई करोड असुली गरेको खुलेको छ ।

त्यसपछि धितो स्वरूप हस्ताक्षर गरी दिएको चेकमा आफूखुशी रकम भरी उनी लगायत परिवारको नाममा रहेको १६ रोपनी जग्गा रोक्का राख्ने सर्तसम्म आइपुगेको छ । यसैगरी काठमाडौंस्थित न्युरोडका गहना व्यापारी सुरेश सराफलाई १२ लाख रुपैयाँ लगानी गरी ६ महिना भित्रै ३० लाख असुली गरेपछि धितो स्वरूप हस्ताक्षर गरेर दिएको चेकमा ३६ लाख रुपैयाँ भरी मुद्दा चलाएको पाइएको छ ।

त्यो मात्र होइन, सोही १२ लाख रुपैयाँ लगानी गरेबापत १४ केजी चाँदी धितो स्वरूप लगेकोमा फिर्ता नगरी पचाएको सराफले गुनासो गरेका छन् । ‘गजेन्द्रकै कारण म व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा पुगेँ,’ सराफ भन्छन्, ‘मैले व्यापार बढाउन १२ लाख रुपैयाँ लिएको थिएँ, ६ महिनाभित्र ३० लाख तिरेँ अनि धितो स्वरूप दिएको चेक फिर्ता दिन्छु भन्थे । पछि बाउन्स गरी ३६ लाख रुपैयाँ रकम भरेर मुद्दा चलाएछन् । यो त फिल्मी स्टाइलको ठग हो ।’

सुरेशले यसको चारवटा बैंक अकाउन्ट रहेको र सम्बन्धित निकायले छानबिन गर्दा प्रष्ट हुने बताएका छन् । यसै गरी न्युरोडकै शंकर भन्ने एक व्यापारीले पनि सम्पर्क गरी नयाँ तथ्यको खुलासा गर्ने बताएका छन् । मिटर ब्याज कारोबारमा तीन थरीका गिरोह संलग्न रहेको खुलेको छ । पहिलो गिरोह लगानी गर्न प्रोत्साहित गर्नेहरूको हो । व्यावसायीक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायिक सम्बन्ध भएकाले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्ने काम यसै गिरोहले गर्दछ ।

अर्को गिरोह वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्नेहरूको रहेको छ । विभिन्न व्यावसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुसुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ । बिस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुने गर्दछ ।

तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्दछ । यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको पाइएको छ ।

बैंकको मिलोमतो

मिटर ब्याज कारोबारको जालो वित्तीय संस्थासम्म फैलिएको छ । सामान्य कारोबारका लागि ऋण दिन धेरै सास्ती भोग्नुपरे पनि मिटर ब्याज कारोबारीलाई भने वित्तीय संस्थाले सजिलै ऋण दिने गरेको खुलेको छ । सरकारी तथा निजी क्षेत्रका बैंकका कर्मचारी यो धन्दामा संलग्न रहेको आरोप लागिरहेको छ ।

मिटर ब्याजमा कारोबार गर्ने अधिकांशका नाममा विभिन्न बैंकमा ठूला–ठूला व्यावसायिक कर्जा रहेको तर तिनको व्यवसाय कहीँकतै केही पनि नदेखिने गरेको पाइएको छ । राष्ट्रिय वाणिज्य बैंकका एक अधिकारीले भने,वाणिज्य बैंकले नै प्रवाह गरेका कर्जा हेर्ने हो भने यस्ता एक दर्जन बढी व्यावसायिक कर्जा भेटिन्छन्, जसका नाममा कर्जा छन् तर व्यवसाय छैनन् ।

बैंकका कर्मचारीलाई आकर्षक कमिसन दिएर यसरी कर्जा लिने र मिटर ब्याजमा लगानी गर्ने गरिएको खुलासा भएको छ । बैंकका कर्मचारीमार्फत सहज तरिकाले ऋण निकाल्ने र मिटर ब्याजमा लगाउने प्रवृत्तिले गर्दा व्यवसाय गर्न कर्जा पाउनेहरूका लागि ऋण लिन निकै गाह्रो हुँदै गएको सेवाग्राहीको गुनासो छ ।

निजी क्षेत्रको बैंक अफ काठमाडौंले त मिटर ब्याजमा संलग्न व्यक्तिहरूका नाममा भएको कम्पनीविरुद्ध प्रहरीमा उजुरीसमेत गरेको छ । बैंकले शंकास्पद रहेको धितोमा फर्जी कागजपत्र तयार गरेको भन्दै छानबिनका लागि प्रहरीमा उजुरी गरेको हो । तर पीडितले भने बैंकको मिलोमतोमा ठूलो रकम धितोवालाको सहमतिबिनै कर्जा दिएको आरोप लगाउँदै आएका छन् ।

कानुनी अभावमा कारण कारबाहीमा समस्या

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले दैनिकजसो मिटर ब्याज र ढुकटी सम्बन्धी गुनासो लिएर आउने गरेको बताएका छन् । उनका भनाइमा एक लाखदेखि करोडौं रुपियाँसम्म ठगिएका गुनासा आउने गरेका छन् । तर कानुनको अभावमा धेरै गर्न सकिने स्थिति नभएको उनले बताएका छन् ।

सम्पत्ति शुद्धीकरण विभागले चाहेमा मिटर ब्याजमा लागेर अस्वाभाविक धन आर्जन गरेका माथि कारबाही हुन सक्ने बताउँदै प्रजिअ पौडेलले यस विषयमा विभागका अधिकारीसँग मौखिक रूपमा कुराकानी भएको जानकारी दिए । प्रहरीलाई अधिकार प्रदान गरे पनि विभागले छानबिन गर्न सक्ने तर अहिलेसम्म त्यस किसिमले छानबिन भने नभएको उनले बताएका छन् ।

‘आज ठगियौँ भनेर आउनेहरूविरुद्ध अर्को दिन उनीहरूले पनि ठगेका मुद्दा आउने गरेका छन्,’ प्रजिअ पौडेल भन्छन्, ‘यो ठगीको ठूलो सञ्जाल छ, ठग्ने लेभल फरक फरक छन् । प्रमाणविहीन रूपमा हुने यो ठगी रोक्न कठिन पनि छ ।’ यसरी काठमाडौं उपत्यकामा मिटर ब्याजको धन्दाले संगठित रूप लिँदै जाँदा सर्वसाधारणको जीवन दुखद बन्दै गएको छ । कानुनी अभाव र प्रशासनिक सुस्तताका कारण यो अपराध निरन्तर बढ्दै जानुले समाज र अर्थतन्त्रमा गम्भीर असर पार्ने चिन्ता गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार