म्याग्दीको मङ्गला गाउँपालिकाका किसानहरूले १०० वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले १०० वर्षअघि भारतको कोलकत्ताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघ महिनामा उखु पेल्ने चलन छ ।
रामबहादुरका छोरा नातीहरुले पनि हल गोरुको सहायतामा कोल घुमाउने पुरानो चलन र परम्परालाई निरन्तरता दिएका छन् । कोलमा उखु पेले वापत १० लिटर बराबर एक सय रुपैयाँ शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ ।
सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरु आउने गरेका छन् । मानिस र गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् ।
फलामको कोलको बिचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुई देखि तीन जना जनशक्ति आवश्यक पर्छ । कोलमा पेल्दा धेरै रस आउने, शुद्ध, स्वस्थ हुने उपभोक्ताहरुको भनाई छ । कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । चिनिको उपलब्धता नहुँदा गाउँघरमा गुलियोका लागि खुदो प्रयोग हुने गरेको थियो ।
