२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८२ पुस ९ गते बुधबार

तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छ । अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए ।

उनले भने, ‘भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ । बाबुबाजेले पनि सुन्तलाखेती गर्नुभयो । म पनि त्यसकै निरन्तरतामा छु ।’ आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उनको भनाइ छ । भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरू सुन्तलाखेतीमा लागेको उनले बताए ।

उनले भने, ‘मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबै जना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ ।’ थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गरे । थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ ।

बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, ‘प्रतिकेजी सुन्तला रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।’ बेनीकोटका १०० भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार