२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

लुम्बिनीका जिल्लामा शीतलहरको प्रभाव, जनजीवन कष्टकर

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस ६ गते आइतबार

केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासी बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको छ । बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि बाँकेमा शुक्रबारबाट चिसो अत्यधिक बढेको छ ।

हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर यहाँबाट सङ्घीय राजधानी काठमाडौँ र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने उडान प्रभावित भएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाक्लो कुहिरो र हुस्सुसंगै शीतलहर समेत चल्न थालेपछि चिसो बढ्दै गएको बताए ।

उनले बाँकेमा शीतलहर आकस्मिक योजना–२०८२ स्वीकृत गरेर लागु गरी सकिएकोले सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन सुरु गरिने बताए । उनले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि स्थानीय तहलाई आग्रह गरिसकिएको बताए ।

बाक्लो हुस्सु र कुहिरोका कारण मौसम बिग्रिएकाले शुक्रबार दिनभर नेपालगन्ज विमानस्थलबाट काठमाडौँ, पोखरा र पश्चिम नेपालका पहाडी जिल्लामा हुने हवाई उडान रद्द गरिएका थिए । शनिबार पनि बिहानदेखि मौसम सफा नभएकाले काठमाडौँका लागि केही उडान भए पनि पहाडी जिल्लामा हुने हवाई उडान अनियमित र प्रभावित भएका छन् ।

मौसमको खराबीले पहाडी जिल्लामा हुने बिहानका उडान सबैभन्दा बढी प्रभावित हुन थालेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । नेपालगन्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौँ र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुने गरेका छन् ।

बिहीबारदेखि एकाएक मौसममा भएको परिवर्तनका कारण बर्दियाका सडक सुनसान देखिएका छन् भने चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई समस्या देखिएको छ । बर्दियाको गुलरिया लगायत मैनापोखर, सानोश्री, राजापुर, भुरीगाउँ र बाँसगढी बजारसमेत सुनसान देखिएको छ । चिसो बढ्दै जाँदा सडकमा सवारीको चापसमेत घट्दै गएको छ ।

चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । गुलरिया नगरपालिका–५ का स्थानीय अजय शर्माले चिसो बढ्दै जाँदा बालबालिकालाई विद्यालय आउन जान समस्या भएको बताए । तीन दिनदेखि घटेको तापक्रम शनिबार दिउँसोसम्म आइपुग्दा १३ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै शीतलहरले चिसो बढेपछि बुटवल तथा भैरहवाका सडकमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । खास गरेर जाडोका कारण बालबालिका, विपन्न, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.इन्द्र ढकालले बताए ।

जिल्ला विपत् व्यवस्थापन समिति रुपन्देहीको केही दिनअघि बसेको बैठकले शीतलहर जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ स्वीकृत गरी प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए ।

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार