जाडो मौसममा तातो पेय पदार्थ बढी रुचाइए पनि कागती पानी स्वास्थ्यका लागि एक सदावहार र प्रभावकारी विकल्प हो । कागतीमा हुने भिटामिन सी, एन्टिअक्सिडेन्ट र डिटोक्सिफाइङ गुणले चिसोमा पनि शरीरलाई धेरै फाइदा पुर्याउँछ ।
तर जाडोमा यसको सेवन गर्दा केही कुरामा ध्यान नदिए यसले फाइदाको सट्टा बेफाइदा पनि गर्न सक्छ । त्यसैले जाडोमा कागती पानी पिउनुअघि यसका सबल र दुर्बल पक्षबारे जानकारी हुनु आवश्यक छ । जाडोमा कागती पानी पिउनुका अनेकौँ फाइदा छन् ।
यसमा पाइने प्रचुर भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाएर चिसोमा लाग्ने रुघाखोकी जस्ता संक्रमणबाट बचाउँछ । मनतातो पानीमा कागती मिसाएर पिउँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र मेटाबोलिजममा सुधार आउँछ । जाडोमा पाचन प्रणाली प्रायः सुस्त हुने भएकाले यसले ग्यास्ट्रिक, कब्जियत र पेट फुल्ने समस्या कम गर्न मद्दत गर्छ ।
बिहानै मनतातो कागती पानी पिउँदा बोसो डढाउन मद्दत पुग्ने भएकाले तौल नियन्त्रणमा पनि यो सहयोगी हुन्छ । साथै, चिसोले फुस्रो हुने छालालाई प्राकृतिक चमक दिन र शरीरमा पानीको मात्रा कम हुन नदिन पनि कागती पानी उपयोगी मानिन्छ । यद्यपि, जाडोमा कागती पानी पिउँदा केही सावधानी अपनाउनु जरुरी छ । धेरै चिसो पानीमा कागती मिसाएर पिउँदा घाँटी दुख्ने वा रुघा लाग्ने समस्या हुन सक्छ, त्यसैले सधैँ मनतातो पानी प्रयोग गर्नु उचित हुन्छ ।
कसैलाई खाली पेटमा कागती पानी पिउँदा एसिडिटी वा पेट पोल्ने समस्या हुन सक्छ । कागतीमा हुने अम्लीयपनले दाँतको बाहिरी तह (इनामेल)लाई कमजोर बनाउन सक्ने भएकाले स्ट्र प्रयोग गरेर पिउनु वा पिएपछि सादा पानीले मुख कुल्ला गर्नु राम्रो हुन्छ । धेरै मात्रामा यसको सेवनले शरीरको सन्तुलन बिगार्न सक्ने भएकाले ठिक्क मात्रामा मात्र पिउनु बुद्धिमानी हुन्छ ।
सत्यपाटी