वैदिक वर्ष ५०९१ लागको छ । मूल वैदिक परम्पराका अनुयायीले तपः महिनाको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष मनाउने गरेका छन् । त्यसैअनुरूप यो पटक पौषशुक्ल प्रतिपदामा वैदिक नववर्ष परेको हो ।
सौरमानले उत्तरायणको आरम्भ सबैभन्दा छोटो दिन पुस ६ गते (२१ डिसेम्बर) मा हुने र वैदिक कालगणनामा त्यसको नजिकको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष शुरु हुने ‘वैदिक तिथिपत्रम्’का सम्पादक प्राडा प्रमोदवर्धन कौण्डिन्न्यायनले जानकारी दिए ।
सौरचान्द्र उत्तरायण शिशिर ऋतु प्रारम्भ हुने दिन वैदिक नववर्ष मनाइन्छ । शनिबार पाँच वर्षे युगको प्रथम वर्ष संवत्सर तथा आश्विन नामक वर्ष आरम्भको दिन भएको छ । ‘यो वर्ष संवत्सरमात्र होइन पाँच वर्षे युग पनि परिवर्तन भएको मानिन्छ । दशौँ ऐन्द्राग्न युग सकिएर एघारौँ आश्विन युग लागेको पनि लागेको छ’, कौण्डिन्न्यायनले भने ।
वैदिक परम्परामा नयाँ वर्षको आरम्भकै आसपास ल्होसार र माघी जस्ता नयाँ वर्ष मनाइन्छ । शिशिर ऋतु आसपास नयाँवर्ष मनाउने चलन वैदिक कालगणना सिद्धान्तसँग सम्बन्धित रहेको बताइन्छ ।
बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौँडा ब्रह्मपुरीमा रहेको स्वाद्ध्यायशालाले विगत ३० वर्षदेखि वैदिक गणनापद्धतिका विषयमा प्रचारप्रसार गर्दै आएको कौण्डिन्न्यायनले जानकारी दिए । स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक पात्रो प्रकाशन गर्दै आएको छ ।
सत्यपाटी