२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday
कुरीकुरी आफैंतिर

बाँकेमा ट्राफिक प्रमुखले गरेका प्रतिवद्धता कार्यान्वयन खोई ?

बाँकेको ट्राफिक प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन पहल गर्ने प्रतिवद्धताले त झनै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनकबहादुर शाहीलाई नै कुरीकुरी गरिरहेका छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस ४ गते शुक्रबार

नेपाल प्रहरीको प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णय अनुसार देशभर ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गर्यो । सोही सरुवा अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा, टंगालमा कार्यरत प्रहरी निरीक्षक कनकबहादुर शाहीलाई पठायो ।

बाँकेमा आएलगत्तै प्रहरी निरिक्षक शाहीले भनेका थिए, ‘बाँकेको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले तत्काल सुधारका कदम चालिनेछ । सडकमा देखिने अव्यवस्थित पार्किङ, दर्ता नभई अवैध रूपमा सञ्चालन भइरहेका अटोहरू र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमा कडाइ गर्नेछौं । बाँकेको ट्राफिक प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन पहल गर्नेछु ।’

प्रहरी निरीक्षक शाहीले यहाँका मिडियाहरुसामू बाँके जिल्लाको अव्यवस्थित पार्किङ व्यवस्थापन र दर्ता नभएका सवारीसाधन, विशेषगरी अटोरिक्सा नियन्त्रणलाई आफ्नो पहिलो प्राथमिकताका रूपमा लिने बताए । अझ उनले जिल्लाका अन्य क्षेत्रभन्दा नेपालगन्ज र कोहलपुरमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेकाले तत्काल सुधारका काम गर्ने ‘ढोल’ पिटे ।

बाँके जिल्लामा पक्की र कच्ची गरी करिब ७०० किलोमिटर सडक छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ । जिल्लाका १९ वटा स्थान दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन् । यस विषयमा ट्राफिक प्रहरी प्रमूख शाही कति जानकार छन् उनैलाई थाहा होला । तर बाँकेमा ट्राफिक प्रहरी प्रमूख कार्यभार सम्हालेसँगै उनले गरेका प्रतिवद्धता कार्यान्वय शुन्य जस्तै छ ।

सुरुवातमा उनले केही ईभी गाडीहरूलाई समातेर ‘भौखाल’ देखाउन सुरु गरे । धमाधम इभी गाडीलाई कारबाही गरेर व्यवसायीको मनोवल कमजोर पार्दै व्यवसाय नै धरासायी बनाउने खेलमा लागेको व्यवसायीहरुको गुनासो बढेपछि उनलाई पहिलो कदमै ठेस लाग्यो । ईभी गाडी (विद्युतीय गाडी) सञ्चालन मापदण्डका बारेमा कानुनीरुपमै बहस र छलफलको विषय भएकाले त्यसबाट उनी ‘ब्याक’ भए वा ‘प्रभाव’मा परे उनी आफैं जानकार होलान् ।

अटोरिक्सा नियन्त्रणलाई आफ्नो पहिलो प्राथमिकताका रूपमा लिने बताएका प्रहरी प्रमूख शाहीले नेपालगन्जमा दैनिक सयौँ अटो रिक्साले यात्रु ओसारेको र तीनको नियमित प्राविधिक परीक्षण गर्ने व्यवस्था के कस्तो छ ? व्यवस्थित रूपमा अटो रिक्सा चालकहरूको तालिम लिइन्छ कि लिइँदैन ? अटोको मर्मत सम्भार हुन्छ हुँदैन ? यस्ता रिक्साले दिनहुँजसो दुर्घटना निम्त्याइरहेका छन् । यस विषयमा उनी अनविज्ञ जस्तै देखिन्छन् ।

साना दुर्घटना दैनिकजसो भइरहेका छन् । कहिले ट्याक्सीमा ठोक्किने, कहिले साइकल वा मोटरसाइकल च्यापिने, कहिले पैदल यात्रु घाइते हुने क्रम निरन्तर चलिरहेकै छ । उनले अबको चरणमा अटोको प्राविधिक परीक्षण अनिवार्य गरिने पनि बताएका थिए । तर प्रश्न उस्तै छ, कति प्रभावकारी रूपमा त्यो कार्यान्वयन भयो ? प्रमुख चुनौतीलाई बेवास्ता गर्दै उनी ‘झिनामसिना’ विषयमा अल्झिए वा कहिँकतै कुनै कसैको प्रभावमा परिरहेका छन् ?

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही ।

ट्राफिक प्रहरीको भूमिका सामान्यतः नियमन र कारबाहीमा केन्द्रित छ । तर बाँकेको अवस्था त्योभन्दा गहिरो छ । यहाँको समस्या कारबाहीले मात्रै समाधान नहुने ट्राफिक प्रहरी स्वयंलाई थाहा छ । शाहीले नेतृत्व सम्हालेसँगै बाँकेमा सडक दुर्घटनाका सानाठूला घटना दैनिकजसो भइरहेको देखिन्छ । अनियमित अटो सञ्चालन, ट्राफिक नियमको अवज्ञा र अत्यधिक सवारी घनत्वका कारण दुर्घटनाको जोखिम बढिरहेको छ ।

नयाँ हाकिम आउनेवित्तिकै सस्तो लोकप्रियताका लागि बोलिहाल्ने र ट्राफिक व्यवस्थापनमा सक्रिय नहुँदा बाँकेको ट्राफिक व्यवस्थापन झनै बल्झिरहेको छ । जिल्लामा भएका दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, म्याजिक, स्कुटर र मोटरसाइकल रहेका छन् । तीव्र गतिमा सवारीसाधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारीसाधन चालउने गरेका कारण बढी दुर्घटना भएका छन् ।

जिल्लाको सबैभन्दा ठूला सहर नेपालगन्ज र कोहलपुर हुन् । बढ्दो जनघनत्व र सवारीसाधनको चापका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण छ । बाँकेका शहरमा मात्रै होइन ग्रामीण क्षेत्रमा अटो रिक्सा आज जीविकाको साधन बनेको छ, तर त्यही साधन अहिले जीवनका लागि जोखिम पनि । सस्तो र सहज सवारीको नाममा नागरिकले आफ्नो सुरक्षा गुमाइरहेका छन् ।

योजना, नियम र नियमनका बीच सडकमा ती अयोग्य अटोहरू अझै दौडिरहेका छन्, यात्रुका साथ, जोखिमका साथ । बाँकेका सडकहरु ट्राफिक व्यवस्थापनका लागि सधैंजसो खुला चुनौती बन्दै आएका छन् । सडकमा हरेक दिन अनगिन्ती अटो रिक्साहरू दौडिन्छन्, जसको झन्डै ७० प्रतिशत प्राविधिक रूपमा अयोग्य छन् । बाँके जिल्लामा करिब पाँच हजारभन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् ।

कुनैमा ब्रेक काम गर्दैन, कुनैमा साइड लाइट छैन, कतिपयको हर्न बिग्रिएको छ । यी सबै जोखिमपूर्ण सवारी साधनहरू सडकमा निर्वाधरूपमा गुडिरहेका छन् । यो स्थितिमा ट्राफिक प्रहरीका लागि ठूलो चुनौतीका रुपमा रहे पनि जिल्लाका सडक व्यवस्थापनको अवस्था कमजोर मात्र होइन, लगभग अराजक नै देखिन्छ । अनुगमनको कमी, स्थानीय निकायको निष्क्रियता र अस्तव्यस्त ट्राफिक व्यवस्थापनले समस्या दिनदिनै जटिल बन्दै गएको छ ।

अटोको संख्यामा पनि नियन्त्रण नहुँदा ट्राफिक जाम, प्रदूषण र दुर्घटनाको जोखिम झनै बढेको छ । शाहीले बाँकेमा कार्यभार सम्हाल्दै ‘सडकमा देखिने अव्यवस्थित पार्किङ, दर्ता नभई अवैध रूपमा सञ्चालन भइरहेका अटोहरू र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमा कडाइ गर्नेछौं,’ भन्दै गरेका प्रतिवद्धताले उनैलाई गिज्याइरहेका छन् । बाँकेको ट्राफिक प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन पहल गर्ने प्रतिवद्धताले त झनै उनलाई कुरीकुरी गरिरहेको छ ।

बाँकेमा गएको माघदेखि सञ्चालनमा आएका ‘ट्राफिक लाइट’ जेनजी आन्दोलनमा तोडफोड भए । नेपालगन्जका गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा सञ्चालनमा आएका ‘ट्राफिक लाइट’मध्ये अहिले धम्बोझी चोकमा मात्र सञ्चालनमा छ । त्यो पनि ‘अर्धचेत’ जस्तो अवस्थामा । ट्राफिक प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन पहल गर्ने प्रतिवद्धताभित्र ‘ट्राफिक लाइट’ पर्छ या पर्दैन नागरिकको प्रश्न छ ?

बाँकेमा ट्राफिक प्रहरी प्रमुख भएर आएसँगै शाहीले गरेका प्रतिवद्धता कार्यान्वयनमा शुन्यजस्तै छन् । जिल्लाको ट्राफिक व्यवस्थापन ‘ज्यूँ का त्यूँ’ छ । अनियमितताको नियमन गर्ने कुनै निकाय जिम्मेवार देखिँदैन । स्थानीय तहहरु मौन छन्, ट्राफिक प्रहरी कार्यालय नदेखेझैं गर्छ । सवारीसाधनका यान्त्रिक पक्ष जाँच गर्नुपर्ने प्रावधान भए पनि कार्यान्वयन कमजोर छ । बाँके जिल्लामा ट्राफिक प्रहरी प्रमुख जति फेरिए पनि ‘भौखाल’ कहिल्यै फेरिँदैनन् ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार