जाडो बढ्दै गएपछि गोरखाको हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका छन् । चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्षजस्तै यो वर्ष पनि जाडो छल्न धमाधम बेसी झर्न थालेका हुन् ।
‘अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी घर कुर्न बसेका छन्,’ चुमनुब्री–७ छेकम्पारको पासाङफुन्जी लामा भन्छन्, ‘अहिले हरेक घरमा एक जनामात्र होलान् ।’ गाउँ कुर्न बसेकाले खेतीपाती र बस्तुभाउको रेखदेख गर्ने उनको भनाइ छ ।
गाउँमा रहेकाले छरछिमेक तथा आफन्तको घरको रेखदेख गरिदिने उनले बताए । जाडो बढेपछि मङ्सिर दोस्रो सातादेखि लेकको चरन र खर्कमा राखिएका चौंरी गाउँमा झारिएको छ । याक भने हिमाली क्षेत्रको चरनमै रहेको सोही वडाका वडाध्यक्ष टासी लामाले बताए ।
‘याकको भुत्ला बाक्लो हुने भएकाले लेकमै छाडिन्छ । चौँरीलाई भुत्ला पातलो भएकाले गाउँमा ल्याएर आफ्नै घरमा राख्ने चलन छ,’ उनले भने । चुमनुब्री–१ मा पनि बस्ती खाली हुन थालेका छन् । तिब्बत सिमाना नजिक पर्ने साम्दो गाउँ खाली हुन थालेको त्यहाँका स्थानीयको भनाइ छ ।
यहाँका करिब ४५ घरधुरीमध्ये १०, १५ घरबाहेक सबै घरका बासिन्दा ताला लगाएर बेसी झरेका स्थानीय वाङचुक राप्तेन लामाले जानकारी दिए । ‘धेरै घर खाली भइसकेका छन्,’ उनले भने, ‘एक दुईबाहेक होटल पनि बन्द भएका छन् ।’ जाडो बढेपछि चुमनुब्री–२ को ल्हो माविका विद्यार्थीलाई आरुघाट गाउँपालिका–४ को कोखेटारमा सारिएको छ ।
चैतसम्मका लागि विद्यालय नै तल स्थानान्तरण गरिएको त्यहाँका प्रधानाध्यापक बाबुराम धमला बताउँछन् । उनीहरू बेसी झरेका वेला तीर्थाटनका लागि धर्मशाला, लुम्बिनी तथा विभिन्न धर्मगुरुको समीपमा जाने गर्छन् ।
‘धेरैजसो तीर्थ गर्न जान्छन् । कोहीकोही काठमाडौँमा पढ्ने छोराछोरीसँग घुमफिर गरेर समय बिताउँछन्,’ चुमनुब्री–७ निलेको लोप्साङ लामा भन्छन्, ‘हाम्रातिर घरमा ढोका लगाएर सबै बेसी झर्दैनन् । कम्तीमा प्रत्येक घरमा एकजना घर कुरुवा बस्छन् ।’ अहिले बेसी झरेका बेसीमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उनको भनाइ छ ।
सत्यपाटी