जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ । स्वास्थ्य विज्ञहरूले भने जाडोमा पनि नियमित रूपमा मन–तातो पानी पिउन आग्रह गरेका छन् ।
अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारे गरेको अध्ययन अनुसार पुरुषले एक दिनमा तीन लिटर र महिलाहरूले दिनमा साढे दुई लिटर पानी पिउनुपर्नेछ ।
साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मिलिलिटर, दिसाबाट १०० मिलिलिटर पिसाबबाट १५०० मिलिलिटर गरी लगभग दुई–तीन लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ ।
तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ । कुनै काम नगरी बस्दा पनि दुई–तीन लिटर पानी पिउँनैपर्छ भने कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ ।
शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा ‘डिहाइड्रेसन’को खतरा बढ्छ । त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा मिर्गौलाजस्ता अंगको कार्यसम्पादन ठिक राख्न पनि बारम्बार पानी पिउन आवश्यक छ ।
जाडो महिनामा पिउने मनतातो पानीले पाचन प्रणाली सुधार गर्ने, कब्जियत कम गर्ने, चिसोका कारण हुने घाँटी दुखाइ र खोकीमा राहत दिने तथा शरीरलाई हाइड्रेट राख्न मद्दत गर्ने चिकित्सकहरूले बताएका छन् ।
विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै एक गिलास न्यानो पानी पिउनु लाभदायक हुन्छ । त्यस्तै खाना खानु अघि वा खानापछि ३० मिनेटको अन्तरालमा पानी पिउन सुझाव दिइएको छ । सुत्नुअघि धेरै पानी पिउनु भने उपयुक्त नहुने बताइएको छ ।
मुटु, मिर्गौला तथा उच्च रक्तचापका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाहअनुसार मिलाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ । स्वास्थ्यकर्मीहरूका अनुसार पानीको कमीले टाउको दुख्ने, थकान महसुस हुने, कब्जियत तथा छाला सुक्खा हुने समस्या देखिन सक्छ ।
जाडोमा तातो पानी पिउनु पाचन सुधारका लागि उपयोगी
सोही अध्ययनले जाडो महिनामा मनतातो पानी पिउनुले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । मनतातो पानीले पेटको गतिविधि बढाउने, खाना सजिलै पचाउन मद्दत गर्ने तथा ग्यासको समस्या कम हुन्छ ।
बिहान खाली पेट मनतातो पानी पिउनु विशेष लाभदायक हुने जनाएको छ । तर अत्यधिक तातो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुने पनि बताएको छ । अत्यधिक तातो पानीले घाँटी, जिब्रो र पाचन नलीमा जलन गराउन चेतावनी दिएका छन् ।
सत्यपाटी