२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

जेनजी सुशासन योद्धा, ‘भट्ट परिवारको सहारा, कान्छो ढल्यो’

नारायण न्यौपाने । अशोक घिमिरेनारायण न्यौपाने । अशोक घिमिरे । काठमाडौं । २०८२ पुस १ गते मंगलबार

भदौ २३ गते, विसं २०८२ । गतिहीन राजनीतिक र शासकीय अभ्यासको अन्त्य गर्दै मुलुकको भाग्य र भविष्य बदल्ने सङ्कल्पका साथ नवयुवा तत्कालीन सरकार र राजनीतिक दललाई खबरदारी गर्न बिहानैदेखि माइतीघर मण्डला आसपास केन्द्रित भरहेका थिए । सडकमा युवाहरूको एउटै आवाज थियो, मुलुकमा व्याप्त भ्रष्टाचार अब निर्मूल हुनुपर्छ, सुशासन र सेवा प्रवाहमा सुधार आउनुपर्छ, स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा सरकार संवेदनशील बन्नुपर्छ । अवसरको न्यायोचित बाँडफाँट हुनुपर्छ । ‘डिजिटल प्लाटफर्म’लाई प्रतिबन्ध होइन, झन् सहजीकरण गर्नुपर्छ ।

यी यस्तै जनसरोकारका विषय उठाएर सुरु भएको भद्र विरोध प्रदर्शनमा ठूलो सङ्ख्यामा युवापुस्ताको सहभागिता थियो । त्यसमा आम नागरिकको नैतिक समर्थन र सहयोग थियो । ‘डिजिटल युग’मा हुर्केको जेनजी पुस्ता र प्रविधिको प्रयोगबाट दैनिक रोजीरोटी चलाइरहेका युवा सामाजिक सञ्जाल प्रतिबन्धको घटनाबाट निकै रुष्ट थिए । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट समकालीन पुस्ताले उठाएका मुद्दाप्रति सहमत थिए । उनीमा आफ्नो पुस्ताले मुलुकको विद्यमान दूरावस्था परिवर्तन गरेरै छाड्छ भन्ने दृढ विश्वास थियो ।

त्यसमा आफ्नो पनि योगदान हुनुपर्छ भनेर भट्ट त्यस दिन बिहानै ‘आन्दोलनमा नजानु’ भन्ने पारिवारिक दबादलाई अस्वीकार गर्दै आन्दोलनको मुख्य केन्द्र रहेको नयाँ बानेश्वरमा पगे । युवाहरूले थालेका प्रदर्शनको अग्रमोर्चामा उनी खडा भए । प्रदर्शनकै क्रममा नयाँ बानेश्वर चोकमा प्रहरी र युवाबीच घम्साघम्सी र घकेलाधकेल भयो । लगत्तै सुरक्षाकर्मीबाट गोली चल्यो । भट्टको छातीमा गोली लाग्यो । सङ्घीय संसद्भवनको दक्षिणतर्फको मुख्य प्रवेशद्वार अघि ढलेका भट्टलाई साथीहरूले नजिकैको निजामती अस्पताल पुर्याए । अस्पताल पुर्याउँदा उनले शाहदत प्राप्त गरिसकेका थिए ।

त्यसैदिन विदेश जाने सम्झौता हुँदै थियो

मुलुकमा रोजगारीको उचित अवसर नपाएपछि बारपाक सुलिकोट–५ गोरखाका दाजुभाइ अनिल र बिमलबाबु वैदेशिक रोजगारीका लागि युरोप जाने तयारीमा जुटिरहेका थिए । लामो समयदेखि काठमाडौँमा मामा हरिराम भट्टको छत्रछायाँमा हुर्केरहेका दुवै दाजुभाइले पोर्चुगल जानका लागि वैदेशिक रोजगार कम्पनीलाई सात लाख पैसासमेत बुझाइ सकेका थिए । वैदेशिक रोजगारबाट परिवारको आर्थिक अवस्था सुधार गर्ने र घर व्यवहार चलाउने भट्टको सपना थियो ।

‘नेपालमा जागिर नपाएपछि भाञ्जामा नैराश्यता थियो, घरको आर्थिक स्थिति पनि त्यति राम्रो थिएन, अनि विदेश जाने प्रक्रियामा थिए,’ सुशासन योद्धा भट्टको मामा हरिरामले भने । विमलले विजय न्यौपानेमार्फत वैदेशिक रोजगारीमा जान पैसा बुझासकेका थिए । भाञ्जाले पैसा बुझाएका बारेमा बुझ्न त्यसदिन मामा हरिराम एयरपोर्ट पुगेका थिए । त्यहाँ न्यौपानेसँग भेटेपछि उनले भाञ्जालाई फोन गरे । त्यतिबेलासम्म बिमल कोठामै थिए । त्यसैदिन अपराह्न ४ बजे वैदेशिक रोजगारीका लागि सम्झौता गर्ने तय भएको थियो ।

‘सम्झौताका लागि घरबाट हिँडेको भाञ्जा त्यतैबाट आन्दोलनमा जानुभएछ, करिब १ बजेतिर उहाँलाई गोली लागेछ,’ मामा हरिरामले भने, ‘गोली लागेर पहिलो सहिद बिमल नै हुनुभएछ ।’ उनी (मामा) एयरपोर्ट क्षेत्रमै थिए । अपराह्न ३ बजेतिर उनलाई एक्कासि फोन आयो । फोनमा कसैले भन्यो, ‘बिमलको मोबाइल मसँग छ ।’ मैले किन भनेर सोधेँ । उताबाट जवाफ आयो, ‘बिमललाई गोली लागेको छ, सिभिल अस्पतालमा आउनु,’ बिमलका मामा हरिरामले भने । उनका अनुसार आन्दोलनमा गोली लागेर ल्याइएकामध्ये मृत्यु भएको पहिलो व्यक्ति बिमल नै रहेछन् । पहिचानका लागि बिमलको निधारमा १ नम्बर लेखिएको ‘ट्याग’ टाँसिएको थियो ।

मृत्युको खबर एक सातापछि…

जेनजी आन्दोलनका क्रममा बिमलसहित ७६ जनाको निधन भयो । गाउँमै रहेकी बिमलकी आमा सीतालाई छोराले साहदत प्राप्त गरेको एक सातापछि मात्रै जानकारी दिइयो । आफन्तहरूले उनलाई बिमललाई गोली लागेको र अस्पतालमा उपचार भइरहेको मात्र खबर गरिएको थियो । आमा सीताले छोराका शव घर ल्याउने दिन भदौ ३० गते मात्र भाउजु र बहिनीबाट छोराको निधनको खबर थाहा पाएकी थिइन् । आमा सीता आफूलाई सहारा दिने कान्छो छोरा निधनबाट ठूलो शोकमा छन् । ‘सुख दुःखमा सहारा दिने घरको टाठोबाठो, अनि बलियो खम्बा उही थियो, कान्छो ढलिहाल्यो,’ भक्कानिँदै बिमलकी आमाले भनिन् ।

बिमल काठमाडौँमा रहँदा धेरैजसो मामा घरमा नै बस्ने गर्दथे । बर्खायाममा घरको सबै काम सकेर भदौ ५ गते आमासँग बिदाबारी भएर बिमल निस्कएका थिए । उनले मिल्यो भने छिट्टै विदेश जाने भन्थे । सहिदकी आमा सीता अहिले खेतीपाती, गाई र बाख्रापाठा पालेर बसिरहेकी छन् । ‘असारमा आएर कान्छोले धान र कोदो रोप्यो, अहिले घरभरी अन्न छ, खाने बेलामा बाबु हामीबीचमा छैन,’ आमा सीताले भनिन । बिमल गाउँमा सबैको प्यारो थियो । उनको निधनको पीडामा रसाएका गाउँलेका आँखा अझै ओभाएका छैनन् । बिमल माछा, मासु, र दूध, घिउको पारखी थिए । जतिबेला बिमल घरमा जान्थे, आमाले छिमेकीबाट खोजेर ल्याएर पनि दूधदही खुवाउथे । बिमलका आमा सीता सहिद परिवारलाई रोजगारी र मासिक भत्ता उपलब्ध गराउन सरकारलाई सुझाव दिन्थे ।

भाइ गुमाउँदाको शून्यता

बिमलका दाजु अनिलका अनुसार भदौ २३ गते अफिस जानु अघि आन्दोलनमा सहभागी हुने इच्छा जाहेर गरेका भाइलाई पटक–पटक आन्दोलनमा नजान आग्रह गरे । जवाफमा बिमलले भने, ‘जेनजीले उठाएका मुद्दा ठीक छ, क्रान्ति गर्नुपर्छ । आन्दोलनमा हामी नगए को जान्छ र भन्यो । त्यो विषयमा हामी दाजुभाइबीच झगडाजस्तै भयो ।’ त्यो दिन सम्झँदै दाजु अनिलले भने, ‘अघिपछि जस्तै त्यो दिन पनि म बिहान ९ बजे अफिस गएँ । ऊ सुतिरहेको थियो । भाइले तपाईं पनि अफिस नजानुस्, आज हामीसँगै बसौँ भन्यो । जुन कुरा मैले मानिन अहिले पछुतो भएको छ । म बसेको भए सायद भाइ त्यहाँ जान्थेन कि भन्ने लाग्छ !’

परिवारको कान्छो सदस्यका रूपमा २०५९ मङ्सिर १० गते जन्मिएका बिमलले मामा घरमा बसेर विद्यालय शिक्षा लिएका थिए । उनले काठमाडौँको चामुण्डा एकेडेमीबाट विद्यालय शिक्षा पूरा गरे। भाइसँगको अन्तिम संवाद स्मरण गर्दै अनिल सम्झन्छन्, ‘भाइ ११ बजेर २१ मिनेटसम्म घरमै थियो । त्यति बेला पनि मैले फेरि भनेको थिएँ आन्दोलनमा नजा ।’ दाजु अनिलले अपराह्न २ बजेतिर फोन गरेर भाइ आन्दोलनमा गए नगएकाबारे बुझ्न फोन गरे । तर त्यो फोन भाइ नभइ अर्कैले उठायो र उसले भन्यो, ‘तपाईँको भाइलाई गोली लागेको छ, अहिले कता पो हुनुहुन्छ ।’

‘म आत्तिए, कहाँ छ भनेर सोधेँ । सिभिल अस्पताल भन्ने जवाफ पाएँ । म त्यस बेला न्यूरोडमा अफिसमा काम गरिरहेको थिएँ,’ अनिलले भने, ‘म तत्कालै अफिसबाट निस्किए । सुन्धरामा आएँ ।’ त्यसअघि मामाको साथीले थाहा पाएर पहिले नै खबर गरिसकेका रहेछन् । त्यस दिनको घटनाक्रम सम्झँदै अनिलले भने, ‘कर्फ्यू लागेकाले सुन्धरा पुगे पनि तत्काल त्यहाँ जान सवारीसाधन भेटिएन । २ बजे त्यहाँबाट चढेको बसले घुमाएर साँझ ६ बजे पेप्सीकोला झारिदियो । त्यसपछि ट्याक्सी चढेर आएको थिएँ कफ्र्यूका कारण तीनकुनेबाट अघि बढ्न सकिन ।’ त्यसबीचमा मामा अस्पताल पुगे । उनबाट भाइको छातीमा गोली लागेर निधन भएको खबर सुनेपछि विक्षिप्तजस्तै भएँ ।

अस्पतालले त्यहाँका शव राति नै महाराजगञ्ज शिक्षण अस्पतालमा लगेको रहेछ । भदौ २५ गते मात्रै भाइको अनुहार देखेँ । सानै उमेरदेखि आफ्नो काँधमा राखेर हुर्काएको भाइलाई काठमाडौँमासमेत अभिभाकत्व दिएको थिएँ । निम्नस्तरको किसान परिवार भएकाले सामान्य धान, मकै र कोदो उब्जनी भए पनि सजिलै घर धान्न सक्ने अवस्था थिएन, उनले आफ्नो पृष्ठभूमि सम्झिए, पछिल्लो समय दुवै जना विदेशजाने सोचमा थियौँ । दाजु अनिलका अनुसार मिलनसार, साहासिक, हक्की स्वभावका बिमलको फुटबल, हाइजम्प, जिम्न्यास्टिक रोजाइका खेलकुदमा पथ्र्यो । गाउँमा खसी काट्नपर्यो भने सबैलाई सघाउथे ।

बिमल असारको मध्यतिर घर गएर आमा–बालाई धान र कोदो रोप्न सहयोग पुर्याउथे घरको त्यो काम सकेर भदौको पहिलो हप्ता काठमाडौँ फर्केका थिए । त्यसलगत्तै दाजुभाइ विदेश जाने सोच बनाए र म्यानपावर कम्पनीलाई पैसा बुझाए । अनिल भन्छन्, ‘हरेक गतिविधिमा उसको सम्झना हुन्छ । लामो समयको अन्तरालमा जन्मिएको कान्छो भाइ मैले नै बोकेर हुर्काए । उसले के खाने, के कसो गर्ने भनी सोधिरहन्थ्यो । सँगैँ खाइखेली गरियो । भाइ गुमाउनुपर्दा असह्य पीडा छ । पलपलमा सम्झना हुन्छ । कोठमा बाहिर गएको बेला दिनको १० पटकसम्म फोन गथ्र्यो, त्यो नहुँदा शून्य जस्तै भएको छ ।’

स्रोत : रासस
प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार