२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

ओझेलमा परेको ‘झारकोट’ गाउँको कथा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ मंसिर २९ गते सोमबार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर नजिकै रहेको ऐतिहासिक तथा सांस्कृतिक गाउँ झारकोट पर्यटन विकासका हिसाबले ओझेलमा परेको छ । एउटै वडामा पर्ने पुराङ रानीपौवा बजार पर्यटकको चहलपहलले गुल्जार भइरहँदा मुक्तिनाथकै काखमा रहेको झारकोट गाउँ भने गुमनामजस्तै बनेको हो ।

मुक्तिनाथ मन्दिर वरपर झारकोट, पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुर गरी चार गाउँ रहेका छन् । तीमध्ये सबैभन्दा पुरानो र बाक्लो बस्ती झारकोट गाउँ हो । धार्मिक तीर्थालुहरूको बाक्लो आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल हुने भए पनि झारकोटसहित अन्य गाउँले पर्यटनबाट अपेक्षित लाभ लिन सकेका छैनन् । कागबेनी–मुक्तिनाथ सडकखण्डसँगै जोडिएको झारकोट गाउँ पर्यटनका हिसाबले सबैभन्दा पछि परेको स्थानीयको भनाइ छ ।

कुनै समय कागबेनी–मुक्तिनाथ सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने तीर्थालु र थोरङ्ला पास हुँदै आउने विदेशी पर्यटकहरू झारकोट गाउँभित्रको गोरेटो बाटो हुँदै आउजाउ गर्थे । पैदल यात्रीहरूले यहाँ बास बस्ने र खाजा खाने गर्दथे । त्यसबेला स्थानीयको व्यापार–व्यवसाय राम्रै चल्ने गरेको स्थानीय बताउँछन् । तर, पछिल्लो एक दशकयता सडक विस्तारसँगै झारकोटको पुरानो पदमार्ग बिरानो बनेको छ ।

अहिले गाउँभित्रका गल्ली र गोरेटो स्थानीयको आवतजावतमा मात्रै सीमित छन् । स्थानीय धेचआङ्मो गुरुङका अनुसार आवश्यक प्रचार–प्रसार र योजनाबद्ध विकास नहुँदा झारकोट पर्यटनबाट वञ्चित बनेको हो । गाउँका युवाहरू रोजगारीका लागि विदेश पलायन हुँदा पर्यटन प्रवद्र्धन थप कमजोर भएको उनी बताउँछन् । झारकोट गाउँमा करिब ६० घरधुरी छन् । पहिले चहलपहल हुने गाउँ पछिल्लो डेढ दशकयता सुनसान बन्दै गएको स्थानीयको भनाइ छ ।

हाल गाउँमा युवायुवतीको संख्या अत्यन्त न्यून छ । अधिकांश युवा वैदेशिक रोजगारीका लागि युरोप र अमेरिका गएका छन् । गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या बढी छ । यहाँका बासिन्दा आंशिक खेतीपाती, पशुपालन, याक र घोडा व्यवसायमा निर्भर छन् । केहीले मुक्तिनाथ दर्शनार्थीलाई घोडा चढाएर आयआर्जन गरिरहेका छन् ।

झारकोट गाउँमा सयौं वर्ष पुरानो ऐतिहासिक राजाको दरबार, झारछोदे गुम्बा, गुरु पद्मसम्भवको पाइलाको डोब रहेको गुरु सेप्ची, परम्परागत दाहसंस्कार स्थल र ढुंगा–माटोले बनेका पुराना घरहरू आज पनि जीवित सम्पदाका रूपमा छन् । गाउँमाथि अवस्थित तोरा ताल पनि पर्यटकको आकर्षण बन्दै गएको छ । वडाध्यक्ष प्रमेश गुरुङका अनुसार गुम्बा संरक्षणका लागि प्रदेश र पालिकाले बजेट विनियोजन गर्दै संरक्षण तथा संवद्र्धन काम अघि बढाइरहेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार