२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

सहकारीको सहाराले व्यावसायिक बन्दै मुक्तकमैया महिला

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ मंसिर २९ गते सोमबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्तकमैया बस्तीका महिलाका लागि सहकारी जीवन रूपान्तरणको आधार बनेको छ । मजदुरी नगरी परिवार पाल्न नसकिने अवस्थाबाट मुक्तकमैयाका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् । नौखरी मुक्तकमैया बस्तीकी फुलमती चौधरीलाई विगतमा जस्तो बिहानै खाना बोकेर मजदुरी खोज्दै आजभोलि हिँड्नुपरेको छैन ।

गाउँका अगुवा महिलाले स्थापना गरेको नौखरी कृषि सहकारी संस्थामा आबद्ध भई ऋण लिएपछि उनी व्यावसायिक तरकारी खेतीमा संलग्न भएकी छन् । पछिल्ला तीन वर्षदेखि तरकारी खेती गर्दै आएकी फूलमतीले वार्षिक रूपमा करिब रु तीन लाख आम्दानी गर्दै आएकी छन् । ‘सहकारीमा आबद्ध भएपछि तरकारी खेतीबारे तालिम पाइयो,’ फूलमती चौधरीले भनिन्, ‘बीउविजन, मल्चिङ प्लास्टिक, विषादी, रासायनिक मल र कृषि औजार खरिदका लागि ऋण सहजै पाइयो, त्यसपछि खेती गर्न सजिलो भयो ।’

उनका अनुसार विगतमा मजदुरी गरेर जीवन धान्न कठिन थियो तर अहिले १० कठ्ठा जग्गामा गरिएको तरकारी खेतीबाट आउने आम्दानीले सहज रूपमा परिवारको खर्च धान्न सकिएको छ । सहकारीका अर्का सदस्य सुनिता चौधरी मजदुरीको जीवनबाट मुक्त भएकी छन् । ‘आफैँ मालिक, आफैँ कामदार भएर खेतबारीमा मिहिनेत गर्छौँ,’ उनले भनिन्, ‘अब मजदुरी खोज्दै हिँड्नुपर्दैन, ज्याला पाइँदैन कि भन्ने डर पनि छैन, खेतमा गरेको परिश्रम अनुसार उत्पादन हुन्छ, बजारमा बेचिन्छ र जीवन सहज बनेको छ ।’

सहकारीले तरकारीखेती मात्रै होइन, पशुपालनतर्फ महिलालाई आकर्षित गरिरहेको छ । सहकारीबाट रु ५० हजार ऋण लिएर द्रोपती चौधरीले बङ्गुरपालन सुरु गरेकी छन् । हाल उनी तीन वटा माउ बङ्गुर पालन गर्दै आएकी छन् र वार्षिकरूपमा पाठा बिक्री गरेर रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएकी छन् । ‘सहकारीमा आबद्ध भएपछि मजदुरी गर्ने दिन अन्त्य हुन्छन् भनेर सोचेकै थिएन,’ उनले भनिन्, ‘सहकारीबाट ऋण लिएर बङ्गुर पाल्न थालेपछि पैसाका लागि विगतको जस्तो अरुसँग हात थाप्नुपरेको छैन, जीवनयापन गर्न निकै सहज भएको छ ।’

सहकारीका कार्यालय सचिव स्वस्तिमा चौधरीका अनुसार सहकारीबाट ऋण लिएर बङ्गुर पालनमा लागेका महिलाले वार्षिक रूपमा रु चार लाखदेखि पाँच लाखसम्म आम्दानी गरिरहेका छन् । ‘सहकारी गठन हुनुअघि यहाँका महिला मजदुरी गरेर जीविका चलाउँथे,’ उनले भनिन्, ‘तर सहकारीमा आबद्ध भएपछि निरन्तर छलफल, बैठक र तालिमको प्रभावले उहाँहरू व्यावसायिक कामतर्फ आकर्षित भएका छन् ।’ व्यावसायिक कार्यबाट मजदुरीभन्दा तेब्बर आम्दानी हुन थालेपछि महिला विभिन्न क्षेत्रमा संलग्न भएका छन् ।

हाल सहकारीमा आबद्ध महिलामध्ये २५ जना तरकारी खेतीमा, ५२ जना बङ्गुर पालनमा, २० जना कुखुरापालनमा, १० जना टेलरिङमा, दुई जना बुटिक सञ्चालनमा, पाँच जना ड्राइभिङमा र एक जना एसी मर्मत कार्यमा संलग्न रहेको सचिव चौधरीले जानकारी दिइन् । महिलालाई व्यावसायिक बनाउने उद्देश्यले सहकारीले सदस्यहरूलाई आवश्यकताका आधारमा रु पाँच हजारदेखि रु ५० हजारसम्म ऋणका रूपमा रकम न्यून ब्याजमा लगानी गर्दै आएको सहकारीकी अध्यक्ष राजकुमारी चौधरीले बताइन् ।

‘मुक्तकमैया महिला विकास मञ्च कैलालीसँग सहकार्य गरी अनुदानका कार्यक्रम सञ्चालन गरेका छौँ,’ उनले भनिन् । अध्यक्ष चौधरीका अनुसार क्षमता अभिवृद्धि बङ्गुर, कुखुरापालन तथा तरकारी खेतीका लागि बीउविजन, सिँचाइ, प्लास्टिक टनेललगायत सामग्रीमा संस्थाले सहयोग पुर्याएको छ । सहकारीमार्फत ऋण, तालिम र निरन्तर सहकार्य पाएपछि मुक्तकमैया बस्तीका महिलाहरूको जीवनस्तरमा उल्लेखनीय परिवर्तन आएको वडा सदस्य लालबहादुर महराले बताए ।

‘मजदुरीमा सीमित मुक्त कमैंया महिलाहरू पहिचान, किसान, व्यवसायी र उद्यमीका रूपमा स्थापित हुन थाल्नुभएको छ,’ उनले भने, ‘सहकारीको सक्रियताले मुक्तकमैया महिलाहरूको आत्मविश्वास मात्र बढाएको छैन, स्वाभिमानी र आत्मनिर्भर जीवनतर्फ डोर्याउने माध्यम पनि बनेको छ ।’ सहकारी अनुगमन गर्न आइपुगेका सुदूरपश्चिम प्रदेशका पूर्व सदस्य महेशदत्त जोशीले सहकारीमा आवद्ध महिलाहरूको जीवन स्तरमा निकै परिवर्तन भएको पाइएको बताए ।

‘मुक्तकमैयालाई पुनःस्थापन गर्दा उपलब्ध गराइएको पाँच कठ्ठा जग्गा प्रर्याप्त नभएकाले १५ कठ्ठा उपलब्ध गराइए व्यावसायिक खेती गरी जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ,’ उनले भने, ‘मुक्तकमैयालाई प्रदान गरिएको लालपूर्जा बैंकमा धितो राखेर कर्जा लिन पाउने व्यवस्था गरिए अझै उहाँहरूलाई व्यावसायिक कार्य गर्न सहज हुन्छ ।’ चार वर्षअघि स्थापना गरिएको सहकारीमा २०० बढी मुक्त कमैया महिला आबद्ध रहेका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार