लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो ।
लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो ।

एलओडीमा आज ‘एनपिएल नाइट’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ ।
ठमेलस्थित एलओडी क्लबमा आज राति ९ः०० बजेदेखि एनपिएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल नाइट’ हुन लागेको हो ।

कार्यक्रममा एनपिएल दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्ससहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, पोखरा एभेञ्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्टुस्का खेलाडीको सहभागिता रहने क्लबका प्रमुख रविन श्रेष्ठले जानकारी दिए ।
‘नेपालमा क्रिकेटको राम्रो इतिहास रचिँदैछ । एनपिएल खेल्न विभिन्न मुलुकका खेलाडी यहाँ आएका छन् । यसले नेपालको पहिचान थप बढाउनुका साथै एनपिएलका माध्यमबाट प्रचारप्रसार हुँदा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ,’ उनले भने ।
एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब मनोरञ्जनात्मक साझेदार बनेको थियो । यसअघि क्लबका प्रमुख श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले एनपिएल दोस्रो सिजनका लागि एलओडी मनोरञ्जनात्मक साझेदार बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आगामी वर्षमा पनि क्लब मनोरञ्जनात्मक साझेदार बन्ने क्यानले जनाएको छ ।
सत्यपाटी