२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

खाद्य कम्पनीले बाँकेमा खरिद गर्‍यो १५ हजार क्वीन्टल धान

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर २७ गते शनिबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट करिब १५ हजार क्वीन्टल धान खरिद गरेको छ । कात्तिक २३ गतेबाट धान खरिद सुरु गरेको कम्पनीले हालसम्म १४ हजार ९३२.२० क्वीन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सुचना अधिकारी शिवराज घिमिरेले बताए ।

उनले जिल्लाका ३९७ जना किसानबाट हालसम्म मोटो धान नौ हजार ९३२.५० क्वीन्टल र मध्यम धान चार हजार ९९९.७० क्वीन्टल गरेर १४ हजार ९३२.२० क्वीन्टल धान खरिद गरिसकेको बताए । सूचना अधिकारी घिमिरेका अनुसार बाँकेका लागि तोकिएको कोटामा मध्यम धान पाँच हजार क्वीन्टल र मोटो धान १५ हजार क्वीन्टल खरिद गर्नुपर्नेमा मध्यम धानको कोटा पुरा भइसकेकोले अबम मोटो धान मात्रै खरिद गरिने बताए ।

उनले नेपालगन्जका लागि २० हजार क्वीन्टल कोटा निर्धारण भएकोले अब कोटा पुरा हुन करिब पाँच हजार क्वीन्टल मात्रै खरिद गर्न बाँकी रहेको बताए । जिल्लामा धान बिक्रिका लागि ६२५ जना किसानले सिफारिस जम्मा गरेको जनाउँदै हालसम्म ३९७ जनाले बिक्री गरिसकेको र कोटा रहुन्जेलसम्म आउनेहरुको धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।

सो कार्यालयका अनुसार कोटा बढाउन केन्द्रमा अनुरोध गर्दा कोटा वृद्धि हुन नसक्ने जवाफ आएकोले अब कोटा नबढ्ने भएको छ । यस वर्ष जिल्लामा धान उत्पादन विगतको तुलनामा बढी भएकोले खाद्य व्यवस्था कम्पनीले कोटा पनि बढाउनुपर्नेमा झन् गत वर्षभन्दा पनि आधा कोटा निर्धारण गरेर पठाएको जनाउँदै स्थानीय किसानले आक्रोश व्यक्त गरेका छन् । बाँके डुडुवा–३ का नरेश मौर्यले यस पटक धान राम्रो उत्पादन भएकोले मुल्य पनि राम्रो पाइएला भन्ने आशमा आफुहरु रहे पनि खाद्यले निकै कम धान खरिद गर्दा समस्यामा परेको बताए ।

उनले बजारमा व्यापारीहरुले सरकारले तोकेको मुल्यभन्दा करिब एक हजार रुपैयाँ कम प्रति क्वीन्टल धान खरिद गरिरहेकोले किसानलाई निकै समस्या भएको गुनासो गरे । सरकारले आर्थिक वर्ष २०८२–०८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्वीन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार