२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

देशमै पहिलो पटक नेपालगन्जमा ‘मिथाइल ब्रोमाइड फ्युमिगेशन’

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर २७ गते शनिबार

करिब ५० वर्षअघि कानुन बने पनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेशन नेपालगन्जस्थित आइसिपिबाट देशमै पहिलो पटक सुरु गरिएको छ । मिथाइल ब्रोमाइड फ्युमिगेशनको अभावमा सल्लाको आख्ला लगायतका महत्त्वपूर्ण जडिबुटीहरुको भारत निर्यात केही वर्षदेखि रोकिएको हुँदा दुई हजार मेट्रिक टन सल्लाको आख्ला नेपालगन्जमा थन्किएको थियो ।

निरन्तरको दबाब र प्रयासपछि हाल आएर पहिलो पटक यहाँस्थित आइसिपीमा मिथाइल ब्रोमाइड फ्युमिगेशन सुरु भएको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ । नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले सल्लाको आख्ला लगायतका केही काठजन्य वस्तु र जडिबुटीहरुको निर्यातमा भारत सरकारले मिथाइल ब्रोमाइड फ्युमिगेशनलाई अनिवार्य गरेपछि दुई वर्षदेखि ती जडिबुटी व्यवसायीका गोदाममै थन्किएको बताए ।

उनले सबैको साझा प्रयास र दबाबपछि हाल आएर सल्लाको आख्लाको मिथाइल ब्रोमाइड फ्युमिगेशन यहाँ सुरु गरिएको जनाउँदै पहिलो पटकमै ४० मेट्रिक टन सल्लाको आख्लाको मिथाइल ब्रोमाइड फ्युमिगेशन गरिएको बताए । मिथाइल ब्रोमाइड फ्युमिगेशनको शुभारम्भ गराउन नेपालगन्ज आएका कृषि विकास मन्त्रालयको राष्ट्रिय प्लान्ट क्वारन्टिन कार्यक्रमका उपसचिव प्रकाश पौडेलले कानुन बनेको ५० वर्षपछि देशमै पहिलो पटक यसको सुरुवात गराउन पाउँदा अतिनै खुशी लागेको बताए ।

उनका अनुसार सम्बन्धित वस्तुहरूलाई एकदमै बन्द ठाउँमा राखेर मिथाइल ब्रोमाइड ग्यास छाडेर कीटाणु र कीट नियन्त्रण गर्ने प्रक्रियालाई मिथाइल ब्रोमाइड फ्युमिगेशन भनिन्छ । सल्लाको आख्ला लगायत केही काठजन्य वस्तु र जडिबुटीको निर्यातमा भारत सरकारले मिथाइल ब्रोमाइड फ्युमिगेशनलाई अनिवार्य गरेको छ । यससँगै स्थानीय गोदाममा थन्किएका दुई हजार मेट्रिक टन सल्लाको आख्लाको निर्यात प्रक्रिया सुरु भएको संघले जनाएको छ ।

नेपाल जडिबुटी व्यवसायी संघका सल्लाहकार तथा व्यवसायी रविन्द्रनाथ शुक्लाले अब नेपालगन्जमा थन्किएको र पहाडी जिल्लामा सङ्कलन भएर राखिएका करिब सय कन्टेनर सल्लाको आख्लाको निर्यात सुरु भएको बताए । उनले जाजरकोट, सल्यान, दैलेख र रुकुम लगायतका जिल्लाहरुबाट सल्लाको आख्ला धेरै आउने गरेको जनाउँदै ती जिल्लाहरुमा पनि ठुलो परिमाणमा सङ्कलन गरेर राखिएका सल्लाको आख्लाको अब निर्यात हुने बताए ।

उता, सल्लाको आख्लाको निर्यातमा सरकारले १०० प्रतिशत कर लगाएकोमा बाँकेका जडिबुटी व्यवसायीहरुले सो कर घटाउनुपर्ने माग गर्दै आएका छन् । हालै मात्र नेपालगन्ज भ्रमणमा आएका अर्थमन्त्री रामेश्वर खनालसँग पनि सल्लाको आख्लाको मिथाइल ब्रोमाइड फ्युमिगेशन सुरु गर्न र निर्यातमा लगाइएको सय प्रतिशत कर घटाउन व्यवसायीहरुले माग गरेका थिए । अर्थमन्त्री खनालले मिथाइल ब्रोमाइड फ्युमिगेशन तत्काल सुरु गर्न लगाउने र निर्यात करको बारेमा मन्त्रालयमा छलफल गरेर सकारात्मक निकास निकाल्ने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार