२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

६५ वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ मंसिर २६ गते शुक्रबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन, सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसेका करनबहादुर ऐर । ६५ वर्ष नाघ्नै लागेका उनका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ । उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल हिँड्दै झलारी बजार आइपुग्छन् । बजार उनलाई धेरैले नामले भन्दा पनि मेहेनतले चिन्छन् ।

ठेलामा सजाइएका थरिथरिका फलफूल, खेलौना, विस्कुट, चाउचाउ, कुरकुरे, बदाम लगायत सामान धेरै छैनन्, तर ऐरका लागि ती नै परिवार धान्ने आधार हुन् । दशकअघिदेखि सुरु गरिएको यो व्यापार अहिले स्थिर आयस्रोत बनेको छ । करिब रु २० हजार लगानीबाट चलेको ठेलाले उनलाई दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म कमाइदिन्छ । सडक छेउकै ठेला भएकाले सवारीसाधनका चालक, परिचालक, सडकमा हिँड्ने यात्रु उनका ग्राहक हुन् ।

‘ठेलाको कमाइ घरखर्च, लत्ताकपडा, औषधोपचार लगायत लागि पुग्छ,’ उनी भन्छन्, ‘पाखुरी चल्दासम्म अरुको भर पर्नुपरेको छैन, जति कमाइ हुन्छ त्यसबाट घर चलेको छ, अरूकहाँ हात पसार्नु मन पर्दैन ।’ ऐरका दुई छोरा भए पनि उनको आफ्नै काम छ । छोराहरूको कमाइमा भने ऐर दम्पतीले अहिलेसम्म भर पर्नुपरेको छैन । उमेर पुगेका धेरै मानिसले विश्राम खोज्ने बेला, छोराबुहारीको भर पर्नुपर्ने समयमा ऐर भने आफ्नै पौरखमा बाँच्दै आएका छन् ।

व्यवसायमा उनको सबैभन्दा ठूलो सहाराका रूपमा श्रीमती छन् । ‘दुई जनाले मिलेर चलाउँछौँ, यसैमा घर सजिलै चल्छ,’ उनी भन्छन् । ठेलामा समान बेच्ने मात्र नभई ऐर गाउँका पुराना अगुवा पनि हुन् । तत्कालीन झलारी गाउँविकास समितिका वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य, अनि असिग्राम माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष भएर कार्य गरेका यी सबै भूमिका उनका समाजसेवा र नेतृत्वका प्रमाणका रूपमा रहेका छन् ।

जीवनका सबैभन्दा ऊर्जाशील वर्षहरू उनले समुदायका काममा खर्चिएका छन् । ‘समाजका लागि सकेजति गरेँ,’ उनी भन्छन्, ‘अब बाँकी जीवनका लागि आफैँले केही गर्नुपर्छ ।’ झलारी बजारमा आवतजावत गर्ने जोकोही पनि उनको अनुशासन, समयपालन र ग्राहकसँगको व्यवहारबाट प्रभावित हुन्छ । उनी चर्को आवाजमा बोल्दैनन्, उनको विनम्र व्यवहारले धेरैलाई आकर्षित गर्छ । उनलाई धेरैजसोले सभापति भनेर पनि चिन्ने गर्दछन् ।

सभापतिज्यू भनेपछि मुस्कुराएर विनम्र स्वरमा बोल्ने बानीले सबैले उनको आदर गर्ने गर्दछन् । जब साँझ पर्छ बजार सुस्ताउँदै जान्छ । नजिकैका पसल र होटलमा बत्ती बल्न थाल्छन् । त्यही बेला ऐर आफ्नो ठेलामा भएका समान समेटेर नजिकका पसलमा राखेर घर फर्किन्छन् । त्यो प्रक्रिया दैनिक दोहोरिरहन्छ । तर ऐरका कदम थाक्दैनन् । किनकि थकानले उनलाई रोक्दैन, जीवनले सिकाएको आत्मनिर्भरता अगाडि बढिरहन्छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार